बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको गैडहवा तालमा प्रथम पर्यटन महोत्सव शुरु

बिहीबार, ०१ फागुन २०७६, १७ : ५०
बिहीबार, ०१ फागुन २०७६

बुटवल । रुपन्देहीको गैडहवा ताल परिसरमा प्रथम पर्यटन तथा कृषि महोत्सव शुरु भएको छ ।  लुम्बिनीसँग १२ किलोमिटर दूरीमा रहेको ताल परिसरमा गरिएको महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

 सो अवसरमा मुख्यमन्त्री पोखरेलले गैडहवा ताललाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन विकास गर्नुपर्ने र तालको दीगो संरक्षण गर्न र ताल क्षेत्रका सडक  फराकिलो बनाउन आग्रह गरे ।

 लुम्बिनी र तिलौराकोटको बीच भागमा पर्ने ताल क्षेत्रमा यशोधरा पार्क बनाउन पनि प्रदेश सरकारले वजेट दिने उनले जनाए । 

 तालको क्षेत्रफल र जलाशय नघटाई पुर्वाधार बनाउन सुझाव दिँदै मुख्यमन्त्रीले भैरहवाको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै पर्यटकलाई गैडहवा तालसम्म आकर्षित गर्न ताल क्षेत्रमा स्तरीय होटल र रिसोर्टमा लगानी गर्न सुझाए । 

गाउँपालिकाले ताल आसपासमा तीन–चार सय बिघा जग्गा व्यवस्थापन गर्नसके प्रदेश सरकारले बैशाखमा गर्ने लगानी सम्मेलनबाट होटेल तथा रिसोर्टमा लगानी भित्रिने उनले बताए । 

पर्यटकलाई मनोरन्जन दिन र आकर्षित गर्न स्थानीय समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्दै पस्कन र ताल क्षेत्रमा नील गाई संरक्षण केन्द्र बनाउन पनि मुख्यमन्त्रीले सुझाव दिए ।

 रुपन्देही ५ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले गैडहवा तालको पर्यटन विकासका लागि संघीय सरकारले ४१ करोड रुपैयाँको गुरुयोजना बनाएको र चालु आर्थिक वर्षमा ४० लाख वजेट विनियोजन भएको बताए । 

गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षको अवसर पारेर ताल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक ताल महोत्सव आयोजना गरिएको बताए । 

महोत्सवले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसम्म तालको  प्रचारप्रसार हुने र बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई तालमा आकर्षित गर्न सकिने बताए । तालको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले ३० लाख बजेट छुट्टाएर महोत्सव आयोजना गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने बताए ।

महोत्सव उद्घाटनमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सभा सदस्य फखरुद्दिन खान,सन्तोष पाण्डे, भूमिश्वर ढकाल, विष्णु पोखरेल र मोहम्मद इस्लामले गैडहवा ताललाई प्रदेश ५ कै नमूना पर्यटकीय स्थल र रुपन्देहीको ‘फेवा ताल’ बनाउन सकिने भन्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयमा काम गर्न सुझाव दिए ।

 दश दिन भन्दा बढी चल्ने महोत्सवमा एक लाख दर्शकलाई अवलोकन गराउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबारको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप