केन्द्रीय संस्करण

नार-फू भाषाको खोजखबर

person explore access_timeफागुन ३, २०७६ chat_bubble_outline0

नार-फू भाषाको फिल्डवर्कमा आधारित छ यो संस्मरण । नेपाल, अमेरिका र बेलायतका विश्वविद्यालयबाट भाषाविज्ञान र भूगोलका शोधार्थी सहभागी थियौँ फिल्डवर्कमा । त्रिभुवन विश्वविद्यालयबाट म, क्याम्ब्रिज विश्वविद्यालयबाट जो पेरी, युनिभर्सिटी अफ गिल्फोर्डबाट ओलिभर बोन्ड र युनिभर्सिटी अफ साउदर्न इलिन्वाइबाट क्रिस्टिन हिल्डेब्रान्ड्ट, सन फु हु, र त्यसै विश्वविद्यालयका विद्यार्थी कन्चन कार्की र यशा मल्ल अनि नार गाउँ बासिन्दा लाक्पा दाइ सहभागी थियौँ ।

अरू सहयोगी पनि थिए हामीसँग । अहिले नेपालको संघीय सरकारले जनगणना २०७८ को तयारी गर्दै गरेको सुनेको छु । मेरो चासो चाहिँ भाषाका सूचीकरणमा हो । २०११ देखि २०१४ सम्म संयुक्तराज्य अमेरिकाको युनिभर्सिटी अफ साउदर्न इलिन्वाइसँगको सहकार्यमा मनाङ जिल्लामा बोलिने भाषाहरूको अभिलेखीकरण गर्ने कार्यक्रम अन्तर्गत हामी नार गाउँ र निस्याङ् उपत्यका (उपल्लो मनाङ)को फिल्डवर्कमा सहभागी थियौँ । दुर्गम बस्तीमा बोलिने भाषाको सूचीकरणमा विद्यमान समस्या आँकलन गर्ने पनि यसको उद्देश्य हो ।

मनाङलाई हिमाल पारिको जिल्ला भनिन्छ । मनाङ जिल्लाभित्रै पनि साविकका नार र फू गाविस (हालको नार-फू गाउँपालिका) लाई हिमाल पारिका गाउँ भनेर चिनिन्छ । नारबासी हाम्रा दाइ लाक्पा लामाले भनेअनुसार यी गाउँहरू अस्तित्वमा छन् भनेर नेपाल सरकारलाई निकै ढिलोमात्र थाहा भएको थियो रे १ नार खोलाले बगाएर ल्याएका कपडाका झुत्रा लुगाफाटा चामे आसपासमा देखेपछि मात्र त्यहाँका बासिन्दाले चामेभन्दा माथि पनि बस्ती हुनसक्छन् भनेर ती गाउँको खोजी भएको  कुरा उनले सुनाए ।  त्यसमा जुन तहको सत्यता भए पनि नार र फू गाउँ मनाङ जिल्लाको भौगोलिक पहुँचबाट टाढा भएकामा शङ्का गर्ने ठाउँ चाहिँ छैन ।

यातायातका दृष्टिकोणबाट अहिले मनाङ फरक भएको छ । हामीले पहिलो वर्षको फिल्डवर्क गर्दा सन् २०११ मा च्योम्चेसम्म गाडिमा गएका थियौँ । २०१२ सम्ममा त हामी चामेसम्मै जिपमा पुग्यौँ । बाटो भने निकै डरलाग्दो । मनाङ जिल्लाको प्रवेशद्वार ताल गाउँपारिको कालो भिरको बाटोले शरीर नै सिरिङ्ग बनायो । लमजुङ् जिल्लाबाट मनाङ प्रवेश गर्दा ताल पहिलो गाउँ थियो मोटर बाटो नपुग्दासम्म । अहिले यो गाउँको पारीबाट मनाङ जाने बाटो निर्माण भएको छ । बाटो पार गर्दा ओलिभरले बाटोका बारेमा कुरै सुन्दा डराए र कानमा हेडफोन राखे डरलाग्दा कुरा सुन्नु पर्छ भनेर । मैले अनुभव गरेको सवैभन्दा डरलाग्दो बाटो हो । त्यसैले हामी नारगाउँबाट फर्कँदा च्योम्चेसम्म पैदल हिँडेरै आयौँ । त्यो बाटो जिपमा यात्रा गर्दा मैले धेरै पटक घर सम्झेँ ।

कोतो (चामे) मेता

हामी मनाङ जिल्लाको सदरमुकामको करिव १० मिनेटको दूरीमा रहेको कोतोबाट पहिलो दिन मेता पुग्‍नका लागि विहानको खाजा खाएर हिँड्यौँ । नार खोलाको शिरलाई पछ्याउँदै  भीमकाय चट्टानकाबिचको गल्छी छिचोल्दै खोँच पछ्याउँदै खोलाको किनारै किनार माथितिर लाग्यौँ । ओलिभर बोन्ड केही बिरामी परे, खुट्टा लतार्दै हिँडे । हुलाकी ओढार (चामे र मेताको बिचमा पर्ने ओढार) पुगेर उमालेका चिसा अण्डा र खानेकुरा खायौँ । दिनभरको यात्रामा एक कप चिया समेत पाइएन । नार खोला सुस्साइरहेको थियो । गाउँको कुनै चहलपहल थिएन । अनकन्टार खोँचको बाटो छ । धेरै ठाउँमा कडा चट्टान खोपेर बनाएको साँघुरो बाटो काट्दै थियौँ हामी । साँझ पर्नै लाग्दा हामी धर्मशाला पुग्यौँ । हुलाकी ओढार आसपास पुग्दा चाहिँ लेक लागेर बेहोस भएका एकजना पदयात्रीलाई हस्याङफस्याङ गर्दै एक हुल मान्छेले तलतिर झारेको भेटेका थियौँ । घोडा चढेर चामे जाने र आउने निकै थोरै मान्छे भने भेटिएका थिए बिचबिचमा ।

धर्मशालाबाट मेता पुग्‍ने बेला उकालोमा दश मिनेटको अन्तरालमा बिसाउँदै हिँड्दै गर्‍यौँ । हामी सुस्केरा हाल्दै थकित शरीर लिएर साँझमा मेता पुग्यौँ । स्थानीय भाषामा मेता (मेःता) को अर्थ तलको ठाउँ भन्ने हुन्छ । नार गाउँबाट तल हेर्दा यो ठाउँ समथर देखिन्छ । यही गाउँबाट नार र फू गाउँ जानका लागि बाटा छुट्टिन्छन् । समथर बस्ती भएकाले मेतामा केही वर्ष पहिलासम्म खेती गरिन्थ्यो रे नारगाउँबाट आएर । कोतोबाट पहिलो दिनको बास बस्‍न यहाँ पुग्‍नु पर्ने थियो, पुग्यौँ । मेता गाउँ नार र फू गाउँबाट बगेर आएका दुई खोलाको सिरानमा छ ।

मेता-नार

मेताको बासपछि हामी भोलिपल्ट नारको यात्रामा लाग्यौँ । गाउँलेहरू भन्दै थिए( अहिले त बाटो चौडा छ नार पुग्‍ने । बाटोको सुविधाले दैनिक उपभोग्य सामानको समेत सुलभता छ केही मात्रामा भएपनि । नार गाउँमा १(२ दिन मान्छे रहने थाहा पाएपछि नार गाउँको काम सक्‍ने र फर्किने तारतम्य बनायौँ । मेतामा २(३ ओटा होटलमात्र थिए । डाँडाहरू हिउँले ढाकिएका देखिन्थे । विहानै हेर्दा सूर्यको किरणले हिउँले ढाढेको हिमालको शिर पहेँलो देखिन्थ्यो ।

मुस्किलले साँझको खाना खाने व्यवस्था भयो । विहान उठ्दा चाहिँ त्यहाँको चहलपहल अलग्गै लाग्थ्यो । हाम्रो योजना चाहिँ नार र फू गाउँको भाषिक स्थितिका बारेमा तथ्याङ्क सङ्कलन गर्ने थियो । मेता पुग्दा थाहा भयो कि फू गाउँका मानिस कोही पनि गाउँमा छैनन् । सबै यार्सा गुम्बा टिप्‍न लेकमा पुगिसके । स्थानीय बोलिचालिको भाषामा चाहिँ यार्सागुम्बालाई किरा भन्दा रहेछन् । हाम्रो फिल्डवर्कको योजना पनि बदलियो ।

अघिल्लो दिनको थकाइले गर्दा हामीले दोस्रो दिन नारगाउँको फेँदीमा रहेको गुम्बामा गएर बस्यौँ । मेताबाट नारगाउँ जाने गल्छी पुग्‍ने बेलामा पुरानो किल्ला (गोलो घर जस्तो संरचना) देख्‍न सकिन्छ । लाक्पा दाइले त्यसको एउटा छुट्टै कथा सुनाएका थिए । मेता र नारफेँदी जोड्ने ठाउँमा ठुलो गल्छी छ । स्थानीयहरूले यसलाई पोखराको महेन्द्रपुलसँग तुलना गरेर महेन्द्रपुल भन्छन् । हेर्दा रिङ्गटा लाग्‍ने गल्छीमा पुरानो काठको पुल बनाउन त्यो पहरोमा कसरी मान्छे पुग्‍न सके होलान् भन्ने जिज्ञासा उत्पन्‍न भयो मलाई ।

लाक्पा दाइले यस गल्छीमा धेरै मानिसहरू झुक्किएर ज्यान गुमाएको कुरा सुनाए । यो खोला दामोदर कुण्डको आसपासबाट उत्पत्ति हुन्छ । नार र फू खोलाको सङ्गम हेर्दा यी दुई खोलाबाट प्रवाह हुने पानीको रङ पनि फरक छ- नार खोलाको पानी सङ्लो छ, फू को चाहिँ दुध जस्तै सेतो । पुरानो पुलको स्थिति हेर्दामात्र पनि मानिस कसरी आफ्नो गाउँलाई औधी माया गर्छन् भन्‍ने कुरा व्यक्‍त हुन्छ । साँघुरो बाटोमा याकको हुल दौडिँदै आउँदा कसरी जोगिने भन्‍नेकुराले सातोपुत्लो उड्यो महेन्द्र पुलनेर पुग्दा ।

नार फेदीमा निर्मित सते गुम्बामा हामीले त्यो दिनको बास बस्यौँ। लाक्पा दाइले त्यस ठाउँमा धेरै वर्ष पहिला कसरी गुम्बा निर्माण हुन पुग्यो भन्‍ने कुरा बताए । त्यस सेरोफेरोमा कार्मा ठिलेन लामाले जम्मा १०८ गुम्बा बनाएका थिए रे । अन्तिम गुम्बा चाहिँ फू गाउँमा बनाएका थिए रे । त्यति दुर्गम भूभागमा पनि त्यति राम्रा गुम्बा निर्माण गर्ने कहाँबाट कसरी रकम जुट्यो भन्ने उत्पन्‍न भयो मलाई । तिनै लामाको नाउँबाट यस फेँदीको नामकरण गरिएको हो भनेर सुनाए । सेतेमा बास बसेपछि अर्को दिन १,२ घण्टामै नार गाउँ पुग्न सकिन्छ भन्थे स्थानीय बासिन्दाले । हामीलाई चाहिँ एक बिहान पूरै लाग्यो त्यहाँ पुग्‍न ।

नार गाउँको उकालो

तेस्रो दिन बिहान नारगाउँ पुग्‍नका लागि हामी उकालो लाग्यौँ । केही समय उकालो हिँड्दा नार गाउँ (उपत्यका) पुग्दा वरिपरिको दृश्य मनोरम हुँदै र खुल्दै गयो । उकालो कटिसक्दा चाहिँ समथर भूभाग आयो । बायाँपट्टि पिसाङ चुचुरो, दायाँतिर फू र नार खोला । हिमालका चुचुरामा हिउँ देखिन्थ्यो । बाटोमा थोर्चेनका लस्कार देकिन्थे । बिहानको ३ घण्टा जति उकालो हिँडेपछि हामी नारको समथर ठाउँ पुग्यौँ ।

नार गाउँ प्रवेश गर्ने बेलामा प्रवेशद्वार छ । यस प्रवेशद्वारबाट गाईबस्तु सजिलै बाहिर निस्कन पाउँदैनन् । नार गाउँको पारि पाखामा भेडाबाख्रा छापिएका थिए । हेर्दा लाग्थ्यो नारगाउँको आफ्नै संसार छ प्रसासनीक र आधुनिक सुविधाबाट टाढा रहे पनि । निर्माण सामग्री, दैनिक उपभोग्य बस्तुको उपलब्धताको असहजताबिच पनि मानिसहरू यहाँ रमाइरहेका छन् । जन्मभूमिको मायाले, आर्थिक अभावले वा दुवैले किन हो यति दुर्गम भूगोलमा पनि बस्तीमा रमाइरहेका छन् स्थानीय बासिन्दा । 

रमणीय नार गाउँ

नारलाई स्थानीय भाषामा छुप्रुङ् भन्छन् र गाउँलेलाई नार्तेन् । नार खोलाको माथि समथर भूभागमा रहेको यो गाउँको नार गाउँको बसोबासका बारेमा एउटा लोकोक्‍ति छ । धेरै पुस्ता अगाडि मुस्ताङ्बाट एकजना सिकारी सिकार खेल्दै मृग लखेट्दै नार गाउँमा पुग्यो । उसलाई यो ठाउँमा खेती राम्रो हुन्छ कि हुँदैन भनेर आफ्नो गोजीमा राखेको जौ रोप्यो । खेती भएमा यस ठाउँमा बस्ती बसाल्ने कुरा सोच्यो । मुस्ताङ पुगेर अर्को वर्ष फेरि यो ठाउँमा फर्कँदा त्यहाँ जौ पाकि सकेको थियो । यसरी उसले त्यस ठाउँमा बस्ती बसाल्यो । उसले तिब्बतको चाकु बासिन्दा एउटी केटीसँग विवाह गर्‍यो र त्यहाँबाट नार गाउँमा बसाइ सरेर बस्न थालेको कथा छ नारगाउँको बसोबासका बारेमा ।

हिमाली भेगका घरहरू जस्तै नार गाउँमा पनि एउटा घर अर्को घरसँग जोडिएर बनेका छन् र गुचुमुच्‍च परेका छन् । माटोको छानो छ सबै घरमा । गाउँको तल पुछारबाट सेम्ताङ खोला उत्तरतिर बग्दछ । जाडोयाममा धाराको पानि जम्दछ र खोलाबाट पानी बोक्छन् दैनिक प्रयोगका लागि । अलि परपट्टि जिम्मु उम्रिने ठाउँ देखाइन छिमी लामाले । धर्मशाला नजिकको जङ्गलबाट काठ ल्याएर घर निर्माण गर्नु पर्ने भएकाले घर निर्माण सजिलो छैन नार गाउँमा ।

स्थानीय बासिन्दा बाहेक नारगाउँमा फाट्टफुट्ट मात्र बाहिरी मान्छे पुग्छन् । भ्रमणका लागि जाने पर्यटक चाहिँ मनाङबाट काङ्ला पास गर्ने नार पुगेर फु गाउँसम्म जान्छन् र फर्कन्छन् । ४१२० मिटरमा रहेको यो नार गाउँ ट्रेकिङमा जाने पर्यटकहरू भित्र्याउने प्रसस्तै सम्भावना बोकेको छ । त्यसकारण पर्यटकलाई लक्षित गरेर यहाँ २-४ वटा होटलहरू बनेका छन् आजकल । 

बेमौसमी फिल्डवर्क

हामी लामो यात्राको तानाबाना बुन्दै नार गाउँ पुगेका थियौँ । हाइ अल्टिच्युडका कारणले हामीलाई सुत्‍न असहज महसुस भएको थियो । औषधीको जोसो गरेका हुनाले हामीलाई धेरै गाह्रो चाहिँ भएन ।

हामी गार गाउँ पुग्दा पुरै गाउँ भने यार्सागुम्बा टिप्‍ने तयारीमा जुटेको रहेछ । हामीलाई २ दिनको मात्र समय थियो तथ्याङ्क सङ्कलन गर्ने । हामी पुगेको तेस्रो दिन चाहिँ सिङ्गो गाउँ यार्सा टिप्‍न यहाँ माथिका लेकमा जाने तयारीमा थियो । त्यस वर्ष यार्सा टिप्‍ने शुल्कबाट करिव डेढ करोड रूपैयाँ सङ्कलन भएको थियो । लेक अनुसारको शुल्‍क तिरेर किरा टिप्‍न जान पाइने रहेछ ।

यसै बिचमा २ दिनमा काम सक्यौँ तथ्याङ्क सङकलन गर्ने। यार्सागुम्बा टिप्‍नको लागि गाउँको भेला पनि त्यही समयमा डाकिएको थियो । नारबासीहरू यार्सागुम्बा टिप्‍न जानका लागि केही दिनको खानाको बन्दोबस्त, लुगाहरूको चाँजोपाँजो मिलाउँदै  थिए । यार्साका लागि खुला गरेको सूचनापछि म्याराथुन दौडमा जस्तै मानिसहरूले यात्रा सुरु गरेको देखिन्थ्यो । कुनै एक महिलाको पिठ्युँमा बच्चा थियो यार्सा टिप्‍न जाँदा र बच्चाले सानो कुटो बोकेको समेत देखियो ।

यार्सा टिप्‍ने अनुमति पाए पछि कसैले बच्चाबोकेर त कोही आफ्‍नै धुनमा लेकतिर लागेको देखियो । विद्यार्थी कन्चन कार्कीले आफ्नो शोधपत्रका लागि सूचना सङ्कलन गरिन् । त्यहाँबाट सङ्कलित सामग्री विश्‍लेषण गरिएको सामग्री डिजिटल आर्काइभमा सुरक्षित गरिएको छ । हामीहरूले यार्सा टिप्‍न जानेको लस्कर हेर्‍यौँ । हामी भाषाका विशेषता खोज्दै नार पुगेका थियौँ, नारभाषीहरू यार्साको खोजीमा लेकतिर लागे । हामी पनि अर्को दिन त्यहाँबाट फिर्ता भयौँ ।
 

नार-फू कि तामाङरु

नार भाषामा विदेशी विद्वानहरूले अनुसन्धानका प्रारम्भिक काम गरे पनि थोरै नेपालीको मात्र यसमा ध्यान पुगेको छ । माइकल नुनन र उनकी विद्यार्थी (हालकी प्राध्यापक) क्रिस्टिन हिल्डेब्रान्ड्टले गरेको अनुसन्धानलाई मात्र आधार मान्दा पनि यो अलग्गै भाषा हो ।

मनाङे र गुरूङ अनि तामाङसँग पनि यसका केही विशेषता मिल्छन् । नार र फू गाउँमा बोलिने भाषामा केही भेद देखिए पनि यी दुई गाउँका भाषालाई समष्टिमा नार(फू भाषा भनेर चिनिन्छ । शब्दभण्डारमा चाहिँ नारमा बोलिने भाषा तामाङी समूहका भाषामा जस्तो विशेषता र फू गाउँमा बोलिने भाषामा चाहिँ तिब्बती भाषा निकटका विशेषता रहेको पाउन सकिन्छ ।

दुर्भाग्यवस नेपाल सरकारको खर्च हुने अनुदानबाट यो भाषाको काम शून्य छ । समुदाय लाभान्वित हुने सामग्री कत्ति पनि तयार भएका छैनन् । यो समूह न त आदिवासी जनजातिको सूचीमा सूचीकृत छ न त यहाँको भाषा अलग्गै रूपमा सूचीकृत छ । भौगोलिक हिसावले दुर्गम भएका कारणले हुन सक्छ नेपाल सरकार मार्फत गर्ने गराउने काममा समेत यस भाषाको अध्ययन हुन सकेको छैन ।

विगतको जनगणनामा यस ठाउँको भाषालाई तामाङ भाषा भनेर सूचीकृत गरिएको छ । हामीले लिएको तथ्याङ्कमा चाहिँ नारगाउँका बासिन्दाले आफ्‍नो भाषलाई नार(फू (वा नार) मात्र भनेका छन्। त्यस गाउँका भाषालाई तामाङ भाषा भनेर भन्दै भनिँदैन । तर जनगणनाको सूचीकरणमा चाहिँ अर्कै छ । जनगणनाका गणकहरू गाउँमै नपुगी विवरण त सङ्कलन गर्देनन् भन्‍ने आशङ्का यहाँनेर आउँछ । विडम्बना भन्‍नुपर्छ ( कतै हुँदै नभएका भाषा सूचीकरणमा परेका छन् । अर्कातिर भौगोलिक दृष्टिकोणले विकट गाउँबस्तीका भाषाको खोजखवर हुन बाँकी छ । आगामी तथ्याङ सङ्कलनमा चाहिँ यस समस्याबाट मुक्त हुनुपर्छ ।

नेपालमा कति भाषा बोलिन्छन् ? हामीसँग यसको निश्चित उत्तर छैन, अनुमान मात्र छन् । विद्वानले यति भन्छन् भनेर अरूका विचारबाट निर्देशित छौँ अहिलेसम्म । नेपालमा गरिएका प्रयासले यो प्रश्‍नको उत्तर दिने गरि नतिजामूखी प्रयास हुन सकेका छैनन् । फेरि एकपटक सोच्‍ने बेला आएको छ ( हामीले अरूका विचारमा मात्रै भाषाको सङ्ख्या र नाम दिँदै जाने कि व्यवस्थित सर्वेक्षण मार्फत नेपालका भाषाको वस्‍तुगत विवरण उजागर गर्ने ? यसकारण आगामी जनगणनामा भाषासम्बन्धी सूचना सङ्कलन गर्दा नार(फू जस्ता भाषाहरू बहिष्करणमा नपरून् भन्‍ने हो । अब गरिने अनुसन्धानका काम सजिला र सुगम क्षेत्रमा बोलिने भाषाबाट नभई सङ्कटमा परेका, बहिष्करणमा परेका काठमाण्डौँमा हुने गोष्ठी र अनुदान अनि राष्ट्रिय जनगणनामा समेत नसमेटिएका सुरु गर्ने बेला आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...