मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ चार महिना खनजोत गर्न पाइँदैन

शनिबार, १० फागुन २०७६, १७ : ५५
शनिबार, १० फागुन २०७६

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाअन्तर्गत तकवासीले खेतबारीमा खनजोत कार्य शुरु गरेका छन् । चार महिनादेखि बन्द गाउँको खनजोत गएको बुधबारबाट शुरु भएको हो । त्यसका लागि आवश्यक विधि र बाचा यसअघि नै पूरा भइसकेको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा हरेक वर्ष मङ्सिर, पुस, माघ र फागुनमा खनजोत गर्न पाइँदैन । वडा कार्यालय, गाउँपालिका वा अरु कुनै सरकारी निकायको नियमले खनजोत गर्न बन्देज गरिएको होइन । परम्परादेखि नै तकगाउँमा हरेक मङ्सिरको अन्तिमदेखि फागुनको पहिलो सातासम्म खनजोत गर्न नपाइने चलन चल्दै आएको हो । सो समयमा यस क्षेत्रमा हलो प्रयोग पूर्णतः बन्द रहन्छ । सकेसम्म कुटो–कोदालो पनि नचलाउने चलन छ ।

खनजोत गर्न बन्द गर्ने र फुकाउने विधि घर्तीमगर थरका एक जना व्यक्तिले मात्रै गर्छन् । उनले पूजाआजा र विधिवाचा पूरा गरेपछि सबै गाउँलेले जोत्न तथा खन्न शुरु गर्छन् । विधि बाचाका लागि गएको बुधबार राम्रो दिन मानिएकाले सोही दिनबाट तकमा जोत्न तथा खन्न शुरु गरिएको हो । 

यस वर्ष सुर्जे घर्तीमगरले विधिबाचा गरेर हल्सार अर्थात् भूमि र हलोको पूजा गरी जोत्ने र खन्ने कार्य फुकुवा गरिदिनु पर्ने हो । तर, सुर्जे देश बाहिर रहेकाले उनका बुबाले भूमि र हलो पूजा गरेर खनजोत फुकुवा गरे । गाउँका कटवालले खनजोत कार्य शुरु हुने भनेर गाउँमा हाक हालेका थिए । आइतबार भूमि पूजा भएको थियो भने आइतबारपछिको राम्रो बार बुधबार हुने भएकाले धामीले बुधबारदेखि जोत्न र खन्न सकिने गरी साइत मिलाइदिएका हुन् ।

तकगाउँमा खनजोत गर्न पनि त्यसरी नै सूचना दिएर बन्द हुन्छ । मङ्सिर मसान्तको दिन घरका छतछतमा गएर गाउँका कटवालले खनजोत कार्य बन्द भएको सूचना दिन्छन् । गाउँलेले त्यसैलाई आधिकारिक सूचना मानेर गाउँमा खनजोत बन्द गर्छन् । फेरि घर्तीमगरमध्येका एक जनाले हल्सार अर्थात् भूमि र हलोको पूजा गरेपछि उनै कटवालले त्यसबारेमा गाउँलेलाई जानकारी दिएर खनजोत गर्न लगाउने गरेको स्थानीय युवा मैत्या घर्तीमगरले बताए। 

हरेक वर्ष घर्तीमगरका छोराहरूको पालैपालो हल्सार गर्ने जिम्मेवारी आउने गरेको उनले बताए। त्यस क्षेत्रमा व्यापक हिउँ पर्ने भएकाले त्यस समयमा खनजोत गर्न हुन्न भनेर चलन चलाएको बताइन्छ । त्यो समयमा खनजोत गर्दा भूमिको श्राप लाग्ने जनविश्वास छ । तकमा हाल २६ घरधुरी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप