मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

महागढीमाई नगरपालिकाका मेयरको राजीनामा माग गर्दै स्थानीयवासीको प्रदर्शन

शुक्रबार, ०९ फागुन २०७६, २२ : ४८
शुक्रबार, ०९ फागुन २०७६

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिकाको वडा नं. २ मैनी टोलमा भइरहेको विकास निर्माणमा स्थानीयले असन्तुष्टि जनाएपछि छलफल गर्न पुगेका स्थानीय महेन्द्र कुशवाहालाई चर्पीमा थुनेर कुटपिट गरेको घटना सार्वजनिक भएपछि मेयर यादवका विरुद्ध प्रदर्शनी भएको हो ।  मेयर यादवको भिडियो खिचेर फेसबुकमा अपलोड भएपश्चात आक्रोसित मेयरले मुकेश कशवाहाका बुबा महेन्द्रमाथि हातपात गरेको आरोप स्थानीयवासीले लगाएका छन् । 

सोही घटनामा मेयर यादवबिरुद्ध बिहीबार जाहेरी दिन पुग्दा उल्टै कुटिएका छोरा मुकेश कुशवाहामाथि मेयरका समर्थक तथा नगर प्रहरीले कुटपिट गरेको आरोप समेत प्रदर्शनकारीको छ ।  शुक्रबार कलैयामा स्थानीयले मेयरविरुद्ध नाराबाजी गर्दै  जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् । सदरमुकाम कलैयास्थित कुशवाहा भवन नजिकबाट शुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बारामा पुगेको थियो ।

विभिन्न नाराहरु लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका स्थानियहरुले महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको राजिनामाको माग गर्दै कारवाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । बारा क्षेत्र नम्बर ३ का सांसद रामबाबुकुमार यादव, क्षेत्र नम्बर २ को सांसद  रामसहाय यादव, प्रदेशसभा सदस्य बच्चा यादव, शारदाशंकर साह, राजपा नेता तथा गढीमाई मन्दिर तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साह, उपाध्यक्ष बिश्वनाथ कुशवाहा, कोषाध्यक्ष महेश जयसवाल, नेकपाका प्रदेश २ का सदस्य जितेन्द्र तिवारी लगायतले स्थानीयवासीहरुको प्रदशर्नमा ऐक्यबद्धता जनाउदैं अभद्र व्यवहार गर्ने मेयर र कुटपिटमा सहभागीमाथि कारवाहीको माग गरेका छन् ।

नाराबाजासहित जिल्ला प्रशासन कार्यालय बारा पुगेका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुसँग बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले छलफल गरेका छन् । छलफलमा प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी लगायतको उपस्थिति थियो । छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले मुकेश कुशवाहामाथि आक्रमण गर्नेको पहिचान गरी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । घटनाको छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउन प्रजिअ पोखरेलले प्रहरी उपरीक्षक पँगेनीलाई निर्देशन दिएका छन् ।  हालसम्म प्रहरी प्रशासनले एक जनालाई पनि पक्राउ गर्न नसक्नु र मेयरलाई कारवाहीको दायरमा ल्याउने विषयमा कुनै चासो नदिएको भन्दै पीडितका परिवारजनले आक्रोश व्यक्त गरेका छन् ।

यता, आक्रमण संलग्न ६ जना आरोपीविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका प्रहरी निरीक्षक विरेन्द्र ठाकुरले बताए । शुक्रबार सार्वजनिक बिदा परेकाले आरोपीविरुद्ध आइतबार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाउने प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप