बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशलाई प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता भएको हो : प्रचण्ड

मङ्गलबार, ०६ फागुन २०७६, २१ : ४१
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुको हातमा देशलाई जान नदिन पार्टी एकता भएको बताएका छन् । उनले पार्टी एकता रातारात नभएको भन्दै यो लामो छलफल र गृहकार्यपछि मात्र सम्भव भएको बताए । 

मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता र कार्यकर्ता, जनता र कार्यकर्ता तथा जनता र सरकारबीच भ्रम छर्न प्रतिक्रियावादी शक्तिहरु लागिपरेको सूचना आफूले पाएको पनि बताए । तर, प्रतिक्रियावादीहरुको त्यो त्यो प्रयास  कुनै पनि हालतमा पूरा हुन नसक्ने बताए । 

बैठकमा सहभागी कर्णाली प्रदेशका एक नेताका अनुसार प्रचण्डले पार्टी एकताको आधार तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धदेखि नै तयार भएको बताएका थिए । 

‘पार्टी एकताको आधार जनयुद्धकालदेखिनै तयार भएको हो । त्यसको साक्षी कमरेड माधव नेपाल हुनुहुन्छ । १२ बुँदे समझदारी हुँदा पनि पूर्व एमाले र माओवादीले आधारपत्र तयार पारेपछि अन्य दलसँग मिलेर अन्तिम रुप दिइएको थियो’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने । 

उनले सीमा विवाद समाधानका लागि सरकार कूटनीतिक च्यानबाट सशक्त रुपमा आफ्नो कुराहरु राख्ने स्पष्ट पार्दै पार्टी बैठकले कालापानीसहितको नक्सा छापेर बाहिर ल्याउने निर्णय गरिसकेको समेत बताए । 

प्रचण्डले एमसीसीबारे गठित कार्यदलको छिट्टै रिपोर्ट पार्टीलाई बुझाउने र  सो रिपोर्ट जनताकै पक्षमा हुने समेत स्पष्ट पारे ।  प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा लगायतको पनि सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप