बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकामा लगाइएको तालाबन्दी खुल्यो

बिहीबार, ०८ फागुन २०७६, २२ : ५९
बिहीबार, ०८ फागुन २०७६

सिरहा । सिरहाको औरही गाउँपालिका कार्यालयमा वडाअध्यक्षले गरेको तालाबन्दी आज साँझ खोलिएको छ । गाउँपालिकाको आयव्यय १५ दिनभित्र सार्वजनिक गर्ने, बालपोषण रकम वितरण गर्नेलगायत विषयमा सहमति भएपछि साँझबाट गाउँपालिका कार्यालयको तालाबन्दी खोलिएको हो ।

गाउँपालिका कार्यालयमा भएको तालाबन्दी खोलाउने सन्दर्भमा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुर र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा आज भएको वार्तामा गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले गाउँपालिकाको आयव्यय १५ दिनभित्र सार्वजनिक गर्ने, बालपोषण रकम वितरण गर्ने, गाउँपालिकाबाट सम्पन्न भएका योजनाको ३० दिनभित्र भुक्तानी दिने सहमति जनाएपछि तालाबन्दी खोलिएको वडा नं ५ का वडाध्यक्ष दिलीपकुमार यादवले जानकारी दिए । 

गाउँपालिकाको आयव्यय सार्वजनिक गर्नुपर्ने, विगत डेढ वर्षदेखि रोकिएको बालपोषण रकम उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न भएका विकास निर्माण योजनाको रकम भुक्तानी गर्नुपर्ने, योजनाको टेण्डर प्रक्रियाको सूचना दिनुपर्नेलगायत माग गर्दै गाउँपालिकाको ५ मध्ये चार वटा वडाका वडाध्यक्षले गत बुधबार तालाबन्दी गरेका थिए ।  गत आव २०७५/७६ मा चारवटै वडामा सम्पन्न भएको ६० वटा योजनाको रु चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको वडाध्यक्ष यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप