केन्द्रीय संस्करण
वरिष्ठ निर्देशक दयाराम दाहालको जीवन

वरिष्ठ निर्देशक दयाराम दाहालको जीवन : 'रक्सी राखेको दराजमा आगो लगाइदिएँ'

person explore access_timeफागुन ३, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली चलचित्र क्षेत्रका सफल तथा वरिष्ठ निर्देशक हुन् दयाराम दाहाल । २०४५ सालमा निर्मित ‘लाहुरे’को पोस्ट प्रोडक्सनमार्फत चलचित्र क्षेत्रमा होमिएका दाहालले करिब ४० चलचित्रको निर्देशन गरेका छन् । उनको निर्देशन रहेको पहिलो चलचित्र ‘दाइजो’ हो । फिल्मको निर्माण प्रक्रिया केही समय रोकिँदा  रिलिजका हिसाबले भने पहिलो ‘भरिया’ भयो ।

दाहालले निर्देशन गरेको अधिकांश चलचित्रले ब्यवसाय गरेको मात्र होइन । ५१औँ दिन, १००औँ दिनको व्यावसायिक रहेकर्डसमेत बनाएका छन् ।

दाहालको पछिल्लो चलचित्र ‘लैबरी लै’ प्रदर्शनमा आउन बाँकी छ । पछिल्लो समय चलचित्र विकास बोर्डको सदस्यसमेत रहेका दाहालले बोर्ड सदस्यका हिसाबले चलचित्रको हकहितका खातिर थुप्रै काम गरेका छन् । त्यसैले पनि अहिले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले दाहाललाई नै ल्याउनुपर्ने माग चलचित्रकर्मीको रहेको छ ।

‘दाहाल चलचित्र बुझेका मानिस हुन् । उनले चलचित्र र आफूहरुको हितका खातिर काम गर्न सक्ने विश्वास आफूहरुलाई छ,’ चलचित्रकर्मीको भन्दै आएका छन् ।

दाहाल विवादरहित चलचित्रकर्मीका रूपमा समेत चिनिँदै आएका छन् । चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी आफूले पाए चलचित्र क्षेत्रको मुहार फेर्ने मात्र होइन नेपाली चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमा दर्बिलो उपस्थिति जनाउन सक्ने वातावरणसमेत निर्माण गर्ने दाबी दाहाल गर्दछन् । यी नै वरिष्ठ निर्देशक दयाराम दाहालको जीवनका विभिन्न पाटाहरु आज रातोपाटीको मेरो जीवन स्तम्भमा खोतल्ने प्रयास गरेका छौँ ।

मेरो फुर्सद

पछिल्लो समय फुर्सदै छ । चलचित्र विकास बोर्डको अध्यक्ष बित्नु अगाडि बोर्डको कामको धेरै धपेडी थियो । त्यो समय, म बिहान ८ बजेदेखि बेलुका ७, ८ बजेसम्म खटिन्थे । चलचित्र विकास बोर्डको धेरै समितिमा म नै संयोजक छु ।

दुई वर्ष भयो चलचित्र निर्माणमा म सुस्ताएको छु । आँट समेत आएको छैन । एक दुई विषयमा चलचित्रका लागि स्क्रिप्ट लेखिरहेको छु । अब बनाउने चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली कलासंस्कृति र सामाजिक कुराको पहिचान दिलाओस् भन्ने छ । एक वर्षभित्र विदेशीले पनि वाह !  भन्ने खालको फिल्म बनाउँछु । फुर्सदको समय आफन्त भेट्ने, घरको काम सघाउने पनि गर्छु ।

मेरो पोसाक

सिम्पल पहिरन मनपर्छ । सधँै फर्मल बनेर हिँड्न मनपर्दैन । साधारण सर्टपाइन्ट, टिसर्ट हाप पाइन्ट लगाउँछु । फर्मल कार्यक्रममा कहिलेकाहीँ फर्मल पहिरन लगाउनै पर्दाे रहेछ । त्योबाहेक अधिकांश समय नर्मर पहिरन लगाउँछु ।

मेरो मनपर्ने पहिरन कलर निलो हो । पहिरनमा ब्रान्डेडभन्दा पनि मन परेको किन्छु । जीवनका धेरै समय स्ट्रगलमा बितेको हुनाले ब्रान्डेड सामान रोज्ने अवस्था नै जुरेन ।

म चलचित्रमा आउँदा भाइबहिनी सानासाना थिए । घरको जिम्मेवारी मैमाथि थियो । त्यो जिमबेवारीको बोझमा ब्रान्डेड खोज्ने हिम्मत कहिल्यै आएन ।

मेरो फिट्नेस

बिहान करिब एक, डेढ घण्टा दैनिक नियमित मर्निङवाक गर्छु । कहिलेकाहीँ घरमै कपालभाँती समेत गर्छु । घरमा एक्सरसाइजका लागि दौडिने ट्रेडमिल पनि छ । बाहिर मर्निङवाक गर्न भ्याइन भने ट्रेडमिलमा दौडन्छु ।

मेरो अध्ययन

अध्ययन त मेरो रुचिको विषय हो । म पाएसम्म धेरै किताब पढ्छु । राजनीति, संस्कृति, सामाजिक, जीवनी, व्यक्तित्व विकास, अध्यात्मलगायत सबै प्रकारका पुस्तक पढ्छु ।

किताब पढ्न थालेपछि सकाउनु नै पर्छ । काम नभएको समय बिहान, बेलुका, दिउँसो जुनै समय पनि पढ्न सक्छु । कुनै दिन दिनभर बिजी भइएभने बेलुका फुर्सद निकालेर पनि अध्ययन गर्छु ।

मेरो खाना

म साधारण जीवन शैलीमा हुर्किएको मानिस हुँ । जीवनमा धेरै सङ्घर्षसमेत गरेको छु । त्यसैले मनपर्ने यो भनेर छान्ने अवस्था कहिल्यै रहेन आजसम्म । भोक लागेको बेलामा जे भेटियो त्यही खाएर गुजारा चलाएँ । अहिले पनि खानेकुराको शैली त्यस्तै छ ।

बाल्यावस्थामा साग, दही र मकैको ढिँडो खाएर म हुर्किएको भएर होला अहिले पनि त्यसको स्वाद भुल्न सकेको छैन । शरीरलाई अपाच्य हुने खानेकुरा मेरो मन नपर्ने खानामा पर्दछ ।

विगत ७ वर्षयता म सात्विक भाको छु । पहिले परिवार लिएर रेस्टुरेन्ट जान्थेँ । अहिले रेस्टुरेन्टमा गएर नखाएको ७ वर्ष भयो । घरमा सबै प्रकारको खान पकाउने गर्दछु । मैले पकाएको मासु र साग मेरो छोराले धेरै मन पराउँछ । 

मेरो खेलकुद

सानोमा स्कुल पढ्दा चेस धेरै खेल्थेँ । म अलि अग्लो भएकाले गर्दा काभ्रे जिल्ला स्तरीय भलिबल प्रतियोगितामा पनि भाग लिन्थेँ । पछिल्लो समय खेल्न समय मिलेन, माहोल पनि भएन ।

तर खेलकुद मनपर्छ । नेपालमा अहिले क्रिकेटको खेलाडीले देशको नाम राख्न जुन प्रयत्न गरिरहेका छन् । म ती क्रिकेट खेलाडीलाई समर्थन गर्छु । उनीहरुको गेम भ्याएसम्म हेर्छु ।

विश्वकपका धेरै गेम सेमिफाइनलपछि नियमित हेर्ने गरेको छु ।

मेरो मोबाइल

अहिले मसँग एउटा समसुङ ब्रान्डको मोबाइल छ । पहिले हुवाइको बोक्थे । त्यसअगाडि आइफोन पनि थियो । जे आइपर्छ । त्यही बोक्छु ।

मोबाइल फोन गर्न, समाचार, सूचना थाहा पाउन, सामाजिक सञ्जाल चलाउन, युट्युबमा अन्तरवार्ता, ताजा विषयका कुराकानी र इन्ट्रेस्टिङ लागेको विषय हेर्न प्रयोग हुन्छ ।

मेरो टिभी

हरेक साँझ नियमित टिभी हेर्ने बानी छैन । स्पेसल समाचार आउँदैछ । कुनै घटना घटेको छ भने टिभी हेर्छु । त्यो पनि साँझ ।

यो वर्ष छोराको एसईईको परीक्षा भएकाले टिभी हेरेकै छैन । टिभी खोल्दा साउन्ड निस्किन्छ । त्यसले उसको एकाग्रता बिग्रिन्छ भनेर हेर्दिनँ ।

मोबाइलामा केही हेर्नुपर्यो भने पनि हेडफोन लगाएर हेर्छु । टिभीमा समाचार, फिल्मी खबरहरु हेर्न मनपर्छ ।

मेरो चलचित्र

चलचित्र धेरै हेर्छु । पछिल्लो समय हेरेको चलचित्र ‘कथा काठमाण्डु’ हो । अहिले त विकास बोर्डको सदस्य भएपछि केही फिल्म सेन्सरमा समेत हेरेको छु ।

चलचित्र विकास बोर्डमा विशेष फिल्म हेर्ने क्रममा ७०, ८० वटा फिल्म हेर्नुपर्छ । फिल्म हेरेर अहिले बन्ने प्रविधिको विश्लेषणसमेत गर्छु ।

अङ्ग्रेजी, हिन्दी, नेपाली सबै प्रकारका फिल्म हेर्नेगरेको छु । सामाजिक परिवेश, नेपाली कलासंस्कृति भएको सामाजिक विषयवस्तुमा बनेको फिल्म राम्रो लाग्छ ।

हल्काफुल्का विषयले मनोरन्जन त देला । मेरो विचारमा चलचित्रले समाजमा केही प्रभाव पार्न सकोस् भन्ने रहेको छ ।

किनभने हाम्रो देशको कलासंस्कृति विश्वमा छैन । हाम्रो मजबुत सामाजिक बनावट छ । एकको दुःखमा अर्काेले सहानुभूति जनाउने संस्कृति छ ।

एकले अर्काको दुःख निराकरणको प्रयास गर्ने खालको विशिष्ट प्रकारको समाजले भरिएको देश हो हाम्रो ।

मेरो पेसा

मेरो काम, धर्म जे भने पनि चलचित्र हो । करिब ३२ वर्ष भयो । मैले चलचित्र क्षेत्रमा बिताएको । निर्देशक तुलसी घिमिरेको ‘लाहुरे’ फिल्मको पोस्टप्रोडक्सनबाट चलचित्र यात्रा सुरु गरेको थिए ।

त्यसअगाडि २०४१ तिर रेडियोमा गीत गाउन, नाटक गर्न जान्थेँ । कलाकारितातिरको लगाब मेरो सानैदेखि थियो । रेडियो नेपालको चौतारी, बालकार्यक्रममा गीत गाउँथे । त्यो पनि काभ्रेबाट धाएर ।

जब ०४३ मा मैले एसएलसी पास गरेर काठमाडौँ अध्ययनका लागि छिरेँ सो समयबाट मेरो चलचित्र, नाटक लेखनतिर इन्टे«स्ट बस्यो । एकेडेमीमा, नाचघरमा केही संस्कृतिक कार्यक्रम समेत गरे ।

०४५ देखि चाहिँ म चलचित्र क्षेत्रमा पूर्ण रूपमा होमिएँ । समग्र चलचित्रले कला धेरै विधा समेट्छ । कलाका धेरै विधा समेट्ने क्षेत्र चलचित्र भएको पनि म यसमै होमिए ।

यो क्षेत्रमा लाग्दा चलचित्रको लेखक, निर्देशक, कलाकार, निर्माता बन्छु भन्ने सोचेको थिएँ । काम गर्दै जाँदा सफल भएँ । ‘देउता’ भन्ने फिल्मबाट मुख्य सहायक निर्देशक भएर काम गरेको मैले २०५० मा बनेको चलचित्र ‘दाइजो’बाट निर्देशक भएँ ।

यो फिल्मको सुटिङ रोकिएको कारण २०५२ सालमा रिलिज ‘भरिया’ मेरो पहिलो चलचित्र भयो । त्यसपछि दौँतरी, ठुल्दाइ गर्दै ४० चलचित्र निर्देशक गरेँ ।

मेरो पछिल्लो चलचित्र ‘रानी’ हो । करिब डेढ वर्ष अगाडि यो रिलिज भएको थियो । एक फिल्म ‘लैबरी लै’ पनि रिलिज हुन बाँकी छ ।

मेरो सपना

चलचित्र क्षेत्रमा देखेको सपना धेरै थिए, छन् । हामी एउटा सानोपोखरीभित्र मात्र रमाएका रहेछौँ । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाउन नसक्नुको कारण पनि त्यही रहेछ ।

डिजिटल प्रबिधि भित्रिनु अगाडि चलचित्र निर्माण गर्न गाह्रो थियो । त्यस अगाडि धेरै कुरामा विदेशीको भर पर्नुपथ्र्यो । उक्त समय चलचित्र निर्माणमा ठूलो सङ्घर्ष थियो ।

अहिले डिजिटल प्रविधि भित्रिएपछि चलचित्रमा करोडौँ लगानी समेत हुन थालेका छन् ।

हामीले ४०, ५० लाखको चलचित्र बनाउँदा बढी खर्च भयो भन्थे । आज सो अवस्था पनि छैन तर नेपाली चलचित्र क्षेत्रले आन्तर्राष्ट्रिय बजार भने लिन सकेन । अझै सीमित सेरोफेरोमा रमाइरहेको छ । म विकास बोर्डको सदस्य भएर आएपछि धेरै कोणबाट मूल्याङ्कन गर्दा चलचित्रले स्वदेशमै आफ्नो बजार विस्तार गर्नसमेत नसकेको देखे ।

किनभने नेपालको आधा जनसङ्ख्याले नेपाली भाषा बुझ्दैनन् । नेपाली चलचित्रका कलाकार चिन्दैनन् । हामीले आफ्नै देशभित्र आफ्नो चलचित्र स्थापित गर्न सकेका रहनेछौ । तर मिडियामा हामी विदेशका एक दुई ठाउँको प्रचार गर्न लागिपर्यौँ ।

हामीले अहिलेसम्म विदेशीलाई नेपाली चलचित्रको टिकट काटेर हेर्ने वातावरण बनाउन सकेका पनि छैनौँ । मैले कर्मसियल रूपमा धेरै सफल चलचित्र बनाएको छु । तर विदेशमा देशको पहिचान दिने खालको, ओस्करमा जित्ने फिल्म बनाउनु अहिलेको मेरो सपना, लक्ष्य जे भने पनि छ ।

यसका लागि नीतिगत रूपमा मैले धेरै कुरा अगाडि बढाएको छु विकास बोर्डमार्फत । बोर्डमा म अध्यक्ष भएर आएँ भने चलचित्र क्षेत्रको हित हुन्छ ।

मेरो प्रेम

मेरो प्रेम विवाह होइन । त्यसैले विवाहपछि श्रीमतीसँग प्रेम बस्यो । २०५४ मा विवाह गरेको थिएँ । सानोबुबा मार्फत उनीसँग चिनजान भएको थियो । सानोबुबा र उनी जनक शिक्षामै काम गर्थे ।

म धेरै स्ट्रगल गरेको मानिस । मेरो जीवनमा केहीको पनि रुटिङ थिएन । मेरो अस्तव्यस्त जीवन देखेर सानोबुबाले पहल गरेर विवाह गरिदिनु भएको हो । विवाहपछिको प्रेम अहिलेसम्म पछि जारी छ ।

मेरो गीतसङ्गीत

गीतसङ्गीमा मेरो धेरै सोख छ । म आफै गीत लेख्ने मानिस हुँ । अरूको गीत  नसुनी गीतको ट्रेन्ड नै थाहा हँुदैन ।

जुन गीतसङ्गीत जीवनको नजिक हुन्छ, जिन्दगीको प्रतिनिधित्व गर्छ । त्यो सुन्न मनपर्छ । मेरो मनपर्ने गायक गायिका नारायण गोपाल र अरुणा लामा हुन् । गीतसङ्गीत म जुनै समय पनि सुन्छु ।

मेरो दुःख

चलचित्रकर्मी बन्नु नै दुःख रहेछ । मेरो विचारमा धेरै ठूलो हिम्मत गर्ने मानिस मात्र चलचित्रकर्मी बन्छ । सानोतिनो हिम्मतले चलचित्र क्षेत्रमा टिक्न सक्दैन ।

नेपाली चलचित्रकर्मीको बाहिर चलेको हल्ला जस्तो जस्तो जीवन कसैको पनि छैन ।

यहाँ पूर्णकालीन चलचित्रकर्मी भएर जीवन जिउन निकै ठूलो सङ्घर्ष गर्नुपर्छ । धेरै हिम्मतिलो, धैर्यता भएको मानिस मात्र चलचित्रकर्मी बन्न सक्छ । रहरले भित्रिने हराएर जान्छन् । पलायन हुन्छन् ।

चलचित्र क्षेत्रमा दुखैदुःख छ । त्यस्तै परे फ्यामिलीले पनि साथ छोड्दिन्छन् । आजको दुनिया भौतिकवाद, सुखसयलमा विश्वास गर्नेछ । चलचित्र क्षेत्रमा यो असम्भव छ । 

मेरो मापसे

पहिले धेरै गर्थें । जे पनि लिन्थेँ । अहिले ७ वर्ष भयो । छोएको पनि छैन । सोही कारणले आफूमा केही परिवर्तनसमेत महसुस गरेको छु ।

पहिले घरमा बार समेत बनाएर रक्सी सजाएर राखेको थिएँ । खानछोडेपछि त्यो सबै लगेर फलिदिएँ । रक्सी राखेको दराज आगो लगाइदिएँ ।

मेरो भूल

जीवनमा भूल त भए होलान् । भगवानले त धेरै भुल गरेको हामीले ग्रन्थमा पढ्न पाउँछौ । हामी त मानिस । भुल भयो होला । तर त्यसमा पछुताउनु राम्रो कुरो होइन ।

भुलबाट सिकेर अगाडि बढ्ने हो । आफूले यो भुल गरेँ भनेर पछुताएर बस्यो भने जीवन व्यर्थ हुन्छ । समयले मबाट जेजे गरायो त्यसमा पछुतो पनि छैन ।

जीवनमा धेरै पैसा कमाउने अवसर छोडेर म चलचित्र क्षेत्रमा लागेँ । ३२ वर्ष भयो । यात्रा निरन्तर जारी छ ।

चलचित्र क्षेत्रमा जिरो लेभलबाट सुरु गरेको मानिस म । अहिले चलचित्र क्षेत्रको टप लेबलमा छु । आर्थिक रूपमा हेर्ने हो भने धेरै पछुताउनुपर्ने कुरा छन् । नेपाली चलचित्रमा लाग्छु र केही गर्छु भनेर हिम्मत गरेर यसमा लागेको मानिस म । अहिले आर्थिक भएन भनेर पछुताउन पनि मिल्दैन ।

मेरो विचारमा पछुतोले मानिसलाई अलमल्याउँछ । आजसम्म नअलमलिएको व्यक्ति म । अव किन अलमलिने ।

मेरो रोग

ब्लड प्रेसर छ । अन्य रोग केही छैन । तीन वर्ष अगाडि आमा बित्दा म एक वर्ष जति भावनात्मक रूपले विक्षिप्त भएँ । सोही समयदेखि यो रोगले सतायो । आपूmलाई केही भयोभने आमाबाबु छन् भन्ने एउटा आस रहन्थ्यो । त्यसमा आमा नरहेकाले म भावनात्मक रूपमा बढी सेन्टिमेन्स् भएँ । अहिले त्यसको नियमित औषधि खाँदैछु ।

मेरो राशि

मेरो राशि कुम्भ हो । ग्रहदशामा अलिअलि विश्वास लाग्छ । हामी जुनसमाजमा हुर्केर बढ्यौँ, जुन सस्ंकार सिक्थ्यौं, जुन सामाजिक बनावटले बाँधेको छ, त्यो समाजप्रति आस्था पनि छ । यो ब्रह्माण्ड हुनुको कारण पनि एउटा शक्ति छ भन्ने कुरा बिश्वास गर्छु । पक्कै पनि ती शक्तिहरुले जीवनमा प्रभाव पर्छ भन्ने विश्वास छ ।

मेरो मृत्य

मृत्य सत्य हो । यसलाई स्वाभाविक रूपमा लिन्छु । संसारमा जुनै पनि जीवको जन्महुन्छ । त्यसले मृत्यु नहोस् भनेर चाहन्छ । म अजम्बर हँु भन्ने सोच्छ ।

त्यो भावनाले समाजमा अराजकता, भ्रष्टाचार, उच्छृङ्खलता पैदा हुन्छ । जन्मको कुनै ग्यारेन्टी छैन । मृत्युको ग्यारेन्टी छ ।

यो विषय मानिसले बोध गर्यो भने संसारका धेरै अपराध आफै कम हुन्छन् ।

मृत्यु स्वीकार गर्नैपर्छ । मानिसले घृणा गर्ने खालको मृत्यु नहोस् । सम्मान गर्न लायकको मृत्यु होस् भन्ने मेरो चाहना छ । मानिसले भनेजस्तो सबै कुरो कहाँ पूरा हुन्छ होला र ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.