केन्द्रीय संस्करण
डाक्टरका कुरा

कतै तपाईंलाई डिप्रेसन भएको त छैन ?

यस्ता छन् डिप्रेसनका लक्षण

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ । डिप्रेसन भनेको मनको रोग हो । नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो ।

मानिसलाई सामाजिक रूपमा अशक्त बनाउने रोगमध्ये दोस्रो नम्बरमा डिप्रेसन पर्छ । पुरुषलाई भन्दा महिलालाई बढी डिप्रेसन भएको पाइएको छ ।

वर्तमान समयमा विश्वभर हरेक ४ जनामध्ये १ जनालाई डिप्रेसन हुने गरेको पाइन्छ । नेपाल लगायत विश्वभर डिप्रेसनले प्रभाव जमाउँदै गएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझा बताउँछन् ।

दिक्दार र निराश गराउने डिप्रेसनका बिरामी सहरी क्षेत्रमा धेरै रहने गरेको उनको भनाइ छ । आजभोलि इन्टरनेट र मिडियामा आएका सामग्रीका कारण पनि डिप्रेसनले सताउने गरेको पाइन्छ । सहरी क्षेत्रमा विभिन्न माध्यमबाट थाहा पाएर बिरामीहरु आफैँ उपचार गराउन आउने गरे पनि ग्रामीण क्षेत्रमा कतिपयले बेवास्ता गरेर रोगको उपचार नै नगराउने गरेको चिकित्सकहरुको भनाइ छ ।

पछिल्लो समय डिप्रेसनका बिरामी स्कुल पढ्ने बालबालिका, युवादेखि वृद्धवृद्धासमेत छन् । अचेल आफैँ इन्टरनेटमार्फत डिप्रेसनसम्बन्धी विविध जानकारी पाएर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको मानसिक रोग विशेषज्ञ डाक्टर ओझाको भनाइ छ ।

डिप्रेसनले मानिसलाई अशक्त बनाउँदै गएको छ । त्यसमा पनि डिप्रेसन एनजाइटीको समस्या भएका महिला बढी  छन् । पुरुषहरुमा कडा खालको मानसिक रोग देखिने गरेको  डाक्टर ओझाको भनाइ छ । कडा खालको मानसिक रोग न्यून मात्रामा देखिने उनले बताए । 

नेपालमा कम कडा खालको ‘एनजाइटी डिसअडर’ का बिरामी बढी भएको उनको भनाइ छ । सामान्यतया २५ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिस डिप्रेसनका बिरामी हुने गरेको उनले बताए ।

डिप्रेसन भएको कसरी थाहा पाउने ?

कहिलेकाहीँ उदास हुनु, दिक्क लाग्नु डिप्रेसन होइन । यसलाई ‘मुड डिसअडर’ भनिन्छ । डिप्रेसन मनको रोग हो । नैराश्य भएर मन कमजोर हुनु नै डिप्रेसन हो । मन कमजोर हुुँदा सुख र आनन्द महसुस हुन सक्दैन । धेरैजसो समय दुःखी भएर बस्ने, लगातार २ हप्ताभन्दा बढी दुःखी हुने, नैराश्य भइराख्नु, कुनै कुरामा खुसी हुन नसक्नु, आफूले भनेजस्तो नहँुदा ससानो कुरामा रिसाउने, झिजिने, आत्मबल कमजोर हुने डिप्रेसनका लक्षण हुन् ।

डिप्रेसन बढ्दै जाँदा भोक–निद्रा लाग्दैन, यौन इच्छामा कमी आउँछ । जुन चिजमा रमाइलो लाग्थ्यो, त्यो कुरामा इच्छासमेत जाग्दैन ।

सामूहिक रूपमा गरिएका कुराकानीहरु आफूप्रति नै लक्षित हो कि भनेजस्तो ठान्छन् । यी कुरा लगातार २ हप्तासम्म भए डिप्रेसन भएको हो भनेर थाहा पाउन सकिन्छ ।

डिप्रेसन पीडितले सम्पूर्ण कुरामा आशा मार्छ । जिन्दगी बेकार छ भन्ने महसुस हुन्छ र आत्मबल कमजोर हुने भएकाले किन बाँच्ने, केका लागि बाँच्ने भन्नेजस्ता कुरा मनमा खेलाउन थाल्छ । यस्तो अवस्थामा आफ्नो दैनिक  नियमित कामसमेत गर्न नसक्ने अवस्थामा पुग्छ । 

डिप्रेसन हुने कारण

डिप्रेसन ठ्याक्कै यही कारणले हुन्छ भन्ने हुँदैन । धेरै व्यक्तिलाई धेरै कारणले निरासा हुन सक्छ ।

उदाहरणका लागि 

–परिवारमा आमा, बाबा, हजुरआमा, हजुरबुबालाई कुनै बेला डिप्रेसन भएको थियो भने वंशाणुगत रूपमा हुनसक्छ ।

–उदासीनता, शारीरिक कमजोरी र इच्छाशक्तिको अभावले पनि डिप्रेसन हुन्छ ।

–सामाजिक मनोविज्ञानको कारण पनि डिप्रेसन हुन सक्छ । जस्तै; केटाले केटीलाई पे्रम प्रस्ताव राख्यो तर त्यो प्रस्ताव स्वीकार गरिन र अर्कोसँग डेट गइन् भने त्यहीँ कुरालाई पहाड बनाएर डिप्रेसनमा जाने युवाहरु धेरै छन् ।

— आर्थिक रूपमा बर्बाद हुँदा पनि डिप्रेसनमा जान सक्छन् । जस्तै परिवार स्वयं आफूले अपेक्षा गरेअनुसार अगाडि बढ्न नसक्दा पनि डिप्रेसनमा जान सक्छन् ।

–जीवनमा घट्ने अप्रिय घटना र तनावले पनि डिप्रेसन हुन सक्छ ।

–कुनै शारीरिक रोगहरुका कारणले गर्दा पनि डिप्रेसन हुन सक्छ ।

डिप्रेसनका लक्षणहरु  

–रमाउने, खुसी हुने ठाउँमा बस्न मन नलाग्ने । एकाग्र भएर सोचिरहने, एक्लै बस्न रुचाउने । शङ्का–उपशङ्का गर्ने ।

–कुनै कुरामा चाख नराख्ने, मन उदास अनि दिक्क भइरहने ।

–भविष्य अनि वर्तमानप्रति नैराश्यता छाउने । बाँच्नु बेकार छ भन्नेजस्तो भावना मनमा उब्जिने र आत्महत्या गर्ने विचार आउने ।

–साना केटाकेटीलाई डिप्रेसन भएको खण्डमा झगडा गर्ने, खेल्न नमान्ने, विद्यालय जान नमान्ने आदि लक्षण देखा पर्छ ।

–सामान्य कुरामा पनि झर्को मान्ने, दिक्क मान्ने, निन्द्रा नलाग्ने, चाँडै निन्द्राले छाड्ने ।

–हातखुट्टा, टाउको, छाती, पेट दुख्ने, महिलाहरूको   महिनावारीमा समेत समस्या देखा पर्छ ।

–धेरै कडा डिप्रेसन भएको खण्डमा एउटै अवस्थामा बसिरहने, बोल्न नखोज्ने, बोल्दै नबोल्ने, खाना खान नचाहने हुन सक्छ । 

लगातार दुई हप्तासम्म उल्लेखित समस्या देखिए डिप्रेसन हो ।

डिप्रेसनको उपचार

डिप्रेसन उचित परामर्श गरेर औषधि खाएर निको हुने रोग हो । रोग कसरी लाग्यो भन्ने पत्ता लागेपछि सोहीअनुसार उपचार विधि अपनाउनु पर्छ ।

केहीलाई औषधि र परामर्श आवश्यक पर्न सक्छ भने केहीलाई परार्मश मात्रै भए पनि निको हुन्छ । वंशाणुगत रूपमा भएको डिप्रेसन अलि कडा छ भने नियमित केही समय औषधि सेवन गरे निको हुने डाक्टर सरोज ओझा बताउँछन् ।

डिप्रेसनका बिरामीले औषधि सेवनसँगै अरू सामान्य बिरामी सरह कामलाई पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ छ । ‘रक्तचाप, मधुमेहका बिरामीले औषधि खान्छन्, काम गर्छन्,’ उनी भन्छन्, ‘डिप्रेसनका बिरामीले औषधि खाँदै परामर्श लिँदै काम गर्नुपर्छ ।’

मानसिक समस्यालाई परिवार र समाजले अरू रोगजस्तो सामान्य रूपमा स्वीकार गर्न नसक्दा स्वयंले पनि आफूलाई डिप्रेसन भएको स्वीकार गर्न नमान्ने अवस्था रहेको उनको भनाइ छ । समयमै रोगको पहिचान गरेर उपचार गरेमा छिट्टै निको हुने डाक्टर ओझाले बताए ।

‘नेपाली समाजमा चेनता अभावका कारण डिप्रेसन भएपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत धारणा छ,’ उनले भने, ‘केही समय औषधि सेवन गरेपछि डिप्रेसन पूर्णरूपमा निको हुन्छ ।’

जागरुकताको अभावका कारण पनि धेरै मानिसले डिप्रेसन भए पनि थाहासमेत नपाउने डाक्टर ओझा बताउँछन् ।

अनुमानको आधारमा मात्रै यस रोगको उपचार गरेर हुँदैन । रोगको पहिचान गरेर मात्रै उपचार गर्न आवश्यक पर्ने उनको भनाइ छ । बिरामीलाई आवश्यक पर्ने उपचार पद्धति स्वयं बिरामीसँग र परिवार तथा आफन्तसँग छलफल गरेर उपचार गरिने उनले बताए ।

उपचार गर्ने क्रममा साइकोथेरापीमा नकारात्मक सोचलाई कसरी बदल्ने भन्ने कुरा सिकाइने डाक्टर ओझा बताउँछन् । यसको उपचारका लागि विभिन्न उपचार विधिहरु अपनाइने उनको भनाइ छ ।

यस रोगबाट बच्नका लागि नियमित योग, ध्यान र प्रणायाम गर्नुपर्ने उनको भनाइ छ । हरेक समय सकारात्क सोच, स्वस्थ भोजन र सकारात्मक सोचका साथका अगाडि बढ्नुपर्छ । सकारात्क सोच र शैली योग, ध्यान र प्रणायामलाई निरन्तरता दिएर अगाडि बढेको खण्डमा जीवनशैली ऊर्जामय बनाएर अन्य रोगबाट पनि बाच्न सकिने डाक्टर ओझाको भनाइ छ ।

परिवारको सहयोग आवश्यक

डिप्रेसन भएका मानिसलाई परिवारको साथ, सहयोग अति आवश्यक पर्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले आफू र आफ्नो परिवार कसरी धान्ने भनेर चिन्ता गर्छन् ।

परिवारले बिरामीको मनोभावना बुझेर व्यवहार तथा उपचार गर्न अभिप्रेरित गर्नुपर्ने उनले बताए । पछिल्लो समय आत्महत्या बढ्नुको मुख्य कारण डिप्रेसन भएको उनको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.