बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महरा सर ‘ब्याक टु होम’ : मुस्कान त्यस्तै, शान्त उस्तै

सोमबार, ०५ फागुन २०७६, १९ : १९
सोमबार, ०५ फागुन २०७६

जिल्ला अदालत काठमाडौँले जब निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा फैसला सुनायो तब एकाएक बबरमहलस्थित अदालत परिसर महराका समर्थकको उल्लासमा बदलियो ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा कारागारमा रहेका महराको विषयमा अन्तिम फैसला आउने भएपछि सोमबार बिहान १० बजेदेखि नै अदालत परिसरमा समर्थकको भीड देखिन्थ्यो । यसो त सञ्चारकर्मी र प्रहरीको पनि उस्तै भीड थियो ।

अदालत परिसरमा अरुनै कामले पुगेका तर महराको अन्तिम फैसला आउन लागेकोबारे थाहा नपाएकाहरु भन्दै थिए, ‘कसको केस रहेछ र किन यत्रो धेरै भीड ?’ महरा प्रकरणबारे जानकारहरु भने फैसलाबारे विभिन्न अड्कलबाजी गरिरहेका थिए ।

११ बजेतिर बा२झ ३९७८ नम्बरको गाडीमा महरा अदालतभित्र प्रवेश गरेका थिए । हँसिलो अनुहारका साथ अदालत पुगेका थिए उनी । धेरैले उनलाई नमस्कार गरिरहेका थिए । उनले पनि दुई हात जोडेर नमस्कार फर्काइरहेका थिए । चिनेका सबै जनासँग बोलिरहेका थिए ।

महरा संसद सचिवालयकी महिला कर्मचारीलाई  बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि कारागारमा थिए । महरालाई डिल्लीबजार कारागारबाट अदालत ल्याइएको थियो ।

महरा दुई छोरा र सुरक्षा गार्डसहित जिल्ला अदालतको भवनभित्र प्रवेश गरे । सिधै काठमाडौँ जिल्ला अदालतका न्यायधीश अम्बरराज पौडेलको कार्यकक्षमा पुगे ।

त्यतिबेला चोरी केसमा पक्राउ परेका चार जनाविरुद्ध वकिलहरुले न्यायाधीश पौडेलसमक्ष बयान दिइरहेका थिए । बयान चलिहरेको कारण महराको अन्तिम फैसला तोकिएको समयमा हुन सकेन ।

यही बीचमा महराले ११ः३० बजेतिर नेकपा केन्द्रीय सदस्य रमेश मल्लसँग भेट गरे । मल्लअघि महराले तीन जना व्यक्तिसँग न्यायाधीश पौडेलको कार्यकक्ष अगाडि बसेर कुराकानी गरेका थिए ।

मल्लसँग १५ मिनेटजति कुरा गरेपछि उपराष्ट्रपतिका छोरा दिपेश पुन महरालाई भेट्न पुगे । ५ मिनेटजति दिपेश पुनले महरालाई भेटे । जोकोही सँग भेट्दा पनि महरा हाँस्दै कुराकानी गरिरहेका देखिन्थे ।

यस्तै यताउति आउजाउ र कुराकानीका बीच महराले १२ः२० बजे तिर एक जनालाई बोलाए । महराको मुस्कान त्यस्तै थियो, शान्त उस्तै देखिन्थे ।

यहाँ आउ त ?

ती व्यक्ति महरा नजिकै गए ।

महराले सोधे, ‘बुबा कता छन् ?’

‘गाडी चलाउनुहुन्छ,’ ती व्यक्तिको जवाफ थियो ।

‘राम्रैसँग गाडी चलाएको छ नि ?’ महराले फेरि सोधे ।

मुन्टो मात्र हल्लाए । ती व्यक्तिले अरु केही बोलेनन् ।

नजिकै भित्तामा आड लगाएर बसे ।

ती व्यक्ति थिए, ‘रोल्पाका २३ वर्षीय राजकुमार पुन ।’

राजकुमारका बुबा हुन् सुमन पुन । सुमन महराका निजी चालक भएको बताइएको छ । मन्त्री हुँदादेखि सभामुख हुँदासम्म सुमन महराका चालक रहेको राजकुमारले रातोपाटीलाई बताए ।

हाल सुमनको परिवार पनि महराको निवास नजिकै खुमलटारमा बस्दै आएको छ ।

फैसलाअघि अदालतमा महराले तीन पटकसम्म बसेको ठाउँ परिवर्तन गरे । कहिले उभिएरै समर्थकसँग कुराकानी, कहिले छोराहरुसँग कानेखुसी गरेर बसिरहेको पनि देखिन्थे महरा ।

यहीबीचमा २ बजेतिर बेला नेकपा नेता हिमाल शर्मा पनि महरालाई भेट्न पुगे । उनीहरुबीच एकछिन कुराकानी भयो । लगत्तै पत्रकार ऋषि धमलासँग पनि छोटो कुराकानी गरे ।

धमलासँग कुराकानी गरिरहेकै बेला इजलाशबाट न्यायाधीशले महरालाई बोलाउन लगाए । महरा छोराहरुलाई लिएर भित्र पसे । न्यायाधीश पौडेलेको कार्यकक्षमा पुगेलगत्तै सफाइ पाएको खबर पाए ।

प्रक्रियागत रुपमा भित्र काम सकेपछि २ मिनेटमा बाहिरिएका थिए । सँगै रहेका हिमाल शर्माले महराले सफाइ पाएको खबर पत्रकारहरुलाई जानकारी दिएका थिए । जतिबेला साढे २ बजे बजिसकेको थियो । लगत्तै समर्थकहरुले अदालत परिसरमै खुसीयाली मनाउन थाले । तर, अदालत परिसरमा महराले केही प्रतिक्रिया दिएनन् ।

त्यसपछि...

अदालतबाट सफाइ पाएपछि महरालाई कडा सुरक्षाको बीच ल्याइएकै गाडीमा डिल्लीबजार कारागार लगियो । डिल्लीबजार कारागारमा एक घण्टा महरा व्यस्त भए ।

कारागारभित्रै महरालाई सजाय भुक्तानी गरिरहेका पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइरालाले खादा ओढाएर बिदाइ गरे । विदाईको क्रममा उनीहरुले एक अर्कालाई अंगालो मारेको कारागार स्रोतले बताएको छ ।

कागजी प्रक्रिया पुर्याएर महरा कारागारका आन्तरिक प्रशासन प्रमुख गोकु गिरीसँगै बाहिर निस्किए । महरालाई स्वागत गर्नेहरुको बाहिर भीड थियो । भीडकै क्रममा उनले मिडियालाई छोटो प्रतिक्रिया दिए, ‘कारागारमा बस्ने सबैप्रति मलाई गरेको सद्भाव, व्यवहारप्रति आभार प्रकट गर्दछु ।’

कार्यकर्ता तथा शुभच्छेकुले फूलमाला र खादा ओढाउँदै गर्दा महरा बा१८च ४०० नम्बरको निजी गाडी चढेर सवा ४ बजेतिर निवास खुमलटारतर्फ लागेका थिए ।

महरा निस्केलगत्तै रेशम चौधरीको नाममा नाराबाजी

महरा निवासतर्फ प्रस्थान गरेलगत्तै भीडले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको नाममा नाराबाजी गरेको थियो । नाराबाजीको क्रममा भीडलाई प्रहरीले हस्तक्षेप गर्न खोज्दा सामान्य भनाभन समेत भएको थियो ।

चौधरीको नाममा नाराबाजी हुन थालेपछि प्रहरीले भीडलाई तितरवितर पारेको थियो । यसो त ‘महरा जिन्दावाद र एमसीसी मुर्दावाद’ को नारा समेत लागेको थियो ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप