बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म फेस्टिभल कलाको उत्सव हो : बलिउड निर्देशक प्रकाश झा

शुक्रबार, ०२ फागुन २०७६, ११ : ३०
शुक्रबार, ०२ फागुन २०७६

बलिउड निर्देशक प्रकाश झाले नेपालमा संसारका विभिन्न देशका संस्कृति फिल्म मार्फत् हेर्ने आफु उत्सुक रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनमा बोल्दै झाले फिल्म फेस्टिभललाई कलाको उत्सवको रुपमा चर्चा गरे ।

स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरानमा विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा गरेको बताए ।

४० वर्षदेखि फिल्मकर्ममा रहेका उनले हरेक दिन इन्जोए गरेको बताए । 
‘४० वर्षदेखि फिल्मकर्ममा छु । तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको होला’ झाले भने ‘म नेपालको बोर्डरमा जन्मिएको हो । त्यसैले नेपाल दोस्रो घर जस्तै लाग्छ ।’ ‘म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थे’ झाले थपे ‘नेपालसँगको नाता गहिरो छ । तर काठमाडौं आएको भने पहिलो पटक हो ।’

सभामुख अग्नि सापकोटाले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । फिल्म साँस्कृतिक पहिचानको मुख्य माध्यम भएको सभामुख सापकोटाले सो अवसरमा बताए । उनले फेस्टिभल जीवन्त र सजिव अन्तक्र्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्ममेकरलाई प्रेरित गर्ने धारणा राखे ।

फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थियटरमा चल्नेछ । फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउन ठोस योगदान गर्ने धारणा राखे । ‘हामीले फिल्मसँगै छलफलका लागि पनि अन्र्तराष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा फिल्मको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ।’ केपीले भने ।  केपीले अगाडि भने ‘वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ ।’

कार्यक्रममा वरिष्ठ फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई फिल्मबाटै खतरा रहेको बताएका थिए । ‘फिल्मको नाममा निर्माण भएका र फिल्म हो जस्तो नलागने फिल्मबाट वास्तविक फिल्मलाई खतरा रहेको उनको भनाई रहेको थियो ।

शाहाले अगाडि भने ‘यस्ता ननएक्सप्रेसिभ फिल्मलाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’

उद्घाटनको अवसरमा चाइनीज फिल्म कम्पोजर देखाइएको थियो । महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन समेत हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप