शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिकतालाई ‘पश्चिमीकरण’ र ‘औद्योगीकरण’ भएको बुझ्नु गलत हो : सरमद शेहवाई

सोमबार, १२ भदौ २०७४, १० : २९
सोमबार, १२ भदौ २०७४

सरमद शेहवाई पाकिस्तानका स्पष्ट विचार राख्ने साहित्यकार हुन् । उनलाई एउटा रहस्यका रूपमा बुझ्नेहरूको सङ्ख्या पनि पाकिस्तानमा ठूलै रहेको छ । उनलाई उग्र प्रतिक्रिया जनाउने भनेर आरोप पनि लाग्ने गरेको छ । उनलाई तपाईं कि घृणा गर्नुहुनेछ अथवा निकै प्रशंसा । तर पनि उनका कृतिप्रति बेवास्ता लगभग असम्भव छ । दुभाग्र्यवश, सरमदको नामले केही समययता पाकिस्तानी छापामा विवादका रूपमा लियो । ‘भोगविलास’ र ‘व्यभिचार’ उनमाथि नित्य लाग्ने आरोप हो । तथापि सरमद शेहवाईलाई सजिलै पन्छाउन सकिँदैन । यो त्यस्तो समय हो, जब हाम्रो साहित्यिक परिदृश्यको ‘ओफो टेरिबल’ उसको ‘क्यारिकेचर’बाट अलग्गियो । यो त्यही समय हो, जब पर्दा उठ्यो र दर्शकले विधर्मका रूपमा त्यो सामथ्र्यको नापजोख गर्न पाए । ‘असुरक्षित साहित्यिक कुलीन’द्वारा मिहिनतापूर्वक पाकिस्तानको बहसलाई धमिल्याइको यो एउटा प्रकाश पारि नै पर्ने पाटो हो । यो प्रकाश धिपधिपे परम्परागत मैनको होइन, झल्झलाउँदो ‘स्पोटलाईट’को हो । सरमद सेहबाईलाई उनको मौनताका लागि अनुमति दिन सकिँदैन । यदि उनी मौन बसे भने यसलाई ‘मिलेमतो’ र ‘कायरता’को रूपमा अथ्र्याउन सकिन्छ । त्यसैले शेहवाईलाई बोल्न लगाएका छन्, पाकिस्तानको ‘डन’ पत्रिकाका पत्रकार अली खानले । 
 
अली खान : सन् ७० को दशकको सुरुवातमा तपाईंले आफ्नो ‘एभेँ गार्द’ थिएटर र कवितामा एउटा नयाँ खाले शैलीका साथ धमाकेदार आगमन गर्नुभयो भने यस्तो परिस्थितिको निर्माण गरेर तपाईं परिदृश्यबाट कसरी विलिन हुन सक्नुहुन्छ ?

सरमद शेहवाई : म त्यसबखत सायद एकदम आलोकाँचो थिएँ । हुनसक्छ अहिले परिस्थितिबारे बढी सचेत भएँ । साँचो कुरा, मैले दृश्य छाडेको हैन, दृश्यले केही समयका लागि मलाई छाडेको हो । तपाईंले निश्चित खालको मुडबारे कुरा गर्नुभयो र मुडहरू पृथक् बनाइँदैन । साठीको अन्तिमतिर यस्ता केही कुराहरू थिए । स्वाधीनताको लडाइँताका बाल्यावस्थामा रहेकाहरू हुर्किंदाका पीडाहरू भर्खर अनुभव गर्न थालेका थिए । विश्वयुद्ध र एसिया–अफ्रिकी राष्ट्रहरूको जागरणको कोखमा जन्मिएर हुर्केका यिनले नवस्वतन्त्र विश्वको आशा र युद्धको शून्यता दुवै व्यक्त गर्थे ।

यसले एक विध्वंशपूर्ण निकास निम्त्यायो– एक प्रकारको कवितात्मक विभोरता । तिनीहरू गर्भमा रहँदै केही गल्ती भएको हुनुपर्छ । तिनका प्रारम्भिक झर्रा कविताका टुक्राटाक्रीका साथ तिनले नयाँ संसारको स्वप्नदोष भेगे । आधुनिकता भनेको विराशतमा केही नपाएका युवाहरूको कवितात्मक अराजकता थियो त्यो । तथापि परिवर्तनको उत्काण्ठा खतरनाकरूपले प्रष्ट थियो । मैले साठीको दशकको यो ‘उन्मादी मुड’ लाई अभिव्यक्ति दिएको हँु । सायद यसका लागि एउटा बाटो दिएँ ।

खान : तर त्यो मानसिकताले निरन्तरता पाउन सकेन, सायद त्यसको जरो हामीकहाँ थिएन ? 

शेहवाई : हो, तपाईंको कुरा आंशिक सत्य हो । फरक कहाँ पर्यो भने हामीमध्ये केहीले हाम्रो ‘दादावादी’ जराहरू खोज्न दोस्रो विश्वयुद्धपछिको युरोपतर्फ लाग्याँै । त्यो सबै मौलिक संस्कृतिको अव्यक्त शक्ति र हाम्रो विपद अवस्था, बाँकी अफ्रो–एसियाली संसारजस्तै हो ।

धेरैजसो कविहरू, जो आधुनिकवादी आन्दोलनमा हुरीसरी उदाए, उनीहरू समयसँगै बढारिए । तिनले या त लेख्न छाडिदिए अथवा आफ्नो अडान बदलिदिए । तर यो आन्दोलन त्यति महत्वहीन थिएन, जसलाई हामीले सजिलै बेवास्ता गर्न सकौँ । सतहमा वाकयुद्ध जस्तो भए पनि गहिराइमा त्यहाँ आआफ्नो स्वत्व स्थापित गर्ने प्रबल इच्छा थियो ।

यो आन्दोलनको मनोगत गुह्य तत्व यसको वस्तुगत स्वरूपभन्दा विलकुल अलग थियो । स्थापना विरोधी आवेगले ‘एन्टी–नोवेल’, ‘एन्टी– हिरोइजम’ वा ‘एन्टी–फेस’को निर्माण गरेको थियो । धेरै पछि के ज्ञान पाइयो भने यो पुस्ताको परिवर्तन भनेको पश्चिमी समाजको व्यक्तिगत रूपको निर्माण रहेछ । हामी झुक्किएछौँ । 

भयानक रूपमा कुलीन बनाउँदै र उपयुक्त समयमा प्रहार गरिएकाले उनीहरूले तिनलाई यस्तो बनाइएको प्रकृति बुझ्नै सकेनन् । यदि पश्चिममा विसङ्गतिको जन्म वैभवमा भएको थियो भने एसियामा यो आभासका बीचमा उठ्यो । यहाँ यो मान्छेलाई उसकै धरोहर र उत्पादकत्वबाट गरिएको यो विभेदीकरण हो । 

तिनले अमिर खुस्रो, मिरा बाई र कबिर जस्ता उस्तादको बेवास्ता गरेजस्तो देखिन्छ । यसले भाषालाई आत्मीय रूपमा प्रयोगमा ल्याए । यही भाषिक औजारहरू प्रयोगमा ल्याएर मैले समकालीन र शास्त्रीय क्षेत्रीय संस्कृतिको मूलबाट प्रेरणा लिएको छु । तपाईं हाम्रो उर्दू कवितामा कहिल्यै हाम्रो आफ्नो भू–दृश्य भेट्नु हुन्न । यदि खोला हो भने त्यो अर्कै शब्दमा हुनुपर्ने । यदि चरा हो भने त्यो पनि अर्कै भाषामा हुनुपर्ने । 

खान : तपाईंलाई यस्तो किन भयो जस्तो लाग्छ ?

शेहवाई : विगतमा हामीले डरलाग्दो चरम दमन भोग्यौँ । सहदत हसन मन्टो र अरू प्रगतिशीलहरूको समाजिक यथार्थवादसँगै आरम्भ भएको एउटा प्रक्रियाले हाम्रो साहित्यको वृत्तान्त र गजलको मध्यकालवादबाट मुक्त गर्यो । यी दुवै स्वरूपहरू फेसनको रूपमा पुनः फर्किएका छन् । त्यसमा हाम्रा साहित्यिक तथाकथित गुरुहरूले त्यसलाई अँगाल्न देखाएको उत्साहलाई धन्यवाद । 

हाम्रो सम्पूर्ण संस्कृतिमा अरुचिकर नोस्टाल्जियाको बास्ना आउँछ । नोस्टाल्जिया भनेको एउटा मान्छेको जीवनमा दोहरिने घटना मात्र हो । तर यो वर्तमानको सापेक्षतामा जोडिएन भने यो एउटा आत्मश्लाघाजन्य जण्डिसमा पतीत हुन्छ । यो पृष्ठभूमिमा परिदृश्य अचानक अहंकारी र देखावटीको कब्जामा पुग्छ । हाउभाउ कला भइदिन्छ । उपदेश साहित्य र ग्ल्यामर पहिचान । कोही यो फराकिलोपनबाट मोहित हुनुभन्दा बरु यसलाई जिस्क्याउन थाल्छन् ।

खान : तपाईं नयाँ आँटिलो कवि भनेर चिनिनु हुन्थ्यो तर हालसालै तपाईंले काफीहरू लेख्न सुरु गर्नुभएको छ । तपाईंले काफीलाई किन अभिव्यक्तिको स्वरूपको रूपमा रोज्नु भयो ?

शेहवाई : काफी वा वाई सिन्ध र पञ्जाव क्षेत्रमा सबैभन्दा बलियो माध्यमका रूपमा रहिआएको छ । यसले यो क्षेत्रको भू–दृश्य र यो भूमिमा जरा गाडेर बसेको संस्कृतिको प्रारूप बोकेको छ । काफी सँगसँगै मैले दोहा र किस्साका स्वरूप पनि अँगालेको छु । जुन उत्तिकै आधुनिक काव्यमा उपयुक्त हुन्छ । काफी र आधुनिकता एकअर्कासँग विरोधाभाषी छैनन् । यो तपाईंले स्वरूपसँग खेल्ने तरिका हो ।

स्वरूप जुनसुकै होस् र जति नै पुरानो होस्, एक कविको स्पर्शले सजीव हुन्छ । आधुनिकतालाई साहित्यिक भाष्यको ‘पश्चिमीकरण’ र ‘औद्योगीकरण’ अर्थमा बुझ्नु गलत हो । आफ्नो विगत र सजीव परम्पराको सचेतनाबिना कुनै आधुनिकता सम्भव हुदैन । यो ‘ब्याक मिरर’बिना गाडी चलाउनुजस्तै हो । जुन आत्मघाती हुनसक्छ ।

खानः गजलबारे के भन्नु हुन्छ ?

शेहवाई : गजलको माध्यम र यसको परम्पारका कारणले पनि यसले एउटा शास्त्रीय नियमको माग गर्छ । यसका लेखकले तिनै विम्बमा सीमित रहेर काम गर्नुपर्छ । जसको स्रोत फारसी रहेको छ । साथै यो सहजै पाइन्छ पनि । भर्खरका कविहरू यो राजसी रीतको जडताबाट मुक्त हुन खोज्दैछन् । तीमध्ये केही स्वरूपमा नयाँपन ल्याउन सफल भएका छन् । म गजलको वा यो सन्दर्भमा कुनै पनि स्वरूपको विपक्षमा छैन । तर पनि यसले मलाई तान्दैन । काफीमा म आफ्नो आश्रय पाउँछु ।


खान : तर तपाईंका काफीहरू उर्दूभन्दा भिन्न भाषामा छन् ?

शेहवाई : मेरो अडान ठ्याक्कै त्यही हो । मैले प्रयोग गरेको भाषा निश्चय नै तथाकथित साहित्यिक राजसी उर्दू होइन । यो एउटा उद्विकासको प्रक्रियाको स्वभाविक परिणाम हो । जुन राजसभा बाहिर समानान्तर रूपमा अस्तित्वमा थियो, परिस्कृत भइरहेको थियो । केही आलोचकहरू यस्तो कुनै परम्परा नरहेको र राजसभाको मान्यता दिएको भाषा मात्र साहित्यिक प्रयोजनका लागि स्विकार्य हुने बहस गर्छन् ।

तिनले अमिर खुस्रो, मिरा बाई र कबिर जस्ता उस्तादको बेवास्ता गरेजस्तो देखिन्छ । यसले भाषालाई आत्मीय रूपमा प्रयोगमा ल्याए । यही भाषिक औजारहरू प्रयोगमा ल्याएर मैले समकालीन र शास्त्रीय क्षेत्रीय संस्कृतिको मूलबाट प्रेरणा लिएको छु । तपाईं हाम्रो उर्दू कवितामा कहिल्यै हाम्रो आफ्नो भू–दृश्य भेट्नु हुन्न । यदि खोला हो भने त्यो अर्कै शब्दमा हुनुपर्ने । यदि चरा हो भने त्यो पनि अर्कै भाषामा हुनुपर्ने । 

हामीले यसको ढुकढुकी सत्तरीको दशकको आरम्भतिरबाट सुन्न थालेका हौँ । यो अझै पनि सहरका गल्लीहरूमा सजीव छ । नयाँ जन्म भनेर मैले ती ‘आदम’ र ‘इभ’को कुरा गरेको होइन । अर्को शब्दमा भन्दा अति भौतिक धरातलमा नभएर धर्तीमै नयाँ सामाजिक प्राणीको निर्माण गर्न हो । हाम्रो साहित्यमा परालौकिक मिथकहरू हावी बनाइएको छ । जसलाई राजसीहरूले माया गरेर अँगालिरहेछन् । जब कि राजसभा आफै अस्तित्वमा छैन । 

कवितामा देखिने कुनै पनि महिला काली, ध्वाँसी, द्रविडियन महिला होइन, बरु ऊ एउटा अलौकिक इरानी महिलाको नक्कल हो । अरू उलेख्य प्रभावहरू पश्चिमबाट आएका छन् । जसले केही कविहरूलाई अन्तर्राष्ट्रिय भएको अनुभूति दिलायो । यो छोटो दृष्टिले तिनलाई आफ्नै जराबाट टाडा पुर्याएको छ । यो समय भनेको घर फर्किने बेला हो भन्ने मेरो बुझाइ छ । 

खान : विशेष गरेर तपाईंको लामो कविता ‘तिसरी पहर की दस्तक’ भन्ने कविताले नयाँ शैली र भाष्य बोकेको कविता बनाइदिन्थ्यो । त्यस विषयमा तपाईंलाई के लाग्छ ?

शेहवाई : मैले फिल्मको शैली अपनाएको थिएँ । नज्मको व्याख्याको शैली छाडेको थिएँ, फ्लासब्याकको प्रयोग गरेर र अचानक यथार्थबाट अतियथार्थमा जाने फिल्ममा जस्तो । मैले सहरमा विकास भएको दोहोरिरहने भाषिक बनावट पनि प्रयोग गरेको थिएँ । मैले शब्दहरूको परम्परागत भाव प्रयोग गरिनँ, बरु विगत र वर्तमानबाट टुक्का र छविलाई मोडेर परम्परागत अर्थ नष्ट गर्ने प्रयास गरेँ । यो एक खालको उदात्तताको विपरीत थियो ।

खान : तपार्इंले हाम्रो संस्कृतिको नयाँ जन्म भएको उल्लेख गर्नुभयो । यो भनेको के हो ?

शेहवाई : हामीले यसको ढुकढुकी सत्तरीको दशकको आरम्भतिरबाट सुन्न थालेका हौँ । यो अझै पनि सहरका गल्लीहरूमा सजीव छ । नयाँ जन्म भनेर मैले ती ‘आदम’ र ‘इभ’को कुरा गरेको होइन । अर्को शब्दमा भन्दा अति भौतिक धरातलमा नभएर धर्तीमै नयाँ सामाजिक प्राणीको निर्माण गर्न हो । हाम्रो साहित्यमा परालौकिक मिथकहरू हावी बनाइएको छ । जसलाई राजसीहरूले माया गरेर अँगालिरहेछन् । जब कि राजसभा आफै अस्तित्वमा छैन । 

यद्यपि हामी यो परम्परामा बाधिएका छौँ र हाम्रो साहित्य प्राज्ञिक, भयङ्कर झुट र काल्पनिक यथार्थमा बास गरेको छ । जनताको संस्कृतिको खेदो गरियो र निवार्सित गरियो । अर्को परम्परा राजसभा विरोधी कविहरूको हो । जसले यी बहुसङ्ख्यकको निर्वासित संसार अँगाले । खासमा यो परम्परा यो संस्कृतिको मूल नसा हो ।

खान : के तपाईंले यो उपमहादेशमा रहेको सुफी परम्पराका बारे उल्लेख गर्दै हुनुहुन्छ ?
 
शेहवाई : यदि तपाईं मेरो कुरालाई त्यो नामले भन्न चाहनुहुन्छ भने हो । तर सुफी शब्दलाई गलत ढङ्गले अथ्याई राखिएको छ । पटक–पटक जानीबुझी केही कविहरू जस्तै– वारिस शाह, शाह हुसेन, शाह लतिफ र ख्वाजा फरिदमाथि अन्याय भइरहेको छ । जो रहस्यात्मक कवि मात्र थिएनन्, हाम्रो चेतनाको स्रोत हुन् । उनीहरुबाट हामी वञ्चित गराइयौँ, हामीसँग भएको हाम्रो साहित्यिक मापदण्ड र शैक्षिक प्रणालीका कारणले ।


खान : तपाईंले कहिलेदखि नाटक लेख्न सुरु गर्नुभयो ?

शेहवाई : यो स्वरूपसँग मेरो साक्षात्कार नसोचीकनै अचानक ठोक्किएर भएको हो । मैले नाटकलाई कहिलै लेख्न योग्य विकल्पका रूपमा सोचेको थिइनँ । तर सन् १९६८ मा काम खोज्दै जाँदा पीटीभीमा एउटा जागिर पाएँ । जुन जागिरमा टिक्नका लागि पनि मलाई पटकथा लेख्नुपर्ने थियो । यो काममा सफल हुन मैले नाटकबारे जानकारी राख्नुपर्ने भयो । त्यसैक्रममा मैले धेरै सामा्रीहरू पढेँ र एउटा नाटक लेखेँ । 


खान : ल्याम्प पोस्ट ?
 

शेहवाई : हो र यो नाटकले समस्या निम्त्यायो । नाटक निर्माता र म यस्तो नाटक निर्माण गरेको भन्दै कामबाट निकालियौँ । तर यतिबेलासम्म मैले नाटकमा अन्तरनिहित शक्तिको बोध गरिसकेको थिएँ र अर्को लेखेँ । यो पटक नाटक टिभीको लागि होइन स्टेजका लागि थियो । मैले स्टेजबाट मञ्चनका लागि स्टेज खोजेँ तर पाइन । किनभने त्यतिबेला लाहौरको ‘आर्ट काउन्सिल’मा ‘खालिद की खाल’ र ‘आप की तरफ’ जस्ता रङ्गहीन हास्य नाटक निर्माण भइरहेका थिए । त्यतिबेला नाम चलेका दुइटा सरकारी कलेज र किन्नाइर्ड कलेज अङ्ग्रेजीबाट मोहित भीडको एकाधिकारमा थियो । जो मौलिक रचनाभन्दा बनार्ड सा रुचाउँथ्यो । 

यथार्थमा यी दुईले स्थानीय लेखकको कुनै पनि मौलिक रचना त्यो समयसम्म निर्माण गरेकै थिएनन् । मैले लेखेको नाटक सहरका मध्यम वर्गीय युवाबारे थियो । त्यो एक प्रकारको रिहर्सल नाटक थियो, जसलाई हामीले साजसज्जा गर्नु पर्दैनथ्यो र सम्पूर्ण नाटकको हाउभाउबाट प्रदर्शन गर्नुपर्ने थियो । नाटकले राम्रो काम गर्यौ । पछि त्यही नाटक झन्डै त्यसै शैलीमा किन्नाइर्ड कलेजको नाटक महोत्सवमा निर्माण गरियो । 

पछि त्यसले उत्कृष्ट नाटकको पुरस्कार पनि हात पार्यो । त्यसलाई ‘डार्क रुम’ नाम दिइएको थियो । त्यति नै बेला सरकारी कलेजका प्रधानाध्यापक डा. अज्मलले सरकारी कलेज नाट्य क्लबका लागि मसँग एउटा नाटक मागे । उनी त्यही नाटक मञ्चन गर्न साह्रै इच्छुक थिए तर त्यहाँ रहेको एकाधिकारले उनले त्यही नाटक प्रदर्शित गर्न सकेनन् । 

खान : यस्ता नाटक सफल हुनका कारण के थिए ?

शेहवाईः मलाई लाग्छ तिनमा रहेको यथार्थवाद नै त्यस्ता नाटकको सफलताका कारण हुन् । यथार्थवाद यो अर्थमा कि यी नाटकले तपाईंलाई गलत पहिचानको झुटो संसारमा लग्दैनन् । बरु यथार्थ धरातलका समाजिक द्वन्द्व इमानदारीपूर्वक प्रस्तुत गर्छन् । ब्रेख्त भन्थे– ‘दर्शक थिएटरमा मात्र बसेका हुँदैनन्, आफू बाँचेको संसारमा पनि हुन्छ ।’ जब तपार्इं थिएटरलाई बाँकी संसारका अवस्थाबाट एक्ल्याउनु हुन्छ, यसले तपाईंको पीडाको निकासको केही डोजको काम गर्छ ।

खान : निरन्तर नाटकहरू किन लेख्नुभएन ?

शेहवाई : मैले एक–दुईवटा नाटकहरू लेखेँ । तिनीहरू सरकारी, किन्नइर्ड कलेज, राष्ट्रिय आर्ट काउन्सिल र लाहोर कलेज आदिमा सिकारु कलाकारहरूले मञ्चन गरे । तर १९७५ मा मैले व्यावसायिक कलाकारसँग काम गरेँ र ‘हंश’ नामक नाटक आर्ट काउन्सिलमा प्रदर्शन गरेँ, जुन पाकिस्तानका युवाहरूमाझ रहेको ड्रग्सको लत विषयमा थियो । तलत हसन र ताहिर नक्भीले मुख्य भूमिका निभाए भने फारुक जमिरले नाटक निर्देशन गरे । सन् १९७६ मा ‘असारफ–उल–मखलुकत’ नामक अर्को वियोगान्त प्रहसन आर्ट काउन्सिलमा मञ्चन गरियो तर पहिलो हप्तामै उतारियो ।  

खान : किन ?

शेहवाई : आर्ट काउन्सिलको सञ्चालक निकायले विश्वसनीय कारण दियो– वर्षाको कारण ‘ओडिटोरिएम’को छाना जुनसुकै बेला खस्ने खतरा रहेको उसको भनाइ थियो । रोचक त के भने पाँच वर्षभन्दा बढी समयपछि आफैले नभत्काउँदासम्म त्यो छानामुनि नृत्यकक्षा निरन्तर चलिरह्यो, बिना कुनै खतरा ।

खान : तपाईंले कुनै थप नाटकहरू लेख्नुभयो ?

शेहवाई : हो, लेखेँ । सन् १९७१ मा मैले पूर्ण लम्बाइको ‘सुनो गुप’ नामको साङ्गीतिक कमेडी लेखेँ । जसलाई सोइब हास्मीले निर्माण गर्दै थिए । रिहर्सलको काम जारी थियो र केही गीतहरू पनि कम्पोज भइसकेका थिए तर हास्मीले पीटीभीमा कन्ट्र्याक्ट पाए र त्यो नाटक मञ्चन हुन सकेन ।

खान : पीटीभीको कार्यक्रम ‘सच गुप’सँग तपाईंको केही सम्बन्ध छ ?

शेहवाईः नामले भनेझैँ त्यो केही हदसम्म केही ‘साँचो’ र केही हदसम्म ‘गुप’ हो । हास्मी र म आफैले ‘डार्क रुम’को निर्माणमा मिलेर काम गरेका थियौँ । पाकिस्तानको थिएटरबारे विचार आदानप्रदान गरेका थियौँ । हास्मी थिएटरको विषयमा उत्साही थिए तर पछि उनले सजिलो बाटो रोजे । उनले मेरो ‘सुनो गुप सुप’को ‘स्कृप्ट’मा काम गरेकाले त्यसको केही गीत र आइडिया यी कार्यक्रहरूमा प्रयोग भएका छन्, धेरै–थोरै त्यस्तै नाटकीयताका साथ । 

खान : हाम्रो स्टेज नाटकहरूबारे तपाईंको धारणा के छ ?

शेहवाई : हिजोआज देशमा थिएटरको विकास भइरहेको बारे चर्को हल्ला छ । यो वृद्धिका कारणमध्ये हाम्रो फिल्म उद्योगमा मनोरञ्जनको अभाव र त्यसको असफलता बताइएको छ । तर यही समयले १९औँ शताब्दीको अन्त्यमा भएको थिएटरको वृद्धिको सम्झना गराउँछ । जतिबेला तीसभन्दा बढी फारसी नाट्य कम्पनीहरू र तिनका ठेकेदारहरू आफ्ना कार्याकर्ताका साथ एकअर्कासँग प्रतिस्पर्धामा थिए । त्यो पनि यो उपमहाद्वीपमा ब्रिटिस उपनिवेशविरुद्ध भइरहेको स्वाधीनता आन्दोलनको सन्दर्भबाट पूर्णतया विमुख भएर हो । 

बरु यसले ठूलो थिएटर भीडलाई ‘सेहजादा गुल्फम्’ र ‘सब्ज परी’को बेतुकको कल्पना देखाइरहेको थियो । त्यसबेला खासमा थिएटर विकासको नाममा ब्रिटिस मालिकहरूको, हिन्दू लालाहरूको र फारसी सेठहरूको अवसरवादी र सचेत गठजोड तयार भइरहेको थियो । दुर्भाग्यवश आजका दिनसम्म यो उस्तै पुरानो सडेको कलाको माध्यमका रूपमा केही नाफाखोरको हातमा रहेको छ । समाजिक परिवर्तनको यो शक्तिशाली माध्यम कहिल्यै हाम्रो ऐतिहासिक प्रक्रियाको हिस्सा बनेन् । यसले कहिल्यै हाम्रो समाजको वास्तविक द्वन्द्व र जिउँदो मुद्दाहरू प्रस्तुत गर्न सकेन । यथार्थलाई ऐना देखाउने त परको कुरा यो यथार्थको ऐना पनि हुन सकेन ।  

खान : एउटा लेखकको समाजप्रतिको जिम्मेवारी के हो ?

शेहवाई : लेखकको समाजप्रतिको जिम्मेवारी कुरा गर्दैगर्दा समाजको लेखकप्रतिको जिम्मेवारी के हो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हो भन्ने तपाईलाई लाग्दैन ? म लेखनमा रहेर जीविका चलाउन सकिन्छ कि सकिन्न भन्ने पीडादायी विषयमा घोत्लिन चाहन्न । मन्टो जस्ता ठूला लेखकले पत्रिकाका लागि लेखेको ‘मास्टरपिसका लागि उनले २५ रूपियाँ पाएका थिए भन्ने हामीले भुल्नु हुँदैन । पाकिस्तानमा एउटा लेखकको अवस्था त्यति सुखद् छैन । उसले बाच्नका लागि विभिन्न बाटाहरूबारे सोच्नुपर्छ । के यो सुखद् हो ? त्यही भएर म लेखकको काम सिफरिस गर्न त्यति उत्साहित हुन्न ।

खान : पञ्जावी नाटक ‘पञ्जवान चिराग’ लेख्दा तपाईंले सुफी परम्पराबारे सोच विचार गर्नुभएको थियो होइन ?

शेहवाई : हो, खासमा यसले मूल थिमको पृष्ठभूमिको काम गरेको छ । यसले सिन्ध क्षेत्रका महान सुफी लाल शाहबाज कलन्दरको मिथकलाई मूलत आजको सन्दर्भमा पुनः अथ्र्याउने प्रयास गरेको थियो । दन्त्य कथाअनुसार एक समय महान कलन्दर राजाद्वारा कैद गरियो र उसलाई चेनमा बाँधियो । एक रात ऊ मग्न भएर नाच्न थाल्यो, नाचिरह्यो त्यसबीच उसको बन्धन पग्लियो र ऊ मुक्त भयो । मैले यी दुई छविलाई एक ठाउँमा राखेको छु । एउटा आनन्दविभोर नर्तकहरू र प्यारालाइज्ड मसान पुजारीहरू बीचको द्वन्द्व यसमा चलिएको छ । यसमा मैले नृत्य र प्यारालाइसिस बीचको सम्बन्ध केलाउने प्रयास गरेको छु । 

खान : अब पनि रहस्ययुत्त मौनता अथवा अझ बढी नाटक मञ्चन ?

शेहवाईः मैले कराँचीमा ‘सुनो गुप सुप’ निर्माण गर्ने सोच बनाएको छु । राम्रो प्रबन्ध गर्ने हो भने नाटक कोसेढुङ्गा हुनसक्छ । हामी यसलाई साङ्गीतिक महा–मेलाको रूपमा ल्याउने प्रयत्नमा छौँ । तपाईंले त्यो हेर्नुभयो भने भन्नुहोला मैले आफूलाई निर्धारण गरेको उच्च आदर्श प्रयोगमा ल्याउन सक्दो रहेछु कि रहेनछु । 

अनुवाद : श्रवण उप्रेती
पाकिस्तानबाट प्रकाशित डन पत्रिकाबाट अनुवाद गरिएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप