मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन मनाएर लगनगाँठो गाँस्ने कलाकार

शुक्रबार, ०२ फागुन २०७६, १३ : ०३
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ । ‘प्रेम खुल्दा’ फ्यान घट्ने डर विश्वका कलाकारलाई रहन्छ । सायद, त्यसैले होला उनीहरु सकेसम्म आफ्नो प्रेमलाई लुकाएर राख्न खोज्छन् । बलिउड र कलिउडका कलाकार सकेसम्म प्रेम बाहिर नआओस् भनेर त्यही अनुरूपको क्रियाकलाप गर्ने गर्दछन् ।

प्रेम खुल्दा सकारात्मक, नकारात्मक अनावश्यक चर्चा हुनेसमेत गर्दछ ।

तर परिवर्तनशील समयसँगै पछिल्लो समय कलाकारहरु आफ्नो निजी प्रेमको बारेमा खुलेरै बोल्न थालेका छन् ।

हलिउड, बलिउड झैँ नेपाली फिल्म नगरीमा पनि कलाकारको लभ–रोमान्स र ब्रेकअपको शृङ्खला चलिरहन्छ । कुनै एउटा फिल्ममा सँगै काम गर्नेबित्तिकै प्रेममा रहेको र दोस्रो फिल्ममा सँगै नदेखिए ब्रेकअप भएको गसिप बन्नु कुनै नौलो कुरा होइन । त्यसैले पनि कलाकारको प्रेम र सम्बन्धका विषयले फिल्म नगरी हमेसा गर्माएको देख्न सकिन्छ ।

प्रेम र रोमान्सको मामिलामा नेपाली फिल्म नगरिका कलाकारहरु पनि कम छैनन् । एक दिन एउटासँग मनमुटु साटेको चर्चा सेलाउन नपाउँदै अर्को दिन अर्काेसँग डेटिङमा रमाएका तस्बिर बाहिरिने गरेका छन् ।

नेपाली फिल्म नगरीमा डेटिङ, प्रेम र रोमान्समा मात्र रमाउने एक किसिमका कलाकार छन् भने अर्काे किसिमका यस्ता कलाकार पनि छन् जसले प्रेम सम्बन्धलाई सँगै जिउने सँगै मर्ने कसम खाएर लगनगाँठो समेत कसेका छन् ।

आज ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर ती कलाकारको चर्चा गर्न खोजेका छौँ । जसले प्रेमपछि सँगसँगै जिउने मर्ने कसम खाएर एकअर्काेको जीवनसाथीको रूपमा स्वीकारे ।

राजेश हमाल र मधु भट्टराई

करिब ७ वर्षको प्रेमलाई राजेश र मधुले विवाहमा परिणत गरेका हुन् । हमालले आफ्नो उमेर ५० लाग्दा करिब आधा उमेरकी प्रेमिका मधुसँग धुमधामसँग लगनगाँठो कसेका थिए ।

राजेशले मधुलाई विवाह गर्दा सबै आश्चार्य चकित परेका थिए । अहिले विवाह भएको पनि केही वर्ष बितिसक्यो । दुवैको सम्बन्ध राम्रो चलिरहेको छ । सन्तान हुन भने बाँकी रहेको छ ।

निशा अधिकारी र शरद भेष्वाकर

सार्वजनिक स्थानमा एकसाथ धेरै पटक देखिएपछि अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेमको चर्चा चलेको थियो । केही समय दुवैले साथी मात्रको रूपमा चर्चा गरे । केही समयपछि दुवैले प्रेमसमेत स्वीकारे । यसपछि यो जोडी खुलेरै सार्वजनिक कार्यक्रममा देखिन थालेको छ ।

कहिले चलचित्र भवन, कहिले आर्यघाट र कहिले कता डेटिङ गर्दै आएका उनीहरूले अन्तत प्रेमलाई विवाहमा परिणत गरे । अहिले यी दुवै एक सन्तानको मातापिता समेच भइसकेका छन् ।

निखिल उप्रेती र संचिता लुइटेल

अभिनेता निखिल र अभिनेत्री संचिताले पनि दोस्रो विवाहका रूपमा प्रेम विवाह गरे । ‘माया त माया हो’ फिल्म छायाङ्कनमा टुसाएको प्रेमलाई उनीहरुले भागेर विवाह गर्दै पतिपत्नीका रूपमा आफूहरुलाई उभ्याए ।

अहिले निखिल र संचिताका दुई सन्तानसमेत छन् । प्रेम विवाहपछि केही समय फिल्मबाट हराएका यी दुवै फिल्म अभिनयमा क्रियाशील छन् ।

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’

हाँस्यशृङ्खला ‘मेरी बाँस्सै’ले यी दुवैको जोडी जुराएको हो ।  अभिनय सिलसिलामा प्रेम महसुस गरेका दुवैले लगनगाँठो पनि कस्न धेरै समय कुरेनन् ।

पछिल्लो समय अभिनय र समाजिक काम दुवै क्रियाशील यो जोडीको सन्तानका रूपमा एक छोरी छिन् । यी दुवै अहिले जे काममा पनि एक अर्काेसँग देखिने गरेका छन् ।

झरना थापा र सुनिलकुमार थापा

पछिल्लो समय निर्देशको रूपमा परिचित अभिनेत्री झरनाले पनि निर्माता सुनिलकुमार थापासँग प्रेम बिहे गरेकी थिइन् । कन्या क्याम्पस अध्ययन गर्दागर्दै सुनिल र झरनाको प्रेम बसेको थियो ।

प्रेम बसेको केही महिनामै बिहे गरेको यो जोडी फिल्म क्षेत्रमा उदाहरणीय छ । झरना र सुनिल पछिल्लो समय चलचित्र निर्माणमा समेत सक्रिय छन् । एक छोरीका मातापिता बनेको यो जोडीले छोरीलाई समेत हिरोइन बनाइसकेका छन् । 

मुकेश ढकाल र मेलिना मानन्धर

अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिना मानन्धरले पनि प्रेम विवाह गरेका हुन् ।

उमेरले धेरै अन्तर भए पनि प्रेम विवाह गरेको यो जोडी अहिले अमेरिकामा रहेका छन् । सन्तान प्राप्तीको खबर भने अहिलेसम्म आएको छैन ।

आर्यन सिग्देल र सपना भण्डारी

आर्यनले सपनासँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

नेपाली चलचित्रको ‘प्लेब्वाई’को रूपमा चिन्थे उनलाई । तर उनले यो आरोपलाई गलत सावित गर्दै प्रेम विवाह गरे । अहिले उनीहरुको एक सन्तानसमेत भइसकेको छ ।

निश्मा घिमिरे र गम्भीर विष्ट

अभिनेत्री निश्मा घिमिरे र नृत्य निर्देशक गम्भीर विष्टले पनि प्रेम विवाह गरेका हुन् । म्युजिक भिडियो निर्माणको सिलसिलमा नजिक भएका यी दुवैले केही वर्षको प्रेम र रोमान्सपछि मात्र  विवाह गरेक हुन् । म्युजिक भिडियोमा काम गर्ने सिलसिलामा गम्भीर र निश्माको प्रेम बसेको थियो । दुवैले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम समेत गरेका छन् ।

दिवाकर भट्टराई र दीपिका प्रसाईं

दिवाकरले नै निर्देशन गरेको फिल्म ‘ऐश्वर्य’बाट अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री दीपिकाले । फिल्मको कामको सिलसिलामा प्रेम बसेको यो जोडीले केही पहिले मात्र विवाह गरेका हुन् ।

रेनशा बान्तवा राई र प्रज्वल शमशेर जबरा

निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्वल शमशेर जबरले पनि प्रेम विवाह गरेका हुन् । यी दुवैले गत वैशाखमा विवाह गरेका थिए । ‘इन्टु मिन्टु लन्डनमा’बाट आफूलाई निर्देशकको रूपमा उभ्याएकी रेनशा र प्रज्वलले बानेस्वरमा एक चलचित्र भवन समेत सञ्चालनमा ल्याएका छन् ।

वर्षा राउत र सञ्जोग कोइराला

खुला प्रेममा रमाएको एउटा जोडी अभिनेत्री वर्षा राउत र अभिनेता सञ्जोग कोइराला पनि हुन् । करिब ८ वर्ष प्रेममा रहेको यो जोडीले प्रेम सम्बन्ध विवाहमा परिणत गरे ।

फागुन २ गते अर्थात प्रेम दिवसकै दिन उनीहरुले लगनगाँठो कसेका थिए । विवाहपछि पनि वर्षा अभिनयमै छिन् भने सञ्जोग भने पछिल्लो समय अभिनयमा देखिएको छैनन् ।

अनुप बराल र दिया मास्के

अभिनेता अनुप बराल र अभिनेत्री दिया मास्केले पनि ६ वर्षको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा अवतरण गराएका हुन् ।

नाटक अभिनय सिलसिलामा उनीहरुको प्रेम बसेको थियो । दुवैले नाटको अलवा केही फिल्ममा पनि सँगै काम गरेका थिए ।

ऋचा शर्मा र दिपेश विक्रम राणा

अभिनेत्री ऋचा शर्माले पनि दिपेश विक्रम राणासँग प्रेम विवाह गरेकी हुन् । यसै वर्षको मङ्सिरमा उनले लगनगाँठो कसेकी हुन् ।

विवाह अगाडि नजिकका साथीभाइलाई पोखरामा ब्याचलर पार्टीसमेत दिएकी उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेकी हुन् । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

यी त उदाहरण मात्र हुन् । कृष्ण मल्ल र सर्मिला मल्ल, ऋषि र सरिता लामिछाने, सुमिना घिमिरे र रोशन सापकोटा, रेजिना उप्रेती र सुरज पोख्रेल, सलोन बस्नेत र करिस्मा श्रेष्ठ, शङ्कर र ऋचा घिमिरे लगायत थुप्रै जोडी छन् । जसले प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप