शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानभासमा रवीन्द्र अधिकारी

शनिबार, १० फागुन २०७६, १८ : ०४
शनिबार, १० फागुन २०७६

पोखराका कलाकारले स्वर्गीय रविन्द्र अधिकारीलाई आफ्नो क्यानभासमा उतारेका छन् । फागुन १५ नजिकिँदै गर्दा प्रथम स्मृति दिवसका सन्दर्भमा यहाँका कलाकारले क्यानभासमा रवीन्द्र शीर्षक दिएर उहाँको व्यक्तित्व र कामलाई क्यानभासमा उतारेका हुन् ।

विभिन्न चित्राकृतिबाट रवीन्द्रको व्यक्तित्वलाई क्यानभासमा उतारिरहनुभएका कलाकार एवं कार्यक्रमका संयोजक रमेश श्रेष्ठले भने,‘मैले वर्षौँदेखिको मित्रता गुमाएको एक वर्ष पुग्यो । उहाँलाई क्यानभासमा उर्तान मलाई पीडा भइरहेको छ । शब्द हराएको छ, आँखा अगाडि उहाँको हँसिलो अनुहारले मेरा हातलाई अल्झाइरहेको छ । फेरि पनि एउटा प्रयास गरिरहेको छु ।’

कलाकार देवी राईले रवीन्द्रको व्यक्तित्वबाट आफू प्रभावित भएको र त्यसैलाई क्यानभासमा उतारेको बताए । उनले भने,  “मैले धेरै चोटी उहाँलाई भेटेको छु, सधैँ म उहाँको आदर्श व्यक्तित्वबाट प्रभावित भएको थिए । आज उहाँ हाम्रो माझ हुनुहुन्न, कलाको माध्यमबाट सम्झने प्रयास गरेको छु ।”

कलाकार कमल गुरुङले रवीन्द्रलाई विकासप्रेमी नेताका रुपमा चित्राकृतिमा उतारेको बताए । उनले भने, “ देशको एक विकासप्रेमी नेताका रूपमा चिनेको थिए, उहाँलाई दूरदृष्टि भएको नेताको आत्मविश्वासको अनुहारलाई ‘फोकस आउट’ गरेको छु ।”

कार्यशालामा पोखरा र काठमाडौँका १५ कलाकारको सहभागिता थियो । सिर्जना गरिएका कला फागुन १५ मा रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन गरिने संयोजक  श्रेष्ठले बताए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्व अधिकारीको प्रथम स्मृतिमा उक्त कला कार्यशालाको आयोजना गरेको हो । गत वर्ष फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीसहित सात जनाको निधन भएको थियो ।

उनको ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र तथा संविधानसभा र राज्य पुनर्संरचना’ दुई पुस्तक प्रकाशित छन् । अधिकारीको सम्झनामा गत जेठ १८ गते प्रतिष्ठान स्थापना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप