बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुको विद्युत सिराहामा जोडिदै : म्याद थप्दा पनि करिडोरको काम सकिएन

शनिबार, १० फागुन २०७६, १३ : १२
शनिबार, १० फागुन २०७६

सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा  पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ । 

सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक आयोजनाले म्याद थप गरेको थियो ।  सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ । 

आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ । यस्तै, ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको उनले जानकारी दिए । 

मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानिसकिएको छ । उक्त कार्य अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने र यसका लागि सहयोगका पु¥याउन आयोजना प्रमुख गौतमले अनुरोधसमेत गरे । 

उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने जनाइएको छ । पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो ।

सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत््लाई सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । 

 वैकल्पिक मार्गमा समेत जोडिएन 
सोलु खोलामा निजी क्षेत्रका २१७।५ मेगावाटका छ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । ती मध्ये २३।५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको  र  ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

निर्माण सम्पन्न भइसकेको विद्युत््लाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत्् प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ । 

सोही योजनाअनुसार सम्पूर्ण कामसमेत सम्पन्न भइसकेको छ । गत माघ ४ गते सोलुदुधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन । 

प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत क्षतिपूर्ति (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पिपिए)मा उल्लेख छ । उक्त क्षतिपूर्ति बच्नको लागि वैकल्पिक मार्ग ३३ केभी प्रसारण लाइन प्रयोग गर्ने आयोजनाको योजना समेत विफल भएको छ । 

विकासमा राजनीतिक प्रतिशोध हुँदा स्थानीय र उद्घाटनमा गएको सांसद टोलीबीच तिङ्लामा झडप भएको थियो । उक्त झडपमा एउटा बोलेरो जीपसहित १३ वटा मोटरसाइकल जलेको थियो । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुखसहित स्थानीयले तिङ्लामा विद्युत् नबालिकन उद्घाटन गर्न नहुने तर्क राख्दै आएका थिए । 

आयोजकको कमजोर समन्वय र सुरक्षा निकायको निकम्बताको कारण तिङ्लामा करोडौँको क्षति भएको सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राईले बताए । तिङ्ला पत्ताले क्षेत्रमा ग्रामीण विद्युतीकरणकै लागि पोल गाड्ने र तार टाङ्ने काम ७० प्रतिशत सकिएको कार्यालयले जनाएको छ । 

सोलुखुम्बुको एक नगरपालिकासहित थुलुङदुधकोशी र नेचा सल्यान गाउँपालिकामा यसै वर्ष ग्रामीण विद्युतीकरण गर्ने गरी धमाधम कामसमेत भइरहेको उहाँले जानकारी दिए । 

करिब रु ७५ करोडभन्दा बढी बजेटबाट तीन स्थानीय तहमा विद्युत् पु¥याउने गरी काम भइरहेको जनाइएको छ । सोलुखुम्बु जिल्लामा हालसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । यहाँका नागरिकले प्याल्ट्रिकसेट, माइक्रोहाइड्रोको प्रयोग गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप