शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो प्रवेशले नेपाली फिल्ममा क्रान्ति ल्यायो – अभिनेता हमाल

सोमबार, ०५ फागुन २०७६, १५ : १६
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो उपस्थितिले नेपाली फिल्ममा क्रान्ति ल्याएको बताएका छन् । काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको चौँथो दिन आफ्नो कथा सुनाउन उपस्थित हमालले यस्तो दाबी गरेका हुन् । कार्यक्रममा उनले आफ्नो फिल्म यात्रा अद्भूत भएको समेत बताए ।

‘म जतिबेला फिल्ममा भित्रिए, त्यो समय मुस्किलले दर्जन फिल्म बन्थे’ हमालले भने ‘पहिलो फिल्म रिलिज भएपछि १२ वषसम्म लगातार १२ देखि १४ घन्टासम्म काम गरेँ ।’

करिब दुई घन्टा आफ्नो कथा सुनाएका हमालले फिल्म प्रवेश, फिल्म यात्रा र पछिल्लो समयको बिश्रामसँगको कथा दर्शकमा सुनाएका थिए ।

३० वर्ष बढी फिल्म अभिनयमा बिताएका हमालले उत्कृष्ट फिल्म खेल्न नसकेको आरोप पनि लागेको छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नुभयो भने धेरै कमजोरी देख्नुहुन्छ,’ उनले अगाडि भने ‘मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ ।’ जब छनोटको अवसर हुन्छ । तब क्वालिटीको कुरा आउने उनको तर्क थियो ।  उनले फिल्म बनाउन चाँहनेलाई हतोत्साही नगर्न पनि बढी फिल्म खेलेको सुनाए ।

पछिल्लो केही वर्षयता हमाल फिल्म अभिनय गर्न डराइरहेका छन् । उनी पर्दामा नदेखिएको तीन वर्ष बढी भइसक्यो । के हमालले अभिनय छाड्न लागेका हुन् ? हमालले नयाँ शैलीमा आउन चाहेकाले बीचको समयमा अध्ययनमा बिताएको स्पष्ट पारे ।

‘फिल्मको धोको पुग्यो भन्ने लागेको छैन,’ हमालले भने, ‘नयाँ समयमा कसरी आउने भन्ने अध्ययन गरिहेको छु ।’ आफै फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेको सो अवसरमा उनले खुलासा गरे ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको फेस्टिभलको चौथो दिन हमालको सेसनसँगै विभिन्न फिल्म प्रदर्शन भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप