बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिक अस्थिरतामा आफ्नो भविष्य खोज्नेबाट देशको विकास हुँदैन : मन्त्री ढकाल

शनिबार, १० फागुन २०७६, २१ : ४१
शनिबार, १० फागुन २०७६

उद्योग सङ्गठन मोरङको अगुवाइमा विराटनगरको मुनालपथमा सञ्चालित विराट एक्स्पो २०७६ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको आज समापन भएको छ ।

    फागुन २ गतेबाट शुरु भएको सो एक्स्पोमा रु एक अर्बभन्दा बढीको कारोवार भएको र प्रर्दशनीमा नेपाल भारत, बङ्गलादेश र पाकिस्तानका करिब ३४० कक्ष राखिएको थियो । कृषि उत्पादनदेखि अटो पार्टस, मोबाइल्स, खाद्य सामग्री, पाकिस्तानी लत्ताकपडा, पहाडी क्षेत्रमा उत्पादन हुने अल्लो कपडा, कृषि औजार, मोटरसाइकल जस्ता सामग्री प्रर्दशनी एवं बिक्रीमा राखिएको थियो ।

    तीन लाखभन्दा बढी उपभोक्ता सहभागी भएको मेलामा हुन्डाइ कम्पनीको पाँच वटा गाडी बिक्री भएको थियो ।     पायोनियर प्रालिको डिलरले रु २६ लाख मूल्य बराबरको गाडी, टिभिएसका सन्जीव पोखरेलले रु सात लाख ८० हजार मूल्य बराबरको मोटरसाइकल बिक्री गरेको थियो । 

    विसं २०५३ देखि यस क्षेत्रमा काशी महोत्सवबाट शुरु भएको प्रदर्शनीको महत्व बढ्दै गएपछि विराटनगर क्षेत्रमा औद्योगिक पर्दशनी केन्द्रको निर्माण हुनुपर्ने उद्योगीले माग गर्दै आएको छ । यसमा प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ तथा मोरङ व्यापार सङ्घले साझेदारी गर्ने भएको छ ।

समापन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रदर्शनीले देश र देशबाहिर नेपालको क्षमता, दक्षता तथा योग्यता पु¥याउन मद्दत गर्ने बताएका छन् । उनले यस किसिमको प्रदर्शनीले उपभोक्ता एवं उद्योगीलाई उत्साहित बनाउने तर्क गर्दै राजनीतिक अस्थिरतामा आफ्नो भविष्य खोज्नेबाट देशको विकास नहुने बताए । 

    मन्त्री ढकाले कोशी अस्पतालको स्तरोन्नति गर्न सङ्घीय सरकारले स्पष्ट दृष्टिकोणसाथ अघि बढ्ने भन्दै अस्पतालमा काम राम्रो नगर्ने र क्लिनिकमा गएर सेवा प्रदान गर्ने चिकित्सकलाई नियमन गर्ने बताए । अस्पताललाई उन्नत र राम्रो बनाउने मेरो पनि चाहना भएको भन्दै मन्त्री ढकालले जनताका सेवामा समर्पित रहन पेशाकर्मी एवं राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गरे ।

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरिब एवं विपन्न परिवारको उपचार गर्ने हिसाबले कोशी अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गरे । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले निजी क्षेत्रले सरकारको हरेक क्रियाकलापमा साथ दिइरहेकोले निजी क्षेत्रको उत्थानका निम्ति सरकार उदार भएर आउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप