शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा आंशिक युद्धबिराम शुरु, खुसीयालीमा अफगानीहरुको नाचगान

शनिबार, १० फागुन २०७६, १७ : ४३
शनिबार, १० फागुन २०७६

काबुल– अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिकहरू बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् । 

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ, र यो शनिबारदेखि लागू भएको हो । यो प्रारम्भिक सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ । 

अमेरिका र विद्रोही तालिबानबीच आंशिक युद्धबिरामको नतिजाका आधारमा स्थायी युद्धबिराम गर्न दुबै पक्ष सहमत भएका छन् । उक्त सम्झौता बमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करिब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजाने छ । साथै, युद्धबाट थकित भइसकेको अफगानिस्तानमा राजनीतिक केही अस्थिरताका बाबजूद विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ । 

काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबीब उल्लाहले निकै आत्मविश्वासका साथ भने, “बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भय बेगर नै म पहिलो पटक यसरी सडकमा निस्कन पाएको छु । मलाई आशा छ यो सदा जारी रहने छ ।”

यो साप्ताहिक युद्धबिराम सफलतापूर्वक अघि बढाउन तालिबान समूहले आफ्ना लडाकूलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ । अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने पटकपटक बताइसकेका छन्। तर अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिबान जारी शान्तिवार्ता केही समय रोकिएको थियो ।

तर दुबै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एक हप्ते युद्धबिराम भएको छ ।

लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ । संयुक्त राष्ट्रसंघले गत वर्ष विगत एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो ।

तालिबानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालाबादमा अफगानीहरु रातिदेखि नै सडकमा परम्परागत पस्तुन नाचमा रमाइरहेका देखिन्थे । 

वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकको रुपमा देखिएको काबुलमा भने मानिसहरु केही सजग देखिएका थिए । 

“अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो तर हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौं,” सरकारी कामदार फजुल रहमानले भने । “जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्ति वार्ता हुनु पर्दछ ।” 

काबुलका एक जना पसले इमामुद्दीनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बबताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप