केन्द्रीय संस्करण

पर्यटकीय स्थल बन्दै ‘गेरमा शिव मन्दिर क्षेत्र’

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित गेरमा शिव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ ।

शहरको कोलाहल क्षेत्रबाट केही पर पाल्हीनन्दन गाउँपालिका–५ स्थित भारतीय सीमा क्षेत्र नजिकै रहेको सो मन्दिर परिसर क्षेत्रमा पछिल्लो समय घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न यो स्थललाई स्थानीय बासिन्दाको पहलमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । गेरमा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न गाउँलेले एकजुट भएर संरक्षणमा लागेको गेरमा परिवारका अध्यक्ष धर्मेन्द्र गिरीले बताए । 

यहाँ रहेका प्राचीन महत्व बोकेको ठूलो पोखरी तथा विभिन्न भगवान्का मन्दिर ओझेलमा परेपछि गाउँले मिलेर प्रचारप्रसार गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जुटेको उनले बताए । 

‘जमिन्दारी प्रथाको समयमा त्यसबेलका जमिन्दारले यहाँ शिव मन्दिर र ठूलो पोखरी निर्माण गरेको इतिहास छ, तर कति पुरानो हो भन्ने यकिन थाहा हुन सकेको छैन’, उनले भने, ‘हाम्रा हजुरबाबालेसमेत यो स्थल निकै पुरानो रहेको बताउने गर्नुभएको छ, तर यहाँको उचित प्रचारप्रसार र संरक्षण हुन नसक्दा यो क्षेत्र प्राचीन भएर पनि ओझेलमा परेको छ, त्यसैले हामी सबै गाउँले मिलेर यसलाई संरक्षण गर्दै आएका छौँ र अब पर्यटकीय गन्तव्यका रुपमा हामीले अघि बढाइरहेका छौँ ।’

यहाँ पाँच बिघामा फैलिएको ठूलो पोखरी रहेको छ । पोखरीमा तटबन्ध नभएका कारण अहिले अतिक्रमण हुँदै तीन बिघामा सीमित भएको स्थानीयवासी सङ्घर्ष खत्रीले बताए । 

जमिन्दारी प्रथाको समयमा सोही पोखरीको पानी खान, स्नान गर्न प्रयोग हुने गथ्र्यो । तर अहिले ढल तथा फोहर मिसिँदै गएपछि पोखरीको पानी प्रयोग हुन छाडेको उनले बताए । 

पोखरीमा छठलगायतका विभिन्न पर्वमा भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । गाउँलेको सक्रियतामा पर्यटक आकर्षित गर्न अहिले पोखरीमा स्टिमर र डुङ्गा सञ्चालन गरिएको छ । 

प्राचीन समयमा स्थापना गरिएको शिव मन्दिरबाहेक यस क्षेत्रमा पार्वती, राधाकृष्ण, रामजानकी, हनुमान, दुर्गा तथा भगवतीका छुट्टाछुट्टै मन्दिर, धर्मशाला तथा हवनकुण्ड रहेको स्थानीयवासी रामबहादुर कुर्मीले जानकारी दिए । 

उनका अनुसार यहाँ रहेका अधिकांश मन्दिर स्थानीयवासी र गाउँका अगुवाले निर्माण गरेका हुन् । शिव मन्दिर कसले निर्माण गरेको भन्ने यकिन हुन सकेको छैन तर विसं २०१६ मा पहिलो पटक उक्त मन्दिरको जीर्णोद्धार गरिएको स्थानीयवासी राजेन्द्रप्रसाद गुप्ताले बताए । 

अन्य मन्दिर भने बनारसी बानियाँ, रामानन्द तिवारी, रामआधारे, भोला गिरी, प्रेमसागर चौधरी, धुव्र शर्मा, बैजनाथ कुर्मीलगायत स्थानीय बासिन्दाको सहयोगमा निर्माण भएको कुर्मीले बताए । महायज्ञ सञ्चालन गरी धर्मशाला निर्माण गरिएको छ । 

्यस क्षेत्रमा साप्ताहिकरुपमा भजनकीर्तन, वडादशैँमा रामलीला प्रदर्शनीलगायतका कार्य विगत ३३ वर्षदेखि सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन् । यो क्षेत्रको निकै महत्व र आस्था रहे पनि लामो समयदेखि ओझेलमा परेको भन्दै स्थानीय बासिन्दा अहिले यस क्षेत्रको संरक्षणमा जुटेका हुन् । 

यस क्षेत्रलाई प्रचारप्रसार गर्न यो वर्ष महाशिवरात्रिका अवसरमा ठूलो मेला तथा नेपाल भारतका पहलमानको सहभागितामा विराट कुस्ती प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । 

भ्रमण वर्ष मनाइरहँदा आफ्नो गाउँमा पनि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पहल थालेको बताउँदै अध्यक्ष गिरीले भने, ‘यहाँको उचित विकासका लागि तीनै तहका सरकारको पनि ध्यानाकर्षण होस् भनेर हामी युवा विशेषरुपले लागेका छौँ, अहिलेसम्म हामी गाउँलेबाटै चन्दा सङ्कलन गरेर सहयोग जुटाएका छौँ, गाउँपालिकालगायत कुनै सरकारबाट हामीले सहयोग पाएका छैनौँ ।’

जमिन्दारीप्रथा समाप्त भएपनि यहाँको जमिन जमिन्दारका परिवारकै नाममा रहेकाले अब मन्दिरको नाममा हुनुपर्ने उनले माग पनि गरे । पाल्हीनन्दन गाउँपालिकाले भ्रमण वर्षलाई लक्षित गरी यो स्थललाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) बताए ।
    
‘यो प्राचीन महत्व रहेको स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो योजना छ, विस्तृत योजना बनाएर हामीले यो स्थलमा लगानी गर्छौं र यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउँछौँ’, अध्यक्ष गुप्ताले भने । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...