शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीलाई बंगलादेशमा अध्ययनरत विद्यार्थीको गुनासो : ‘स्पष्ट जानकारी नहुँदा कन्सल्टेन्सीले ठगी गरे’

बुधबार, ०७ फागुन २०७६, १८ : १०
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । बंगलादेशमा एमबिबिएस लगायतका विषय अध्ययन गरिरहेका नेपाली विद्यार्थीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

बंगलादेशमा अध्ययनका क्रममा आउँदा स्पष्ट जानकारी नपाउने अवस्थाको कारण कैयन् नेपाली विद्यार्थीहरु ठगिनुपरेको भन्दै बंगलादेशमा अध्ययनका लागि आउँदा जान्नैपर्ने कुराहरु नेपालमै थाहा दिने व्यवस्था मिलाउन परराष्ट्रमनत्री ज्ञवालीको ध्यानाकर्षण गराएका हुन् । 

बंगलादेशमा अध्ययनका लागि कलेजको भौतिक तथा प्राविधिक पूर्वाधार, कोटा, छात्रवृत्ति लगायतका विषयमा स्पष्ट जानकारी पाउन नसक्दा नेपाली विद्यार्थीहरु ठगिनुपरेको विद्यार्थीहरुको गुनासो छ । 

नेप्लिज मेडिकल स्टुडेण्ट एशोसिएसन बंगलादेशको तर्फबाट अध्यक्ष नवीन यादवले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाएको ध्यानाकर्षण पत्र यस्तो छः

माननीय पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीज्यू,
विषय : बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समसामयिक समस्याबारे ध्यानाकर्षण पत्र ।

सर्वप्रथम बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यिार्थीहरुको तर्फबाट  माननीय मन्त्रीज्यूको बंगलादेश भ्रमणको सफलताको कामना गर्दछौ । यहाँको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझ प्रगाढ बनुन्, हाम्रो शुभकामना ।

देशमा व्यवस्थित चिकित्सा शिक्षा प्रणाली नहुनुले आफ्नै देशमा पढ्ने चाहना हुँदा पनि प्रत्येक वर्ष हजारौं संख्यामा विद्यार्थीहरु विदेशिन बाध्य हुने गरेका छन् । मेडिकल शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुमध्ये अधिकांश विद्यार्थीहरु बंगलादेश आउने गरेको वास्तविकता यहाँलाई अवगत नै छ । अहिले बंगलादेशभरि झन्डै ५ हजार भन्दा बढी नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

मन्त्रिज्युको भ्रमणको बेलाको अवसर पारेर यहाँ विदेशी भूमिमा अध्ययन गरिरहेका एवं अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुले भोग्नु पर्ने केही समस्याहरुको बारेमा यहाँलाई जानकारी गराउन जरुरी ठानेर यो ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छौ ।
आशा छ मन्त्रि ज्यूले यी समस्या सामाधानका निम्ति यथाशिघ्र पहल गर्नुहुने छ ।

(१)  विद्यार्र्थी भिसा एक्सटेन्सनमा अनियमितता   
बंगलादेशमा एमबिबिएस अध्ययनको जम्मा अवधि ६ वर्षको हुन्छ । तर विद्यार्र्थीहरुले प्रत्येक वर्ष भिसा फि तिरेर विद्यार्र्थी भिसा एक्सटेन्सन गर्नु पर्ने हुन्छ । एकैचोटी २ वर्षको भिसाका लागि पनि निवेदन दिन सकिने भन्ने छ । २ वर्षको लागि विद्यार्थीले भिसा शुल्क तिर्छन तर भिसा लिन जाँदा एक वर्षको मात्रै भिसा पाएको देखिएको छ, सो बारे नेपाली दूतावासमा पनि जानकारी गराइसकेका छौँ । 
(२)  सम्बन्धित निकायद्वारा नेपाली विद्यार्थी भर्नाका निमित्त कलेजको मापदण्ड नतोकिएको ः 
बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना गर्न यहाँका कलेजले के–के मापदण्ड पूरा गर्नु पर्छ भन्ने औपचारिक धारणा सार्वजनिक नभएका कारण वर्षेनी थुप्रै नेपाली विद्यार्थीहरु ठगिने गरेका छन् । 
नेपाली विद्यार्थीहरु भर्ना गर्न कलेजको पूर्वाधार, हस्पिटल, कलेजको वार्षिक नतिजा, कलेजको छात्राबासको सुविधा आदिबारे अध्ययन नै नगरी नेपाली विद्यार्थी भर्ना लिन स्वीकृति दिनुले विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् । 

(३) बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति कुन संकायमा कति छात्रवृति उपलब्ध गराइरहेका छन्, छात्रबृति पाउने प्रक्रिया र मापदण्ड के कस्तो छ ? भन्ने बारे सम्बन्धित निकायले वैज्ञानिक व्यवस्थापन नगरेका  कारण केही कन्सल्टेन्सी एवं बिचौलियाहरुबाट सोझा साझा नेपाली विद्यार्थी ठगिने अनि अन्यायमा पर्ने क्रम जारी रहेको छ ।  
माननीय मन्त्रीज्यूको बंगलादेश भ्रमणबाट हामी सम्पूर्ण नेपाली विद्यार्थीहरु निकै नै उत्साहित छौँ । हामीले हाम्रो अभिभावकको भ्रमण महशुस गरिरहेका छौँ । अनि आशावादी पनि छौँ, विदेशमा अध्ययनरत आफ्ना नेपाली विद्यार्थीको समस्या सामधानमा यहाँको भूमिका महत्वपूर्ण रहने छन् । 
तसर्थ यी समस्याहरु समाधानका निमित्त आफ्नो स्तरबाट पहल गर्न माननीय मन्त्रीज्यू समक्ष बिनम्र अनुरोध गर्दछौ । 
नवीन यादव 
अध्यक्ष,
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन, बंगलादेश

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप