शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अलैँची मूल्यमा भारी गिरावट

शनिबार, १० फागुन २०७६, १९ : ५६
शनिबार, १० फागुन २०७६

कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।

भारतले  नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन ९१०० किग्रा० अलैँचीको मूल्य घटेर रू २६ हजार पुगेको छ ।

केही वर्षअघि एक मनको रू एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि रू २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

उपाध्यक्ष श्रेष्ठले भने, “दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो ।” 

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए ।

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स,  चीन र भारत पुगेको जानकारी दिए ।

मसलाका रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उनले बताए । पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो । 

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ । चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरिदिँदा अलैँची व्यवसायी निराश हुनुपरेको उपाध्यक्ष श्रेष्ठको गुनासो गरे ।

सधैँ भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ । पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ । 

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ ।

अहिले अलैँची कारोवारमा भारतमा  कमी आएको पाइन्छ । गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ ।

दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ । सङ्खुवासभामा २९ हेक्टर  उत्पादनयोग्य जमीन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप