शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : अनि राजीनामा बुझाएर बालुवाटारबाट बाहिरिए ओलीका विश्वासपात्र...

शुक्रबार, ०९ फागुन २०७६, ०८ : २२
शुक्रबार, ०९ फागुन २०७६

आज फागुन ९ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो स्क्यान्डल र उनको राजीनामाको समाचारले प्राथमिकता पाएका छन् ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे। ओली र दाहालबीच बिहीबार बिहान भेट्ने कार्यक्रम अघिल्लो दिन नै तय भएको थियो। पार्टी अभियान, एकताका बाँकी काम, एमसीसी कार्यदलको तयारीलगायतका विषय कार्यसूची थिए। बाँस्कोटाको ‘घुस प्रकरण’ को अडियो सार्वजनिक भएपछि दाहालले प्रधानमन्त्रीसँग भेट्नुअगाडि पार्टी नेतासँग पनि छलफल गरेर बालुवाटार जान उचित हुने ठाने। दाहाल निवास स्रोतले भन्यो, ‘त्यसपछि दाहालले थापा र श्रेष्ठलाई निवासमै बोलाउनुभया। सचिवालयका अन्य नेताहरूसँग सम्भव भएसम्म टेलिफोनमा सम्पर्क गर्नुभयो।’ दाहालले गृहजिल्ला रौतहटको गौरमा रहेका वरिष्ठ नेता माधव नेपालसँग पनि दाहालले टेलिफोनमा छलफल गरे। नेपालले मन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिए। वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ र मन्त्री थापाको राय लिएर दाहाल प्रधानमन्त्रीलाई भेट्न साढे १० बजे बालुवाटार पुगे। ओलीसँगको छलफलमा दाहालले सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग गराउन सहज बनाइदिनुपर्ने मत राखेका थिए। ओली भने एकपटक सञ्चारमन्त्रीसँग छलफल गर्ने पक्षमा थिए। त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो। कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो। सामाजिक सञ्जालमा पनि सञ्चारमन्त्रीको आलोचना चुलिँदै गयो। कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेर प्रतिनिधिसभा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए। ‘सञ्चारमन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद्मा अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’, प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाएका थिए। मन्त्री बाँस्कोटा सुदूरपश्चिमबाट राजधानी आउँदै थिए। सञ्चारमन्त्री बाँस्कोटा साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रधानमन्त्री ओलीलाई भेटे। ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए। ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा दिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेखे।

दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीबार सार्वजनिक भयो । कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भएको कान्तिपुर दैनिकमा समाचार छ ।  बाँस्कोटा ओलीका कति नजिक हुन् भन्ने बुझ्न तीन दिनअघि धुलिखेलमा आयोजित एक कार्यक्रममा गरेको सार्वजनिक प्रशंसालाई सुने पुग्छ । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो, प्रतिभा जन्माउने जिल्ला हो, यो कुरा क्रमशः प्रकट हुँदै गएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरू सबै जस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बाँस्कोटातिर हेरेर चुप लाग्छन् ।’ औधि प्रशंसा गरेको तीन दिनपछि बाँस्कोटा पदीय आचरणविपरीत कमिसनको डिल गरेको अडियोका कारण बाहिरिँदा ओलीलाई झट्का लागेको छ । नेकपाका एक नेता बाँस्कोटाका कारण ओलीलाई परेको चोट यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोप लाग्दा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लागेको झट्कासँग तुलना गर्छन् । ‘महरा दाहालका अत्यन्तै निकट थिए ।

उनीमाथि पदीय आचरणविरुद्धको कुरा आएपछि दाहाललाई ठूलो चोट परेको थियो,’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने, ‘ओलीका लागि बाँस्कोटा त्यस्तै निकट विश्वासपात्र हुन्, उनैले यस्तो आचरणविपरीतको काम गरेपछि ओलीलाई नराम्रो झट्का लागेको छ ।’ बाँस्कोटा ओलीको शयनकक्षसम्म पहुँच राख्थे । उनको अधिकांश उठबस बालुवाटारमै हुन्थ्यो । मन्त्री भएपछि बाँस्कोटाले सरकारी मन्त्री क्वार्टर पाएनन् । त्यसयता उनी प्रधानमन्त्री ओलीकै भक्तपुर बालकोटस्थित निवासमा बस्दै आएका छन् । ओलीले आफ्नो घरमै बाँस्कोटालाई लगेर राख्नुले पनि उनीहरूबीचको सम्बन्धको गहिराइ बुझाउँछ । मन्त्रिपरिषद्बाट हालै बाहिरिएका एक पूर्वमन्त्रीका अनुसार बैठकमा बाँस्कोटाको अरूभन्दा फरक प्रस्तुति हुन्थ्यो । ‘मन्त्रिपरिषद् बैठकमा अरू मन्त्रीहरू प्रधानमन्त्रीसँग सिधा वादविवाद गर्न हच्किन्थे तर बाँस्कोटाले हाकाहाकी कुरा गर्थे,’ ती पूर्वमन्त्रीले भने, ‘प्रधानमन्त्री पनि उनकै कुरा मात्र सुन्थे ।’ प्रधानमन्त्री ओलीले बाँस्कोटालाई यति धेरै च्याप्नुको कारण बुझ्न पुराना घटनाक्रमतर्फ फर्कनुपर्ने हुन्छ । कुनै बेला माधव नेपाल पार्टी महासचिव छँदा उनको पेलानमा परेर ओली कमजोर अवस्थामा थिए, त्यसबेला ओलीका पक्षमा उभिनेमध्येका एक बाँस्कोटा थिए । पार्टी पत्रकारिता गर्दै ओलीको नजिक पुगेका बाँस्कोटाले पार्टीभित्रको जस्तोसुकै समस्यामा पनि उनको साथ छाडेनन् । ‘आफूलाई समस्यामा पर्दा साथ दिने व्यक्तिलाई ओली संरक्षण गर्छन् । त्यसैले बाँस्कोटाले पनि यति धेरै महत्त्व पाएका हुन्,’ एक नेताले भने ।

२६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिनेछ ।’ देशमा सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम घोषणा हुँदा सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका थिए । यो घोषणा सेक्युरिटी प्रेस बेचबिखन गर्ने विदेशी कम्पनीका एकजना एजेन्टले सरकारको नीति तथा कार्यक्रममा पार्न लगाएका थिए भन्ने टेबुल ठोक्ने सांसदहरूलाई हेक्का पनि थिएन । आफ्नो ‘स्किम’ सरकारको नीति तथा कार्यक्रममा पार्न सफल स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्र भन्छन्, ‘सेक्युरिटी प्रेस खरिद गर्न सकिन्छ र सबैलाई फाइदा हुन्छ भनेर मैले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई कन्भिन्स गरेँ, त्यसैले नीति तथा कार्यक्रममा यो ‘स्किम’ परेको हो ।’ तर, नीति तथा कार्यक्रम लागू गर्न नपाउँदै २३ साउन ०७३ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेपछि सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोकिएको थियो । उता, ‘स्किम’ बनाएका स्विस कम्पनीका एजेन्ट मिश्र उपयुक्त समयको पर्खाइमा थिए । ओली प्रधानमन्त्रीका रूपमा ३ फागुन ०७४ मा सिंहदरबार फर्किएपछि मिश्र आफ्नो कारोबार हुनेमा ढुक्क भएका थिए । विभागीय मन्त्रालय भएकाले उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग संवाद अगाडि बढाए । त्यही संवादको क्रममा मन्त्री बाँस्कोटा स्विस कम्पनी मात्र होइन, जर्मन कम्पनी भेरिडोस र फ्रेन्च कम्पनी आइएन गु्रपसँग पनि बार्गेनिङमा छन् भन्ने मिश्रले थाहा पाए । त्यसैले उनले हतियारका रूपमा बाँस्कोटासँगको प्रत्यक्ष संवाद आफ्नो मोबाइलमा रेकर्ड गरे । त्यही रेकर्ड अहिले सार्वजनिक भएको छ । रेकर्डअनुसार २५ अर्बमा प्रेस खरिद भएमा ७४ करोड कमिसन आउने र ५५ करोडसम्म कमिसन दिन मिश्र तयार भएका छन् । तर, मन्त्री बाँस्कोटाले २५ अथवा २७ को सट्टा २८ अर्बको प्याकेज बनाउन र कमिसन बढाउन एजेन्टलाई आग्रह गरेको रेकर्डमा प्रस्ट सुनिन्छ ।  यो रेकर्ड गरेपछि स्विस कम्पनीका एजेन्ट मिश्रले आफूलाई बलियो ठानेका थिए । तर, यसको हेक्का नभएका मन्त्री बाँस्कोटा भने प्रक्रियाका रूपमा जर्मन र फ्रेन्च कम्पनीलाई कागजी रूपमा भिडाएर औपचारिक रूपमा फ्रेन्च कम्पनीलाई ठेक्का दिने तयारीमा लागिसकेका थिए । किनकि, यो कारोबारमा यती समूह प्रवेश गरिसकेको थियो ।

सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गरेको आरोप लगाएको नागरिक दैनिकमा समाचार छ । फ्रान्सको आइएन ग्रुपको स्थानीय एजेन्ट यति होल्डिङस् हो। सदस्य चापागाईले बिहीबार समिति वैठकमा बोल्दै २०७६ जेठ ५ मा फ्रान्सेली कम्पनी आइएन ग्रुपलाई लेखेको पत्रमा नेपालको आधिकारिक एजेन्ट यतीका तर्फबाट मन्त्री बाँस्कोटा आफै संलग्न भएर पत्राचार गरेको आरोप लगाइन। चापागाइँले मन्त्री बाँस्कोटाले यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गर्नु गम्भीर आपत्तिको विषय भएको बताइन्। मन्त्रीजस्तो पदमा रहेको व्यक्ति यतीको एजेन्टको भूमिकामा देखा पर्नु गम्भीर विषय भएको भन्दै साँसद चापागाइँले यस विषयमा लेखा समितिले विस्तृत रुपमा छानबिन गर्नुपर्ने माग राखिन्। सेक्युरिटी प्रेस स्थापनका लागि फ्रान्सको आइएनग्रुपसँग सरकारले गत फागुनमा एमओयु गरेको थियो। त्यस भन्दा अघि सञ्चारमन्त्री बाँस्कोटा सञ्चार सचिव महेन्द्रमान गुरुङ,  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र यतीका मालिक  स्वर्गीय आङछिरिङ शेर्पा पटक–पटक फ्रान्स र जर्मनी भ्रमण गरेका थिए। लेखा समितिका सदस्यहरुले सेक्युरिटी प्रेसको ठेक्का लिने कम्पनीको स्वार्थमा पटक–पटक सम्बन्धित देशको भ्रमण गर्नुको उद्देश्यको विषयमा कार्यकारी निर्देशक पौडेललाई प्रश्न गरे। साँसद विरोध खतिवडाले फ्रान्स र जर्मनीमा भएको भ्रमणमा भएको खर्चको विवरण मागेपछि पौडेलले आफ्नो भ्रमणमा फ्रान्सेली कम्पनीले नै खर्च व्यहोरोको बताए। त्यस लगत्तै साँसद राजन केसीले सेक्युरिटी प्रेस खरिदको संलग्न पदाधिकारीहरुको पासपोर्ट नै मगाएर छानबिन गर्नुपर्ने तर्क गरे। केन्द्रका कार्यकारी निर्देशक पौडेलको श्रीमति अमेरिकामा चिकित्सकका रुपमा कार्यरत रहेको र उनको समेत अमेरिकी ग्रीन कार्ड रहेको चर्चा चलेको भन्दै समितिका सदस्यहरुले पासपोर्ट नै मागेर छानबिन गर्न माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप