शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिजी र प्रकाशजीको फोन कुरेर बसेको छु : कमल थापा

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ३४
मङ्गलबार, ०६ फागुन २०७६

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकीकरणको सबै तयारी पुरा भएको पनि उनले दाबी गरेका छन् । उनले भने, ‘पार्टी एकीकरणमा सबै कुरा मिलेको छ । केलव पशुपतिजी र प्रकाशजीको फोन कहिले आउँछ कुरेर बसेका छौँ ।’  

राप्रपा ५ नम्बर प्रदेश समितिले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले गत चुनावमा काँग्रेससँगको सहकार्यमा इमान्दारिता नहुँदा आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपरेको बताए । ‘काँग्रेससँग सहकार्य गर्नु भूल भयो । निर्वाचनमा सहकार्य गरेको काँग्रेस सहकार्यप्रति इमान्दार भएन,’ उनले भने ।

आउँदो निर्वाचनसम्ममा राप्रपालाई नेकपा र काँग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरेका छन् । राजसंस्थालाई आफ्नो पार्टी सम्मान यथावत रहेको पनि थापाले दोहार्याए ।

फरक प्रसङ्गमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार ढाल्ने षड्यन्त्र कहाँबाट भएको स्पष्ट पार्न माग गरेका छन् । थापाले दुई तिहाईको सरकारले पाँच वर्ष काम गर्ने गरी जनताले मत दिएको बेलाओलीले गृह जिल्लामा पुगेर सरकार ढाल्ने षड्यन्त्र आएको गुनासो गरेपछि सो प्रश्न गरेका हुन् ।

उनले भने, ‘सरकार ढाल्ने षड्यन्त्र विदेशी या स्वदेशी कुन तत्त्वले गरेको त्यो जनतालाई खुलाइदिनुहोस् । कस्तो कहाँबाट षड्यन्त्र भएको हो ?’ उनले प्रधानमन्त्रीको भनाइले तरङ्ग ल्याएको बताउँदै स्पष्ट रुपमा जनतालाई बताइदिन आग्रह पनि गरे ।

थापाले वर्तमान सरकार ५ वर्ष नै चल्नुपर्ने बताए । ‘पछिल्लो १० वर्षमा ११ वटा सरकार बन्दा अस्थिरताले जनता वाक्क भएका छन् । देशमा स्थायित्वका लागि पनि अहिलेको सरकार ५ वर्ष चल्नुपर्छ,’ थापाले भने ।

अध्यक्ष थापाले अमेरिकी सरकारको सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा रहेको स्पष्ट पारेका छन् । एमसीसीप्रति बाहिर आएका आशंकाले जनतामा भ्रम सिर्जना भएकाले त्यसप्रति सरकारको स्पष्ट धारणा आउन आवश्यक रहेको बताए । 

‘सरकारपक्षीय नेताहरूले पनि एमसीसीको विरोध गर्नुभएको छ । यस्ता प्रश्न र आशङ्काले जनतामा भ्रम सिर्जना भएको छ । एससीसीप्रति बुझाउने गरी सरकारले जनतासँग विचार राख्नुपर्छ,’ थापाको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप