बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालविवाहविरुद्ध प्रहरी अभियान

शनिबार, १० फागुन २०७६, १७ : २३
शनिबार, १० फागुन २०७६

 सिरहाको औरही गाउँपालिका–५ निवासी रामसेवक दासको घरमा आउने जन्तीलाई हिजो साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो, घरका मानिसहरु कोही टेण्ट लगाउनमा व्यस्त थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । 

त्यो उत्साहको माहौल एकैछिनमा शान्त बन्यो, जब प्रहरी टोली त्यहाँ पुग्यो । बेहुला बेहुलीको विवाह गर्ने उमेर २० वर्ष नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बेहुलीको घरमा पुगेर विवाह रोकाएपछि वैवाहिक माहौल एकैछिनमा शान्त बन्न पुग्यो । 

दासको १७ वर्षीया छोरी पूजाको फागुन ९ गतेको रात्रि लगनमा धनुषाको शहीदनगर नगरपालिकाको यदुकुहा निवासी शिवशङ्कर दासको १८ वर्षीय छोरा जीतकुमार दाससँग तय भएको थियो । बालविवाह हुन लागेको स्थानीयवासीबाट सूचना पाएपछि खटिएको प्रहरी टोलीले केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन्न, त्यस्तो विवाह कानूनीरुपमा स्वतःबदर हुन्छ र कानूनीरुपमा दण्डितसमेत हुने कुरा जानकारी गराउँदै विवाह रोकाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बिनोद घिमिरेले बताए । 

यसअघि गत माघ २७ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले सिरहाको कर्जन्हा नरपालिका–६ वेतहाका रिझन मुखियाकी १५ वर्षीया छोरी रन्जुको हुन लागेको विवाह पनि रोकेको थियो । रन्जुको विवाह पनि धनुषाको शहीदनगर नगरपालिकाको यदुकुहाका अजय मुखियासँग हुन लागेको थियो ।

त्यही दिन अर्थात् माघ २७ गते नै विवाहका तयारी भइरहेको सिरहाको मिर्चैया नगरपालिका–१ का श्रीराम कापरको छोरी सङ्गीता कापरको विवाहलाई रोकेको सिरहा प्रहरीले त्यही दिन सिरहाको कल्याणपुर नगरपालिका–१ का राम नरेश माझीको छोरी गनिता माझीको विवाहसमेत रोकेका थिए ।

पूजा, रन्जु र सङ्गीता मात्र होईन्, सिरहामा हुन लागेको बालविवाह रोकाउन प्रहरीले अभियान नै चलाएको छ । प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिएपनि अधिकांशले निराश र चिन्ता नै व्यक्त गर्ने गरेका छन् । “राम्रो केटा र घर हेरे छोरीलाई विवाह तय गरेको थिए”, औरही गाउँपालिका–५ का रामसेवक दासले भने, “घरमा पाहुना आइसकेको र जन्तीको स्वागतका लागि नास्ता र खाना पकाइसकेको अवस्थामा प्रहरीले एक्कासी आएर विवाह रोकाएपछि हामी समस्यामा परेका छौँ ।” कानूनी कुराको ज्ञान नभएकाले ठुलो रकम खर्चिएर विवाहको तयारी गरे, अन्तिममा जन्ती आउनै लागेका बेला विवाह रोकिएकाले आफूहरु अप्ठयारोमा परेको रामसेवकको भनाइ थियो । 

रन्जुकी आमा सुनितादेवी मुखियाले आफूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको बताइन् । 

रामसेवक र सुनिताले भने जस्तै कतिपय अभिभावकमा बालविवाह कानूनी अपराध हो, त्यो बालविवाह गरिए कानूनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले छोरा छोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानूनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि विवाह गरिहालौँ भन्ने गलत सोचका कारण बालविवाह गराइरहेको बुद्धिजीवीको भनाइ छ । 

“नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भएपनि अझै बालविवाह हुँदै आएको छ”, बुद्धिजीवी तथा दलित विकास मञ्च कल्याणपुर सिरहाका कार्यक्रम संयोजक सरिता महराले भनिन् “उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दहेज दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति नै बनेको छ ।” 

हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ र विद्यालय विद्यालयमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बालबालिकाबीच सचेतीकरणका कारण बालविवाहमा न्यूनीकरण आएपनि अझै समाप्त अवस्था देखिएको छैन सरिताको कथन थियो ।

कोही जानी जानी र कोही नजाने छोराको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि सिरहा प्रहरीले बालविवाह रोक्नका लागि अभियाननै चलाइएको छ । अभिभावलाई बालविवाह कानूनीरुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारबाही हुने विषयमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए

बिगत एक महिनादेखि शुरु गरिएको बालविवाह विरुद्धको अभियानका क्रममा अहिलेसम्म सिरहामा हुनलागेको छ वटा बालविवाह रोकाइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु गराउनु हुँदैन्, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप