बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिले भारत भ्रमणमा आफ्नै कार प्रयोग गर्ने, यस्ता छन् कारका विशेषता

मङ्गलबार, ०६ फागुन २०७६, १३ : ३९
मङ्गलबार, ०६ फागुन २०७६

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत आउँदैछन् । उनी गुजरातको अहमदाबादमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने जनाइएको छ । ट्रम्प भारत आउन अझै ६ दिन बाँकी रहेपनि उनको आन्तरिक सुरक्षामा तैनाथ रहने अमेरिकी सुरक्षाकर्मीका अतिरिक्त ट्रम्पले प्रयोग गर्ने विशेष कार भारतमा आइसकेका छन् ।

अमेरिकी वायुसेनाको विशेष विमानले ट्रम्पको कारका अतिरिक्त सुरक्षाकर्मीको टोलीलाई भ्रमणको एक हप्ता अघिनै भारत ल्याएको हो । ट्रम्पको भ्रमणमा सुरक्षाको कुनै त्रुटि नहोस् भनेर भारतीय सुरक्षाकर्मीले अहमदावादमा विशेष सुरक्षा व्यवस्था लागू गरेका छन् भने ट्रम्पको सुरक्षाका लागि छुट्टै टोलीलाई तैनाथ गरिएको छ । 

ट्रम्पको भ्रमण अवधिमा अहमदावादलाई ‘नो फ्लाइ जोन’ (उडान निषेध क्षेत्र) घोषणा गर्ने तयारीसमेत भएको अधिकारीहरु बताउँछन् । ट्रम्पको सुरक्षाका लागि आकाशमात्र होइन, जमिनमा पनि उत्तिकै सचेतता अपनाइने भारतीय अधिकारीको भनाइ छ ।

आफ्नै कार चढ्नेछन् ट्रम्प

भारतमा भीभीआइपीका लागि सुरक्षाको पूर्ण प्रबन्धसहितका सवारी साधन भए पनि ट्रम्पले भारत भ्रमणका क्रममा आफ्नै कार प्रयोग गर्ने भएका छन् । यस अतिरिक्त ट्रम्पको सुरक्षामा अमेरिकी सुरक्षा एजेन्सी ‘सीआइए’ का करिब २०० एजेन्ट अहमदावाद आइसकेका छन् । उनीहरुले दैनिक अहमदावादको सुरक्षा अवस्था, सम्भावित चुनौती लगायत ट्रम्पले प्रयोग गर्ने बाटो, कार्यक्रम आयोजना हुने स्थल लगायतको निगरानी गर्नेछन् ।

ट्रम्पको कारमा अभेद्य सुरक्षा

विश्वकै शक्तिशाली नेता मानिने अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने कार विशेष रुपले डिजाइन गरिएको छ । ‘आर्म्र्ड लिमोजिन’ नाम दिइएको उक्त कार सन् २०१८ मा राष्ट्रपतिको प्रयोगमा सामेल गरिएको हो । यो कारलाई ‘द बिस्ट’ पनि भनिन्छ ।

यो कार विशेष धातुबाट बनाइएको छ जो कुनै पनि बन्दुकको गोली, बम, क्षेप्यास्त्र हमलालाई समेत झेल्न सक्छ । यो कारको झ्याल पोली कार्बोनेटको पाँच तहबाट बनाइएको छ । यसको सिसा यति बलियो हुन्छ कि कुनै पनि बन्दुकको गोलीले यसलाई छेड्न सक्दैन ।

कारको ढोका पनि विशेष प्रकारको हुन्छ । ८ इन्च मोटो आर्मर प्लेटबाट बनाइएको ढोकाले कुनै पनि प्रकारको हमलालाई झेल्न सक्छ । यसको वजन एउटा बोइङ विमानको केबिनको ढोकाजत्तिकै हुन्छ । कारको झ्याल–ढोका बन्द गरिसकेपछि कारभित्र कुनै प्रकारको रसायनिक ग्याससमेत छिर्न सक्दैन ।

ट्रम्पको कारको बडी पनि उत्तिकै मजबुत छ । यसलाई पाँच इन्च मोटो स्टिल, टाइटेनियम, अल्मुनियम र चिनियाँ माटो मिलाएर बनाइएको हुन्छ, जो आगो तथा अन्य कुनै पनि प्रकारका हमलालाई झेल्न सक्छ । यो कारको इन्धन ट्याङ्क पनि जस्तोसूकै हमलालाई झेल्न सक्ने गरी डिजाइन गरिएको छ । गाडीको तल्लो भागमा पनि स्टिलको पाता लगाइएको हुन्छ, जो भूमिगत अवस्थामा राखिएका विस्फोटक पदार्थबाट हुने क्षतिलाई रोक्न सक्छ ।

अमेरिकी राष्ट्रपतिको कारमा चालकका लागि छुट्टै केबिन बनाइएको हुन्छ । चालकले राष्ट्रपतिको कुनै पनि गतिविधि देख्न सक्दैनन् । केविनमा कम्युनिकेशन र जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिएको हुन्छ, जसको मद्दतमा सुरक्षाकर्मीले राष्ट्रपतिको कारको हरेक सेकेन्डको गतिविधिलाई निगरानी गर्न सक्छन् ।

अमेरिकी राष्ट्रपति चढ्ने कार एक प्रकारले युद्ध ट्याङ्क जस्तै हुन्छ । यो कारमा सुरक्षात्मक प्रबन्धमात्र नभएर आक्रमण गर्न सक्ने हतियारहरुसमेत जडान गरिएको हुन्छ । कारको अघिल्लो भागमा अश्रु ग्यास, ग्रिनेड लञ्चर, नाइट भिजन क्यामेरा जडान गरिएको छ । ‘पम्प एक्सन सट गन’ जस्ता हतियार पनि उक्त कारमा जडान गरिएको हुन्छ ।

गाडीमा अक्सिजन सप्लाइ गर्ने व्यवस्थासमेत गरिएको हुन्छ । यस अतिरिक्त कारमा राष्ट्रपतिको रक्त समूहकै रगतसमेत राखिएको हुन्छ, जो कुनै प्रकारको दुर्घटनामा राष्ट्रपतिलाई रगत दिनुपर्ने अवस्थामा प्रयोग गरिन्छ ।

अमेरिकी राष्ट्रपतिको कार चालक अमेरिकी सिक्रेट सर्भिसका विशेष प्रशिक्षित कमाण्डोले चलाउने गर्दछन् । जस्तोसूकै परिस्थिति र स्पिडमा कारलाई १८० डिग्रीमा मोड्न सक्ने क्षमता भएका अभ्यस्त चालकलाई ट्रम्पको कारको जिम्मा दिइन्छ । ट्रम्पको कारमा एउटा स्याटेलाइट फोन पनि छ, जसको माध्यमबाट उनले जस्तोसूकै परिस्थितिमा अमेरिकी उपराष्ट्रपति र पेन्टागन मुख्यालयमा सम्पर्क गर्न सक्छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप