बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट नेपाली फर्किएपछि ‘मास्कमय’ खरिपाटी : सरकारको कमजोरीले त्रासमा स्थानीय (भिडियो)

खरिपाटी क्वारेन्टाइनमा यस्तो छ व्यवस्थापन
आइतबार, ०४ फागुन २०७६, १३ : ४१
आइतबार, ०४ फागुन २०७६

भक्तपुर । ‘हाम्रै नेपाली छोराछारी हुन् । नराख भन्न सकिँदैन । यहाँ राख्नु अगाडि पनि सरकारले चेतना फैलाएन । हामीलाई थाहा छ रोगी ल्याएको होइन । तर, समाजमा सबै पढेका जानेका छैनन्, माइकिङ्ग गरेर हुन्छ कि घरघर पुगेर सरकारले चेतना फैलाउनु पर्दछ’, चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीका स्थानीय शालिकराम छामिछानेले आइतबार रातोपाटीसँग कुरा गर्दै भने ‘जनचेनताको कमी भयो, सबैमा एक प्रकारको त्रास फैलिएको छ ।’

 चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आइतरबार बिहान ५ः३० बजे प्रहरीको सुरक्षाघेरमा रहेर चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएको हो । 

‘वरपर बस्ती छ । तालिम केन्द्रको पर्खालमा मेरो घर जोडिएको छ, तर कोही मानिस हामीलाई वास्तविकता यस्तो हो भनेर बुझाउन कोही आएन’, स्थानीय उषा बस्नेतले भनिन् । खरिपाटीमा राखिएकोमा स्थानीयको आक्रोश जति छ, त्यो भन्दा धेरै सरकारले जनचेतना फैलाउन नसकेकोमा देखिन्छ । 

नेपाल वायुसेवा निगमको विशेष विमानमा राखेर १७५ नेपालीलाई उद्धार गरिएको हो । जसमा १ सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार रहेका छन् ।

चार वटा बसमा १ सय ७५ जनालाई बासँबारी खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, कोपाइलट, परिचारिका तथा स्वीपरसहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ पिपलबोट स्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिन राखिने छ । 

खरिपाटी क्वारेन्टाइनमा यस्तो छ व्यवस्थापन

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा.नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली रहेको छ । जहाँ सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ । 
एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जनासम्म बस्ने छन् । 

तालिम केन्द्रको दक्षिणतर्फ रहेको क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ । 

शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ । दैनिक सरसफाईमा आवश्यक पर्ने वासिङ मेशिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रसको व्यवस्थान कोठाभित्र नै गरिएको छ ।

क्वारेन्टाइन बस्नेले यी कुरा पालन गर्नुपर्दछ 
क्वारेन्टाइनमा १४ दिनसम्म बस्नु पर्दछ । पहिलो दिन स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य जाँच एवम् रगत संकलन गरिनेछ । अरू दिन व्यक्ति स्वयम्ले स्वजाँच गर्न मिल्ने थर्ममिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ ।

मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोर्ट पनि निर्माण गरिएको छ  । अन्य खेलमा क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । 

कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

प्रत्येक दिन बिहान खाजा, खाना ११ बजे, खाजा ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । फोहरलाई तोकिए बमोजिम सुरक्षित ढंगबाट व्यवस्थापन गर्नुपर्नेछ । 

स्थानीयको लागि नजिकै अस्थायी स्वास्थ्य केन्द्र 
क्वारेन्टाइनबाट करिब ३ सय मिटर पूर्वतर्फ रहेको सामुदायिक भवनमा स्थानीय बासिन्दाको लागि निःशुल्क स्वास्थ्य जाँच केन्द्रको व्यवस्था गरिएको छ । जहाँ भक्तपुर अस्पतालका चिकित्सहरु खटिनेछन् । जसमा एक जना डाक्टर, एक नर्स र एक एम्बुलेन्स चालकले बिहान ९ बजेदेखि ३ बजेसम्म बस्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप