शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

शनिबार, १० फागुन २०७६, १७ : ००
शनिबार, १० फागुन २०७६

बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए । 

उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए । कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो सङ्ख्यामा विभिन्न पद रिक्त रहेको जनाइएको छ । तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेका जनाइएको छ । 

यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ । उक्त समस्या समाधानका लागि  प्रदेशको लोकसेवा आयोगले असार महिनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो । अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने बताए । 

यसैबीच प्रदेशमा आइसकेका एक सयभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । सङ्घीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ । सङ्घबाट प्रदेशमा आउँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए । बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप