शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीको कठिन जितसँगै नेयमारलाई रातोकार्ड

सोमबार, १२ फागुन २०७६, ०८ : २९
सोमबार, १२ फागुन २०७६

ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले बोर्डोमाथि कठिन जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोलले हरायो । सात गोलको थ्रीलरमा घरेलु मैदानमा पीएसजीलाई जिताउन मार्कुन्योसले दुई तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरे । बोर्डोका उइ जो ह्वाङ, पाब्लो कास्टो र रुवेन पार्डाेले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता बोर्डोले लिएको थियो । १८औं मिनेटमा उइ जो ह्वाङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । बोर्डोको अग्रता लामो समय टिकेन । २५औं मिनेटमा एडिन्सन काभानीले एन्जल डी मारियाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा मार्कुन्योसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । लगत्यै बोर्डोका पाब्लोले पुनः बराबरी गोल फर्काए ।

पीएसजीले ६३औं मिनेटमा मार्कुन्योलसको ब्यक्तिगत दुई गोलको सहयोगमा पुनः अग्रता लियो । ६९औं मिनेटमा एमबाप्पेले काभानीको पासमा गोल गर्दै पीएसजीलाई थप बलियो बनाए । ८३औं मिनेटमा रुवेनले गोल गर्दै बोर्डोलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफमा इन्जुरी समयमा नेयमार दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए पछि अन्तिममा पीएसजी १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा बोर्डोले उठाउन नसक्दा पीएसजी विजयी भयो । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २६ खेलबाट ६५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५२ अंक छ । पीएसजीसँग हारेको बोर्डो ३५ अंकसहित १२औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप