बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी

सोमबार, ०५ फागुन २०७६, १६ : ०२
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । ‘स्वच्छ, स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र मितव्ययी निर्वाचन: शान्ति, स्थिरता,समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा  फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ ।

उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६/०७७–२०८०/०८१), निर्वाचन स्मारिका– २०७६ र निर्वाचन न्याय,स्रोत पुस्तिका– २०७६ को लोकार्पण हुनेछ । विसं २०१५ को संसदीय आम निर्वाचन प्रारम्भ भएको  फागुन ७ को दिनलाई  २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन शुरु गरिएको हो । उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो ।

निर्वाचन दिवसका अवसरमा आयोग र अन्तर्गत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन’ विषयमा फागुन ७ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिनेछ ।

निर्वाचन दिवसका अवसरमा आयोगले मङ्गलबार वृक्षरोपण तथा सरसफाइ, खेलकुद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदानका साथै  निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका प्रकाशित गर्ने जनाएको छ ।

नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अङ्गका रुपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त र अन्य चार जना आयुक्त रहने संवैधानिक व्यवस्था छ । आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया रहेका छन् ।

जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू, जिल्ला सदरमुकामस्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र पत्रकारलगायतको उपस्थितिमा आयोगले ‘निर्वाचनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्नेछ । आयोगका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय छन् । यसवर्ष आयोगले स्थानीय तहका रिक्त पद र राष्ट्रियसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप