केन्द्रीय संस्करण

मिथिला माध्यमिकी परिक्रमा : यस्तो छ विश्रामस्थल

person explore access_timeफागुन ११, २०७६ chat_bubble_outline0

जनकपुर । मिथिला मध्यमा परिक्रमा आइतबारदेखि विधिवतरुपमा सुरु भएको छ । होलीको दुई साता अघिदेखि यो धार्मिक उत्सव सुरु हुन्छ ।

ऐतिहासिक धार्मिक महत्वको १५ दिने मिथिला परिक्रमा धनुषाको कचुरीबाट शुरु भएको हो । मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, किर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिरमा ल्याउने परम्परा छ ।

फागुनको आँैशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरि १ सय २० किलोमिटर भू–भाग साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।

बृहत्, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेख्य नै छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहित मौलिक पहिरनमा लाखाँै नर–नारीहरु सहभागी हुने गर्छन । लावा लस्कर सहित मिथिलाको चारै स्थानका धार्मिक स्थलहरुको परिक्रमा गर्ने परम्परा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।

१५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।

१५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटकस्थलको रुपमा प्रसिद्धि दिलाउने गर्दछ । माध्यमिकी परिक्रमामा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको छ ।

मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदैँ आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुुसन्त सहभागी हुने गर्दछन् ।

महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने यस धर्मिक यात्रा फागुन पूर्णिमा तिथि पारी होली खेलेर समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा  मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधुसन्तहरुको भनाइ छ ।

माध्यमिकी परिक्रमाको विश्रामस्थल र विशेषता

मध्य परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमा अन्तर्गत ८० कोशको वृत्ताकारमा घुम्नु पर्दछ । यस क्रममा विभिन्न विश्रामस्थल पर्दछन् ।

हनुमानगढी : फाल्गुण अमावस्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी (मिथिलाविहारी) को डोला लिएर जानेहरू जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौँ वर्ष पुरानो हनुमान मन्दिर छ । यस क्षेत्रलाई अचेल हनुमाननगर भन्ने गरिन्छ । यो सीमावर्ती क्षेत्र भारतको बिहारमा पर्दछ ।

कल्याणेश्वर (कलना) : दोस्रो विश्रामस्थल भारतको कल्याणेश्वर अर्थात कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर छ । राजर्षि जनकले आफ्नो राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरेका चार महादेवमध्येको यो एक हो ।

गिरिजास्थान (फुलहर): परौणाकिस्थलको रुपमा रहेको कल्याणेश्वर स्थानबाट चार कोश दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको विश्रामस्थल हो । त्रेतायुगमा सीताले यहीँ फूल टिपिरहेको बेला रामसँग पहिलो भेट भएको किंवदन्ती छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र फूलबारी छ ।

मटिहानी : मिथिला पञ्चकोशी परिक्रमाको चौथो दिन अर्थात् फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी पर्दछ । यहाँ सीताको ‘मटकोर’ विधिका लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर छ ।

जलेश्वर : मटिहानीबाट तिर्थालुहरु अर्को दिन जलेश्वर पुग्छन् जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गर्छन् ।

मडै : फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छन् र यहाँ राति विश्राम लिन्छन् । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेको लागि मडवा (वेदी ) यहीँ बनाइएको जनश्रुति पाइन्छ ।

धु्रवकुण्ड : मडईबाट सातौं दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिइन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुव कुण्ड छ ।

कञ्चनवन : ध्रुवको दर्शन गरेर तिर्थालुहरु महोत्तरीको अन्तिम विश्रामस्थलको रूपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेका थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्ति अनुसार यहाँ परिक्रमाबासी पुगी अबिर खेली होली मनाउने गर्छन् ।

पर्वता : नवम दिन तिर्थालुहरु धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ छ ।

धनुषाधाम : पर्वताबाट तिर्थालुहरु दशौं विश्रामस्थलको रूपमा रहेको धनुषाधाम पुग्छन् । यहाँ जनकपुरमा सीताको स्वयम्वर हुँदा मर्यादापुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमान लगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रबिन्दु धनुष रहेको पाइन्छ ।

सतोषर : फाल्गुण शुक्ल दशमीका दिन तिर्थालुहरु डोलासँगै सतोषर पुग्ने गर्दछ । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर छ ।

औरही : विमला नदीको तटमा रहेको औरहीमा १२ औं दिनको विश्राम लिइन्छ ।

करुणा : नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौं दिनमा प्रवेश गर्छन् । यहाँ करुणा नामको नदी छ ।

विशौल : तिर्थालुहरु करुणामा विश्राम गरेपछि चतुर्दशीको दिन भारतको विशौल पुग्ने गर्दछ । यहाँबाट कमला नदी बग्दछ भने यहाँ ऋषि विश्वामित्रको मन्दिर समेत छ ।

जनकपुरधाम : परिक्रमाको अन्तिम विश्रामस्थल जनकपुरधाममा तिर्थालु पुगी विश्राम लिन्छन् । यहाँ राति विश्राम पश्चात् अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन् । जानकी र रामअमन्दिरलाई केन्द्रबिन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन् । यससंगै मिथिलामा होली प्रारम्भ हुन्छ ।

यस्तो छ मिथिला मध्यमिकी परिक्रमा २०७६ को तालिका ः–

फागुन १२ गते सोमबार कल्यानेश्वर (भारत) – विश्रामस्थल

फागुन १३ गते मंगलबार गिरिजास्थान (भारत) – विश्रामस्थल

फागुन १४ गते बुधबार मटिहानी – विश्रामस्थल

फागुन १५ गते बिहिबार जलेश्वर – विश्रामस्थल

फागुन १६ गते शुक्रबार मड़ई – विश्रामस्थल

फागुन १७ गते शनिबार ध्रुवकुण्ड – विश्रामस्थल

फागुन १८ गते आईतबार कञ्चनवन – विश्रामस्थल

फागुन १९ गते सोमबार पर्वता – विश्रामस्थल

फागुन २० गते मंगलबार धनुषाधाम – विश्रामस्थल

फागुन २१ गते बुधबार सतोखर – विश्रामस्थल

फागुन २२ गते बिहिबार औरही – विश्रामस्थल

फागुन २३ गते शुक्रबार करुणा (भारत) – विश्रामस्थल

फागुन २४ गते शनिबार बिसौल (भारत) – विश्रामस्थल

फागुन २५ गते आईतबार  जनकपुरधाम – समापन

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.