बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीका दुई वर्ष : मधेशी दलमाथि खेल्न सफल, जनविश्वास जित्न असफल

शनिबार, ०३ फागुन २०७६, १७ : १७
शनिबार, ०३ फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा सरकार गठन भएको आज ठीक २ वर्ष भएको छ । ०७४ फागुन ३ गते तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीको शपथ लिएका थिए ।
यो दुई वर्षको कार्यकाल पूर्ण सफल भएको दावी सरकार नेकपाले गरेको छ  । तर सरकार सफल भएको भनिए पनि जनतामा त्यसखालको सन्देश गएको छैन । 

यो कुराको पुष्टि  नेकपाका हालै सम्पन्न  (माघ १५–१९) केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले उठाएकाले प्रश्नले पुष्टि हुन्छ । प्रधानमन्त्री ओलीले मधेशको पनि समस्या समाधान गरेको आफ्नो उपलब्धीमा बताउँछन् । मधेश आन्दोलन, नाकाबन्दी अन्त्यदेखि विखण्डनको बाटोमा रहेका सिके राउतलाई मूलाधारको राजनीतिमा ल्याउन सफल भएको पनि आफ्नो दुई वर्षे कार्यकालको उपलब्धीमा समावेश गरेका छन् ।


हुलाकी सडक निर्माणदेखि रेल सञ्चालन, तराई मधेश समृद्धि कार्यक्रम, नीजगड विमान स्थल लगायतको काम मधेशमा भइरहेको भनि सुनाउछन् । तर, मधेशका जनताले त्यसको अनुभूति गरेको छैनन् । वर्तमान सरकारले मधेशमा विकास वा केही गरेको छ भन्ने कुरामा विश्वास नै गर्दैन् । विकासको केही अनुभूति नै गरेको छैन भन्नेहरुको पनि कमी छैन । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेशमा दमन, हत्या, विभेद गर्नुबाहेक अरु नकेही नगरेको आरोप लगाए । प्रधानमन्त्री ओलीले मधेशलाई ठग्ने काम मात्र गरेको बताउँदै उनले मधेशीप्रति अ‍ोलीको सोचाई नै नकारात्मक रहेको बताए । उनले भने, ‘म केही दिन ओली नेतृत्वको सरकारमा पनि बसेँ । उहाँको सोच, उहाँको काम गर्ने शैली, मधेशलाई हेर्ने दृष्टिकोण हरेक कुरालाई निजकबाट हेर्ने मौका पाएको छु ।’

प्रधानमन्त्री ओलीमा मधेशमा आफूले पनि केही गर्न नचाहने र अरुलाई पनि केही गर्न नदिने सोचका रहेको बताउँदै अध्यक्ष यादवले मधेशको मुख्य मुद्दा संविधन संशोधनको विषय नै सुन्न नचाहेको कुरा छर्लङ भएको बताए ।

उनले भने, ‘जुन कुरा गर्छु भनि त्यसमा उहाँले हस्ताक्षर गर्नुभएको छ, त्यही कुरा गर्दिन भन्नु सोचबाट नै त्यो मान्छेको नियत स्पष्ट हुन्छ । हुन त देशैंमै विकास भएको छैन तर मधेशको अवस्था झन खराब छ ।’ उनले प्रधानमन्त्री ओलीको पालामा देशैभरि सबभन्दा बढी भएको काम नै भ्रष्टाचार रहेको आरोप लगाए ।  

मधेश मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोरले पनि प्रधानमन्त्री ओलीले मधेशको बारेमा जेजति ठूला ठूला कुरा गरे ती कुनै पनि पूरा नभएको गुनासो गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीको जति प्रदेश २ को सरकारमाथि जति ध्यान छ, त्यति ध्यान त्यहाँको विकास निर्माण, शान्ति सम्झौता कार्यान्वयन, अधिकार, पहिचान लगायतको मुद्दामा देखिँदैन । उहाँ प्रदेश २ मा रणनीतिक ढंगबाट सरकारमा छिर्ननेतिर केन्द्रित हुनुन्छ ।’


चन्द्रकिशोरका अनुरसार प्रदेश २ को सरकार कति छिट्टो बनाई हालौं भने ध्येय प्रधानमन्त्री ओली र उनको पार्टी नेकपाको रहेको छ । त्यो भन्दा बढी कुनै कुरामा मधेशमा ध्यान नदिएको उनको बुझाइ छ । 
गत सालको भदौं २ गते प्रदेश सभामा सम्बोधन गर्दा उनले संविधान संशोधन गर्नेदेखि लिएर रामराजप्रसाद सिंह अस्पताल बनाउने, हुलाकी सडक, रेल मार्ग जस्ता काम गर्ने प्रतिवद्धता जनाएका थिए तर ती मध्ये हालसम्म केही नगरेको पत्रकार चन्द्रकिशोरको टिप्पणी छ ।

उनले भने, ‘मधेशका दुई दललाई साढेको जस्तो खेलाउनु भएको छ । कहिले एउटा उचाल्नुहुन्छ भने कहिले अर्कोलाई पछार्नुहुन्छ, कहिल एउटालाई उचाल्नुहुन्छ भने कहिले अर्कोलाई पछानुहुन्छ । उहाँ रणनीतिक रुपमा मधेशमा सफल भएपनि विकास तथा मुद्दाको हिसाबले असफल हुनुभयो ।’
मधेशमा दलहरुलाई व्यवस्थापन गरे तर मधेशलाई व्यवस्थापन गर्न नसकेको उनले बताए । ‘मधेशमा दलहरुलाई व्यवस्थापन गर्न सफल हुनु भयो । सिके राउतलाई मूलधारमा ल्याउनु भयो , अन्य हतियारधारी समूहलाई शान्त पार्नुभयो । अन्य मूलधारको पार्टीलाई व्यवस्थापन हुनुभयो । तर मधेशलाई व्यवस्थापन गर्न सक्नुभएन,’ चन्द्रकिशोरको बुझाइ छ ।

यस्तै मधेश मामिलाका जानकार तुलनारायण साहको बुझाइ पनि त्यस्तै त्यस्तै छ । दुई वर्षको अवधिमा प्रधानमन्त्री ओली मधेशमा रणनीतिक रुपमा सफल भएको उनले बताए । '

मधेशमा प्रधानमन्त्रीको नाम सुन्न चाहँदैन थिए । त्यहाँ आज आफ्नो सरकार बनाउने हैसियतमा पुग्नु चानचुने कुरा होइन । त्यति मात्र होइन, मधेशका मुलधारका दलहरुलाई आफ्नो बसमा पार्न सफल पनि हुनुभयो,’ साहले भने, ‘मधेशका कुनै एउटा दल चाहिएको थियो, उपेन्द्र यादव नेतृत्वको दललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री सफल हुनुभयो । जब समाजवादी पार्टीले सम्झौताहरु कार्यान्वयन गराउन दवाव दिन थाल्यो अनि त्यो दललाई फालेर अर्को दलसँग हिमचिम बढाउन थाल्नुभयो, उता सिके राउतलाई मूलाधारमा ल्याउन सफल हुनुभयो ।’

मधेशको मुख्य माग संविधान संशोधन भए पनि ओलीले त्यसमा सिन्को समते नभाचेको उनले बताए ।‘मधेशको मुख्य माग संविधान संशोधन भए पनि त्यसमा एउटा सिन्को समेत भाच्नु भएको छैन । यो दुइ वर्षको अवधिमा संविधान संशोधनको एउटा प्रकृया शुरु गरिदिएको भए पनि मधेशी जनतालाई सन्तोष गर्ने एउटा वा बहाना हुन्थ्यो । तर मधेश अझै अशान्त छ । मधेशको विश्वास जित्न सक्नु भएको छैन ।’


अहिले पनि मधेशी जनताले ओली सरकारप्रति खुलेर भरोस गर्ने अवस्था नहरेको भन्दै त्यो भरोस गुमाउने काम स्वयं ओलीले नै गरको उनको टिप्पणी छ । मधेशका लाइफलाइनका रुपमा रहेको हुलाकी सडकको अवस्था जस्ताको त्यस्तै भन्दै त्योमा प्रधानमन्त्रीले मतलब नै नगरको उनको आरोप छ ।

‘उपेन्द्र यादवजी स्वास्थ्यमन्त्री भएको बेला राजविराजमा मेडिकल कलेज खोल्ने कुराको शुरुवात भयो । त्यसका केही कामहरु पनि शुरु भएका छन् । तर उहाँ मन्त्री पदबाट हट्नुभयो छ । अब त्यो बन्छ कि बन्दैन ? सञ्चालनमा आउँछ कि आउँदैन ? अन्योल छ,’ उनले भने, ‘जनकपुर प्रादेशिक अस्तापललाई मेडिकल कलेज बनाउने कुरा पनि गरिएको थियो । तर त्यसको पनि अत्तोपत्तो छैन । त्यो पनि बन्ने हो कि नबन्ने हो भर छैन ? नीजगढमा विमानस्थल बनाउने कुरा भएको छ, तर वतावरणीय दृष्टिकोणले त्यो विवादमा तानिएको छ । त्यो पनि हुने हो कि होइन भने अन्योलमै छ ।’

प्रधानमन्त्री ओलीले  मधेशका लागि केही नगरेको साहको टिप्पणी छ । पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेशमा मात्र नभइ ओली देशमै चलाउन नै असफल भएको बताए । 
प्रधानमन्त्री ओलीसँग ऐतिहासिक अवसर थियो । तर उहाँले ती सबै गुमाउनु भयो,’ उनले भने, ‘नेपालकै इतिहासमै उहाँलाई जतिको अवसर कसैलाई आएको थिएन । उहाँले जे गर्न चाहन्थ्यो त्यही हुन्थ्यो । काम गरेर देखाउने योभन्दा अर्को मौका अब आउँदैन । यसमा उहाँ चुक्नुभयो,’ उनले भने ।

प्रधानमनत्री ओलीले आफ्नो पार्टीको झगडा मिलाउँदैमा समय खेर फालेको उनको बुझाइ छ । उनले भने, ‘पार्टीमा कहिले के मिलेन, कहिले के मिलेन भन्दै दुई वर्ष गएको कुरा प्रधानमन्त्रीलाई पतो भएन । उहाँले मधेशलाई आफ्नो प्राथमिकतामा नै राखेको कुरा पटक–पटक पुष्टि भएको छ ।’

उनले थपे, ‘समाजवादी पार्टी जो दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेर सरकारमा सहभागी भएको थियो तर त्यो दलका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको हैसियतमा संविधान संशोधनको विषयमा छलफल गर्न कार्यदल बनाउने प्रस्ताव लग्दा प्रधानमन्त्री ओलीले कस्तो व्यवहार गरे ? त्यो कसैबाट लुकेको छैन । यसैबाट प्रष्ट हुन्छ कि प्रधानमन्त्री ओली मधेशप्रति सकरात्मक छैनन भनेर ।’

६ वटा प्रदेशमा सरकार बनाएको नेकपाको अर्को मिसन प्रदेश २ मा सरकार बनाउने रहेको बताउँदै कर्णले यसको प्रकृया शुरु गरिसकेको र त्यहाँका दललाई ट्रयापमा समेत पारिसकेको उनले बताए । 
प्रधानमन्त्री ओलीले जेजस्तो ठूलो कुरा गरेपनि यो दुई वर्षमा मधेशको विश्वास जित्न नसकेको उनले बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओली मधेशप्रति उदार नरहेको टिप्पणी गरे । ‘कतिपय विकास त त्यतिकै पनि हुन्छ । सरकार भए पनि, गर्न चाहे पनि नचाहे पनि भइरहन्छन् । तर यो सरकारले देखिने गरि मधेशका लागि कुनै पनि काम गरेन ।’

प्रधानमन्त्री ओलीले दुई वर्षमा मधेशमा यो–यो काम भएको भन्न सक्ने अवस्था नरहेको कर्णले दावी गरे । ‘अरु ठाउँमा यो  गरेँ, त्यो  गरेँ भने पनि मधेशमा भन्ने खालको केही गर्नु भएको छैन,’ उनले भने, ‘मधेशको शुरुदेखिको माग संविधान संशोधन नै हो । तर त्यसमा ओली सरकारले केही पनि गरेको छैन ।’ मधेशको दृष्टिमा ओली सरकार असफल रहेका कर्णको बुझाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप