शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निमोनिया देखिएका एल्टन जोनले कन्सर्टको बीचमा रुँदै भने, ‘म गाउन सक्दिनँ, सरी’

सोमबार, ०५ फागुन २०७६, १२ : २६
सोमबार, ०५ फागुन २०७६

सर एल्टन जोन न्यू जिल्याण्डमा आयोजित कन्सर्टमा बिरामी भएपछि कार्यक्रम बीचमै रोकिएको छ ।

आइतबार अकल्याण्डको माउन्ट स्मार्ट स्टेडियममा आयोजित कन्सर्टको बीचमा नै ७२ वर्षे संगीतकारले गाउनै नसकेपछि कार्यक्रम छोटिएको हो ।

‘मैले आफ्नो स्वर पूर्ण रुपमा गुमाएँ । म गाउन सक्दिनँ,’ सर एल्टनले भीडलाई भने । ‘म अब जानुपर्छ, मलाई माफ गर्नुहोस् ।’

सर एल्टन रुँदै आफ्नो पियानोतिर झुके र टाउको हल्लाए ।

थुप्रै सहयोगीको मद्दतमा स्टेजबाट बाहिरिने क्रममा त्यहाँ उपस्थिती दर्शकले उनलाई उभिएर सम्मान प्रकट गरे ।

सर एल्टनले आफ्ना दर्शकलाई आफूमा ‘वाकिङ निमोनिया’ देखिएको जानकारी दिएका थिए ।

वाकिङ निमोनियालाई ‘अटिपिकल निमोनिया’ पनि भनिन्छ । यो ब्याक्टेरिया वा भाइरसका कारण फोक्सोमा देखिने एक प्रकारको संक्रमण हो ।

यो अन्य निमोनियाभन्दा कम घातक हुन्छ । कतिलाई त स्वास्थ्य उपचार पनि आवश्यक पर्दैन । यसको लक्षण चिसो लागेको जस्तै हुन्छ जसमा खोसी, छाती दुख्ने, घाँटी सुन्निने र टाउको दुख्ने लगायतका समस्या देखा पर्छन्  ।

कार्यक्रमको बीचमा सर एल्टन जोनलाई स्वास्थ्यकर्मीले परीक्षण पनि गरेका थिए । बिरामी हुँदासमेत उनले ‘क्यान्डलल इन द विन्ड’ र ‘अल द गर्ल लभ एलिस’ जस्ता गीत गाएका थिए ।

तर उनले कार्यक्रम अवधिभरीका लागि गाउन सकेनन् ।

स्टेजबाट बाहिरिएको केही समयपछि सर एल्टनले आफ्ना प्रशंसकका लागि इन्स्टाग्राममा निकै भावुक तरिकाले माफी मागेका छन् ।

‘मैले आफूले सक्दो बजाएको र गाएको हुँ तर मैले अन्तिमसम्म गाउनै सकिनँ । म दुःखी छु, अत्यन्तै मर्माहित । यसका लागि माफी माग्छु । मैले गर्न सक्ने जति गरेको हुँ । तपाईंहरुको असाधारण समर्थन र आजको कार्यक्रममा तपाईंले देखाउनुभएको माया प्रति कृतज्ञ छु । म असाध्यै ऋणी छु । माया । एल्टन ।’ उनले लेखे ।

सोसल मिडियामा कन्सर्टमा गएकाहरुले ती गायकप्रति सहानूभुती व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप