शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा कास्कीको भोट तान्ने त्यो खेलः खोला तर्‍यो, लौरी बिर्सियो !

शुक्रबार, ०९ फागुन २०७६, १९ : ०३
शुक्रबार, ०९ फागुन २०७६

पोखरा । नेपालीमा एउटा उखान छ, ‘खोला तर्‍यो, लौरी बिर्सियो ।’ आफ्नो स्वार्थका लागि प्रयोग गरेको सन्दर्भमा बनाइएको यो उखान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीसँग मेल खान्छ ।   प्रसंग हो, कास्की २ की सांसद विद्या भट्टराईलाई चुनाव जिताउनको लागि नेकपाले खोलाको मापदण्ड नै घटाउन गरेको सहमतिको । नेकपाले गएको मंसिर १४ मा भएको उपचुनावमा आफ्नो उम्मेद्वार विद्या भट्टराईलाई जिताउन फिर्के खोलाको मापदण्ड नै घटाउन लिखित सहमति गरेको एउटा कागज चुनावको मुखैमा बाहिरिएको थियो । नेकपाले फिर्के खोलाको १ मिटर मापदण्ड घटाउने सहमति गरेको थियो । 

फिर्के खोलाको मुद्दा लिएर चुनावमा स्वतन्त्र उम्मेद्वारी दिएका सुनिलबहादुर कोइरालाले आफ्नो भोट काट्ने देखिएपछि नेकपाले यस्तो सहमति गरेको खुलेको थियो । पछि, नेकपाले फिर्के खोलाको मापदण्ड घटाउने सहमति गरेपछि उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।  तर, नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीसहित विद्या भट्टराईलाई चुनाव जिताउने मोर्चाका कमाण्डर समेत रहेका नेकपाका अर्का नेता राजकाजी गुरुङको रोहबरमा नागरिक समाजका प्रतिनिधिसहितले गरेको उक्त सहमति अझ कार्यान्वयन भएको छैन ।

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले पनि नेकपाको यस किसिमको आश्वासनमा समन्वय गरेको पाइएको थियो । नेकपाले चुनावको बेला गरेको उक्त सहमति पालना नभएपछि फिर्केबासी आन्दोलित बनेका छन् । करिब २ सयको हाराहारीमा रहेका फिर्केबासीले नेकपाले आफ्नो सहमति पालना नगरेको भन्दै विरोध जनाएका हुन् । 

‘त्यतिबेला नेकपाले निकालेका हुन्, आफ्नै पार्टीको बेइज्जत गरेका हुन्,’ उपचुनावमा फिर्के खोलाको मुद्दा लिएर चुनावमा उठेका सुनीलबहादुर कोइरालाले भने, ‘माथिका नेताहरुले जस्तो गर्छन् त्यस्तै गरे ।’ पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद खगराज अधिकारी, प्रदेशसभा सदस्य प्रभा कोइराला, दामोदर वैरागी, वडा इकाईका अध्यक्ष शंकरबहादुर कोइराला, नगर इकाईका अध्यक्ष मदनकाजी श्रेष्ठ लगायत नेकपाका नेताहरु फिर्केको मापदण्ड घटाउने सहमत गर्न आफूहरुकहाँ आएको उनले खुलाए । सम्बन्धित निकायका प्रतिनिधिहरु नआएसम्म सहमति नहुने अडान लिएपछि पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले समन्वय गरेको उनले बताए । 

‘पहिला नेकपाका नेताहरु कागज लिएर आउनुभयो,’ उनले भने, ‘मानबहादुर जीसीले नमानेसम्म हुँदैन भनेर हामीले भन्यौं । त्यसपछि अर्को कागज गरेको हो ।’ पछिल्लो सहमति बनाउँदा नेकपाका कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ सहित दामोदर बैरागीसहित महानगरका प्रवक्ता धनबहादुर नेपालीले समन्वय गरेको उनले खुलाए । 

चुनावको समयमा फिर्के खोलाको १ मिटर मापदण्ड घटाउने सहमति भए पनि अहिले विज्ञ टोली बनाएर अघि बढ्ने बताउँदै आएको उनले सुनाए । ‘विज्ञको टोली बनाउँछु भन्छन् ल्याङल्याङ गर्छन्,’ उनले भने, ‘हाम्रो देशमा के नै छ र केन्द्रस्तरका नेताले जे गर्छन्, स्थानीयस्तरकाले पनि त्यही गर्छन् । के नै छ र हाम्रो देशमा ।’

यसअघि पोखरा नगर विकास समिति हुँदा १ मिटर मापदण्डमै घरको नक्सा दिएर पास भए पनि २०७२ को मापदण्डले नयाँ नक्सा बनाएर नक्सा पास नदिएको उनले बताए । सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रिने समेत उनले चेतावनी दिए । 

सहमति गर्न आउने नेकपा नेताहरुलाई पटक—पटक सम्पर्क गरेर झकझक्याउँदा समेत कुनै सुनुवाई नभएको उनले गुनासो पोखे ।  नेकपाले चुनावको बेला गरेको उक्त सहमतिमा फिर्केको मापदण्ड १ मिटर कायम गरि नेकपाले राजनीतिक हिसाब र महानगरको कार्यपालिकाबाट पारित गर्ने प्रक्रिया अघि बढाउने, मापदण्डभित्र रहेको जग्गा धितो राखेर ऋण निकाल्न महानगरलाई सिफारिस गर्ने फिर्केलाई सौन्दर्यीकरण गर्ने र पुरानै बाटोमा हिडाउँने सहमति गरिएको छ । ठाउँ हेरेर १० मिटर र ६ मिटर रहेको फिर्केको मापदण्ड घटाएर १ मिटर कायम गर्नेसम्मको उक्त सहमति पत्रमा उल्लेख गरिएको छ । 

यता,पोखरा महानगरपालिकाले भने मापदण्ड मिचेर बनेका संरचना हटाउन तोकता गर्दै डोजर समेत चलाउँदै आएको छ । मेयर मानबहादुर जीसी आफैंले फिर्के खोलामा फुट ट्र्याक बनाउने भन्दै अघिल्लो वर्षको वैशाखमा डोजर चलाएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप