मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘७० करोड कमिसन प्रकरणका दोषीलाई कडा सजाय दिनुपर्छ’

शुक्रबार, ०९ फागुन २०७६, २३ : १२
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । नेकपा (मसाल)ले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डबारे उच्चस्तरीय छानबिन गरी दोषीहरुलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज एक विज्ञप्ति जारी गर्दै दोषीहरुलाई कडा सजाय दिनुपर्ने माग गरेका हुन् ।

विज्ञप्तिमा सो काण्डप्रति नेकपा (मसाल)को गम्भीर ध्यानाकर्षित भएको जनाउँदै उक्त काण्डले सरकारमा गम्भीर प्रकारको भ्रष्टाचार व्याप्त रहेको कुरा पुनः उदाङ्गो भएको बताइएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसँग जोडिएर  ७० करोड कमिशन लिनका लागि वार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै बास्कोटाले मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

त्यस्तै, सो पार्टीले एमसीसीलाई कुनै संशोधनसहित पारित गर्ने कुरालाई पनि विज्ञप्तिमा दृढतापूर्वक विरोध गर्र्दै त्यसलाई अस्वीकार गर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीबारे जुनसुकै प्रकारले भ्रम दिने वा वास्तविकतामाथि पर्दा हाल्ने प्रयत्न गरिए पनि सार रुपमा त्यो इन्डो प्यासिफिक रणनीतिको नै अंग भएको र त्यसको मुख्य उद्धेश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै भएको कुरा दिनको उज्यालोझै छर्लङ छ । त्यसकार त्यसले कुनै पनि अवस्थामा नेपालको हित नगर्ने र त्यसलाई स्वीकार गरेमा नेपालको असंलग्न नीति समाप्त हुनेछ र देश घोषित रुपमै अमेरिकी साम्राज्यवादको रणनीतिक गोटी बन्न जाने कुरा प्रस्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यसलाई अस्वीकार गर्नका लागि सबै देशभक्त जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप