शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : दक्षिण कोरियाका नेपालीमा कोरोनाको त्रास, सेयर बजारमा नयाँ रेकर्ड

आइतबार, ११ फागुन २०७६, १९ : १०
आइतबार, ११ फागुन २०७६

कोरियामा कोरोना, नेपाली प्रभावित

दक्षिण कोरियामा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ जाने तयारीमा रहेका नेपालीहरुको उडान सारिएको छ ।

 यसैहप्ता दक्षिण कोरियामा जान तयार ५० जना नेपालीको उडान मिति सार्ने निर्णय गरिएको इपिएस कोरिया शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए । 

 इपिएसमार्फत दक्षिण कोरिया जान लागेका नेपालीहरुको उडान मार्च तेस्रो सातापछि गरिने उनले बताए । 

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान तयार भएका नेपालीको उडान केही समयका लागि सारिएको हो । दक्षिण कोरियामा करिब ३५ हजार नेपाली कामदार छन् ।  

दक्षिण कोरियामा रहेका नेपालीमा पनि संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेको छ ।

हालसम्म दक्षिण कोरियामा ६ सय बढीमा कोरोना भाइरसको जीवाणु भेटिएको बताइए पनि संक्रमण फैलने क्रम जारी रहेका कारण यो सख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियामा नेपालसहित विभिन्न मुलुकका आप्रवासी छन् । नेपालीमा अहिलसम्म संक्रमण भएको खबर आएको छैन ।  यद्यपि कोरियामा कार्यरत नेपाली कोरोनाको संक्रमण हुने हो कि भन्ने त्रासमा छन् ।  

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरैजसो दक्षिण कोरियाको चौथो ठूलो सहर ‘थेगु’ मा छन् । दक्षिण कोरिया सरकारले उक्त क्षेत्रलाई ‘स्पेशल केयर जोन’ घोषणा गरेको छ भने सो क्षेत्रमा बसोबास गर्ने २५ लाख नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको ऊहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मोत्सव बनाएका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुमको आठराइ गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका छन् । 
उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए । 

प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर,  सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत रहेका छन् । प्रधानमन्त्रीले आजै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गरे । त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उद्घाटन गरेका छन् । 

प्रमविरुद्ध उजुरी

प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले उजुरी हालेका हुन् ।

 उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरिएको बताएका छन् । 

प्रधानमन्त्री ओली, निवर्तमान मन्त्री बाँस्कोटा, संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका हुन् । 

यसअघि बाँस्कोटालाई कारवाहीको माग गर्दै आइतबार नै विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका थिए ।

लेखा समितिद्वारा साइबरको उजुरी

संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ ।

 समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 

 समितिका सचिव डा.रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरे । मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए । 

समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो । तर प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताए । 

 बिहीबार रातोपाटी डटकमले विजयप्रकाश मिश्रसँग गरेको कुराकानीका क्रममा उहाले सो दिन अडियो सार्वजनिक नगरेको भए लेखा समितिबाट जर्मन कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सहमति हुने बताएका थिए ।  साथै लेखा समितिका मान्छेहरुको पनि मिलेमतो रहेको आरोप मिश्रको थियो । सोही आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो । 


नेकपा कार्यदल 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधन प्रक्रिया अघि बढाउने भएको छ । त्यसका लागि नेकपाले तीन सदस्यीय कार्यदल बनाएको छ । शनिबार बसेको सचिवालय बैठले उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजान तीन सदस्यीय कार्यदल निर्माण गरेको बताइएको छ । माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनेको हो । 

एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बसेको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएसँगै राष्ट्रपतिबाट मनोनीत गरिने कोटाबाट वामदेवलाई नेकपाले राष्ट्रिय सभामा लाने तयारी गरेको बताइएको छ । 

यसअघि गौतमलाई नै उपाध्यक्ष बनाउन पार्टीको विधानसमेत संशोधन गरेको नेकपाले अब गौतमकै लागि संविधान नै संशोधन गर्न लागेको हो। वामदेवले यसअघि संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्न माग गर्दै  राष्ट्रियसभामा जान अस्वीकार गरेका थिए । 

 वामदेवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सिटमा २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । 

सञ्चार पदभार 

यसैबीच अर्थमन्त्री खतिवडाले आइतबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको पनि जिम्मेवारी सम्हालेका छन् । 

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् । 

 पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए । 

यसैगरी अर्थमन्त्री डा खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन् । 

राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अबदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने बताए । 

अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठुलाठुला ग्राहक खोज्ने ठुल्ठुला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न समेत आग्रह गरे । 

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताए । 

छाया सरकारको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । 

गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । 

 निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको उनले बताए । 

पाण्डले संसदमा भएका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताए ।  बास्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडी बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाकिएको उनले बताए । 

गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलो पटक आइतबार बसेको हो । प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेका बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको हो । 

प्रकाशशरण महत

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । 

काठमाडौंमा भएको कार्यक्रममा डा. महतले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने बताए । उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने धारणा राखे । 

मर्यादित महिनावारी 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ । 

जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवसर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो । दक्षिण गोलार्दयीय मर्यादित महिनावारी सञ्जाल सहआयोजक  रहेको छ । महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठीमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागि हुनेछन् । 

सेयर बजारमा नयाँ रेकर्ड

आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्ब भन्दा माथि पुगेको छ । बजारमा लगानीकर्ताले सेयर खरिदचाप बढाउँदा माग र आपूर्तिको सन्तुलन बिग्रिन गई नेप्सेमा उच्च वृद्धि भएको छ । 

आइतबार सेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको भएको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत सेयर बजारमा आउँदा सेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र सेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ । जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको बताए । उनले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि सेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताए । 

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत सेयर बजारलाई सपोर्ट गर्नेगरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको छ । त्यस्तै नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी खडा गर्नुले पनि लगानीकर्तालाई उत्सहित बनाएको छ । लगानीकर्ता प्रयाग ओझाले भने बजार प्रति लगानीकर्ताको आत्मविश्वास बढेकाले नै आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुवैमा उच्च वृद्धि भएको बताए । 

यस्तै लगानीकर्ताले सेयरबाजरका विरोधिका रुपमा लिदै आएका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने हल्लाले पनि आइतबारको बजारमा असर पारेको देखिन्छ । आइतबार बजारमा कारोबार खुलेको पहिलो २० मिनेटमा नेप्से ४३ अंकले उक्लिएको थियो । नेप्सेमा उच्च वृद्धि भएको देखेपछि केही लागानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गई नेप्से १९ अंकको वृद्धिमा झरेको थियो । तर फेरि सेयरको माग बढ्न थालेपछि करिब ३ घण्टाको अवधिमा नेप्से ७५ अंकले माथि उक्लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप