शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार ढल्ने ‘मनोवैज्ञानिक त्रास’मा प्रधानमन्त्री ओली !

सरकारलाई कताबाट खतरा देखे प्रधानमन्त्री ओलीले ?
सोमबार, ०५ फागुन २०७६, १३ : ४९
सोमबार, ०५ फागुन २०७६

सुदर्शन आचार्य/फणिन्द्र नेपाल  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न शक्ति केन्द्रहरु सरकार ढाल्ने षड्यन्त्रमा लागेको अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा एकाएक नयाँ तरङ्ग सिर्जना भएको छ । प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि के साँच्चै सुविधाजनक बहुमत प्राप्त सरकार अप्ठ्यारोमा परेको हो ? या देशीविदेशी शक्तिहरुले कुन शक्तिलाई उचालेर षड्यन्त्र गर्दैछन् ? भन्ने गम्भीर प्रश्न उठ्न पुगेका छन् । 

प्रधानमन्त्री ओलीले झण्डै दुई तिहाइ बहुमतको सरकारलाई कसले र कसरी ढाल्ने प्रयत्न गरिरहेको छ भन्ने प्रष्ट नखुलाए पनि उनले सरकारविरुद्ध षड्यन्त्र भइरहेको खुलासा गर्नु चाहिँ आफैँमा अर्थपूर्ण रहेको विश्लेषकहरुले विश्लेषण गरेका छन् । 

कसरी उठ्यो सरकार ढाल्ने कुरा ? 
आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई लाग्ला– बहुमत छ, बहुमत भए पनि फर्की–फर्कीकन उनीहरु फेरि यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् ।’

प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्ण बहुमत छ । यस्तो अवस्थामा वर्तमान सरकारको विकल्प खोज्ने वैधानिक आधारहरु अत्यन्त कमजोर देखिन्छन् ।

अर्कोतिर प्रधानमन्त्रीबाट आएको टिप्पणीलाई हलुका रूपमा लिन पनि मिल्दैन । त्यसैले पनि प्रधानमन्त्रीले यत्तिकै बिना सङ्केत, बिना अनुभूति टिप्पणी गरिहाले होलान् भनेर उनका भनाइका अन्तर्यलाई नजरअन्दाज गर्न मिल्दैन । 

वर्तमान सरकार ढाल्न कति सम्भव ?
संसदमा स्पस्ट बहुमत भएको बेला निश्चित समयावधि अगाडि नै सत्ता परिवर्तनका लागि या क्रान्ति हुनु पर्‍यो, या त सरकारविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव पारित हुनुपर्छ । 

मुलुकमा अहिले यो दुवै अवस्था छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले क्रान्तिको नारा दिइरहे पनि तत्काल सरकारका लागि त्यति ठूलो चुनौतीका रूपमा लिन सकिँदैन । 

यद्यपि ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरिसकेका कारण संविधानतः सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ । तर सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेका कारण सरकारविरुद्ध यथास्थितिमा अविश्वास प्रस्ताव दर्ता र पारित हुने सम्भावना छँदैछैन ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने परिवेश नरहेको बताउँछन् । सरकार ढाल्ने वैधानिक हैसियत प्रमुख प्रतिपक्षमा रहे पनि अहिले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस सरकार ढाल्न सक्ने हैसियतमा नरहेको उनको भनाइ छ ।

उनले भने, ‘तर पनि प्रधानमन्त्रीले नै यो सरकार कसैले ढाल्न सक्दैन भनेर संसदमा घोषणा गरेको केही घण्टामै गृहनगर झापा पुगेर ‘सरकार ढाल्ने षडयन्त्र भयो’ भन्नुले धेरै अर्थ राख्छ ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि सरकार ढाल्न या त प्रमुख प्रतिपक्ष या सत्तारुढ दलभित्रैबाट उथलपुथल हुनुपर्ने बताउँछन् । ‘त्यो दुवै अवस्था अहिले छैन,’ उनले भने, ‘पार्टीका नेताहरुले पनि सरकार ढाल्छौँ भनेका छैनन् र सुनिएको पनि छैन ।’

त्यसो भए कसले ढाल्छ त सरकार ?
संसदमा प्रमुख प्रतिपक्षी दल निकै कमजोर हुनु, सत्तारुढ दलसँग दुई तिहाइ निकट बहुमत हुनुजस्ता परिस्थितिले सरकार सामान्य अवस्था ढल्न नसक्ने प्रष्ट नै छ । 

‘यस्तो अवस्थामा कसले ढाल्छ त सरकार ? प्रश्न स्वाभाविक रूपमा उठ्छ,’ राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘यदि प्रधानमन्त्रीले सङ्केत पाएर नै बोलेका हुन् भने त्यो अवस्था उहाँकै पार्टीमा हुन सक्छ । त्यसका लागि नेकपा टुट्नु–फुट्नु पर्छ । तर त्यो पनि तत्काल सम्भव देखिँदैन ।’

आचार्यका अनुसार सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिका पछाडि दुईवटा कारण हुनसक्छन् । पहिलो, सभामुखमा अग्नि सापकोटा जबर्जस्त ल्याइनुले एउटै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अविश्वासको ‘जड’ बसेको देखिन्छ । त्यसको पटाक्षेप भनेको प्रचण्डबाहेक अरू कसैले गर्न सक्दैन र त्यो पनि काँग्रेससँग गठबन्धन गरेर मात्रै हुने उनको बुझाइ छ ।

यसरी हेर्दा प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अविश्वासको वातावरण बनेको छ भनेर बुझ्न सकिने आचार्य बताउँछन् । त्यसबाहेक नेपालको भू–राजनीति र अन्तर्राष्ट्रिय राजनीति पनि हाल सन्तुलित नरहेको उनको भनाइ छ । ‘यस्तो बेला खेल्ने भनेको अन्तर्राष्ट्रिय शक्तिले नै हो । अन्तर्राष्ट्रिय शक्तिले खेल्दा काँग्रेससँग खेल्दैनन्, किनकि ऊसँग शक्ति नै छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय शक्तिले खेल्न नपाऊन् भनेर नै दुई पार्टी एमाले र माओवादीबीच एकता भएको हो । नेताहरु आफैँ भनिरहनुभएको छ कि अन्तर्राष्ट्रिय शक्तिलाई खेल्न दिँदैनौँ भनेर ।’

एमसीसी पारित नगर्दा अमेरिका रिसाउने, एमसीसी पारित हुँदा चीन रिसाउने, कालापानी तथा लिम्पियाधुराको मुद्दा उठान नगरे देशभित्र आलोचना हुने, मुद्दा उठाउँदा भारत रिसाउने जस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिहरु ओली सरकारका लागि जटिल बनिरहेको छ । कतै तिनै शक्ति केन्द्रहरुले नेकपाभित्र विभाजन ल्याउने प्रयास गरिरहेको अनुभूति प्रधानमन्त्री ओलीलाई भएको त होइन भन्ने आशङ्का पनि स्वाभाविक रूपमा उब्जिएको छ ।

किन बोले त प्रधानमन्त्रीले ?
झट्ट हेर्दा सरकारको निरन्तरताका लागि आवश्यक सबै वैधानिक आधारहरु अनुकूल रहँदा रहँदै पनि प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षडयन्त्र भइरहेको कसरी महसुस गरे ? प्रश्न उठ्नु स्वाभाविक हो ।

विश्लेषक श्रेष्ठका अनुसार प्रधानमन्त्रीमा आत्मविश्वासको कमीका कारण पनि यस्तो अभिव्यक्ति आएको हुन सक्छ । ‘लघुताभाषका कारण त्यस्तो अभिव्यक्ति आएको हो । नत्र अहिले कसैले पनि सरकार ढाल्नेवाला छैन,’ उनले भने, ‘यो आधारहीन कुरा गरेर प्रधानमन्त्रीले आफूमाथि लागेको असफलताको आरोपलाई अन्यत्र मोड्न खोजेको पनि हुनसक्छ । शासकहरुले यस्ता फन्डा यसअघि पनि बेलाबेला गर्ने गरेका धेरै उदाहरण छन् ।’

प्रधानमन्त्रीको उक्त भनाइले सरकार राम्रोसँग चलेको छैन भन्ने पुष्टि भएको विश्लेषक श्रेष्ठको दाबी छ । ‘यसरी आशङ्का र आधारहीन कुरा गरेर आफैँले आफैँमाथि अविश्वास पैदा गरेर कमजोर हुने काम गर्नुहुँदैन,’ उनले भने ।

दुई वर्षको अवधिमा प्रधानमन्त्रीको ‘नुर’ गिरेको जिकिर गर्दै उनले सभामुख चयन लगायतका विषयमा प्रधानमन्त्री आफैँले आशङ्का पैदा गरेको बताए । 

‘ती कुरामा त्यसरी उहाँले अडान राख्नु नै हुँदैनथियो,’ उनले भने, ‘जब कि सभामुख पूर्वमाओवादीको भनेर पहिल्यै टुङ्गो लगाइसकेको विषय हो ।’

देखाउन मिल्ने र संसारलाई ‘सरकारले यो काम गर्‍यो है’ भनेर भन्न सक्ने अवस्था पनि प्रधानमन्त्रीसँग नरहेको उनले बताए । पार्टीमा समेत प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा पुुगेपछि यस प्रकारको अभिव्यक्ति आएको उनको बुझाइ छ ।

विश्लेषक आचार्यका अनुसार सभामुख चयन प्रकरण पेचिलो बन्नु, एमसीसी अनुमोदनमा विवाद हुनु, कालापानी लगायतका सीमासम्बन्धी विषयमा भारतको अडान र एमसीसीलाई लिएर चीनको अडानका कारण प्रधानमन्त्रीलाई मनोवैज्ञानिक त्रास परेको हुनसक्छ । 

‘त्यसकारण प्रधानमन्त्री ओलीलाई सत्ता जाने मनोवैज्ञानिक त्रास आउनु स्वाभाविक हो,’ उनले भने, ‘तर यस्तो बेला नेपालको राजनीति र शासनसत्ता स्थिर राख्ने भनेको प्रधानमन्त्रीले नै हो । प्रधानमन्त्री आफैँ यसरी बोल्दा त्यो षड्यन्त्रमा लाग्नेहरुलाई थप बल पुग्न सक्ने खतरा रहन्छ ।’

पार्टीभित्र पकड गुम्दै
वनको बाघ आओस् या नआओस्, पछिल्लो समय प्रधानमन्त्री ओली मनको बाघबाट निकै त्रसित देखिन्छन् । अर्थात्, प्रधानमन्त्री ओली आफ्नै पार्टीका कयौँ नेता–कार्यकर्ताको टिप्पणीबाट सशंकित हुन थालेका छन् । सरकारका कमी–कमजोरी औँल्याउनेलाई प्रधानमन्त्री ओली र उनको टिमले कहिल्यै सकारात्मक नजरले हेर्ने गरेको छैन ।

गत पुस २३ गते वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा भएको जमघटलाई प्रधानमन्त्री ओलीले आफूविरुद्धको गुटबन्दीका रूपमा लिएका छन् । पार्टीभित्र देखिएका अन्तरविरोध, सरकारका काम–कारबाही प्रभावकारी बनाउने, पार्टीलाई कसरी बढी चलायमान बनाउने लगायतका विषयमा नेताहरुबीच छलफल हुनुलाई पनि प्रधानमन्त्री ओलीले आफूविरुद्धको षड्यन्त्रका रूपमा बुझ्न थालेका छन् ।

सीमित घेराभित्रको कुरा सुन्ने, सीमित घेराभित्रबाट गरिएको व्याख्यालाई नै अन्तिम सत्यका रूपमा बुझेर प्रतिक्रिया जनाउने प्रधानमन्त्री ओलीको स्वभावका कारण पछिल्लो समय उनका धेरै सहयोगीहरु टाढिन थालेका छन् । जसले गर्दा उनी स्वयं पार्टीभित्र आफू कमजोर हुँदै गएको महसुस गर्न थालेका छन् । परिणामस्वरूप पार्टीभित्रैबाट कुनै पनि समय आफूविरुद्ध षड्यन्त्र हुन सक्ने भयले उनलाई सताउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप