बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकसँगै ‘प्रकोप’ भित्रिए के गर्ने ?

सोमबार, १२ फागुन २०७६, १४ : ३३
सोमबार, १२ फागुन २०७६

काठमाडौं । चीनको हुवेई प्रान्तको उहान सहरबाट शुरु भएको कोरोना भाइरस यतिबेला दक्षिण एशिया हुँदै खाडी मुलुक, अफ्रिकी मुलुक हुँदै अहिले अमेरिकी र युरोपेली मुलुकहरुमा समेत फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अहिलेसम्म विश्वका ३० बढी देशहरुमा कारोना भाइरसको प्रकोप देखिएको छ । हालसम्म कोरोनाका कारण विश्वभरबाट मृत्यु हुनेहरुको संख्या करिब २ हजार ५ सय नाघिसकेको छ भने विश्वभर यो रोगबाट संक्रमित हुनेहरुको संख्या ८० हजारमाथि पुगिसकेको छ ।

चीनबाट शुरु भएर विस्तारै अन्य मुलुकहरुमा समेत फैलिएको कोरोनाका कारण हाल जापानसहित दक्षिण कोरिया र इरानसमेत प्रभावित भएको छ । कोरोनाकै कारण जापानमा ४ जनाले ज्यान गुमाइसकेका छन् भने पछिल्लो समय दक्षिण कोरियामा र इरानममा समेत ६/६ जनाले ज्यान गुमाउन पुगेका छन् । यता, इटालीमा समेत कोरोनाका कारण मर्नेको संख्या तीन पुगेको छ । यी बाहेक अन्य मुलुकहरुमा समेत पछिल्ला दिनहरुमा कोरोनाका कारण मृत्युहुनेहरुको सख्या दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म चीनपछि कोरोनाबाट धेरै प्रभावित हुने देशहरुमा दोस्रोमा जापान(७ सय बढी) र तेस्रोमा दक्षिण कोरिया(६ सय बढी) रहेका छन् । युरोपेली मुलुक इटालीमा समेत विभिन्न सहर गरी करिब १ सय ५० जनामा कोरोना भाइरस देखिएको छ ।

यसरी कोरोना भाइरस विश्वभर फैलिदै जाँदा र मृत्यु हुनेहरुको संख्या क्रमिक रुपमा बढ्दै जाँदा विश्व सशंकित भएको छ । कोरोनाले आफ्नो प्रभाव बढाउँदै जाने तर रक्षात्मक तथा सुरक्षाका स्रोत साधन केही पनि व्यवस्थापन नहुँदा यतिखेर विश्व भयमा छ । सुरक्षाको रुपमा अहिलेसम्म कोरोनाबाट बच्ने कुनै औषधीको आविष्कार हुन सकेको छैन । अहिलेसम्म कोरोनाबाट बच्ने एउटै उपाय भनेको रक्षात्मक संवेदनशीलता नै हो ।

अहिले विश्वका विभिन्न देशहरुले कोरोनाभाइरसको संक्रमण फैलन नदिन रक्षात्मक उपाय अपनाउन थालेका छन् । देशभित्र कोरोना भाइरस छिर्न नदिन सीमा सुरक्षादेखि विदेशी पर्यटकहरुको आगमनलाई समेत रोक्ने नीतिमा देशहरु पुगेका छन् । यस्तैमा पछिल्लो समय इरानमा कोरोना भाइरसको संक्रमण देखिएसँगै पाकिस्तान र टर्कीले इरानसँगको सीमा नै बन्द गरेका छन् । कोरोनाका कारण ६ इरानीको मृत्यु भएसँगै सतर्कता अपनाउँदै यी देशहरुले आफ्नो सीमा बन्द गराएका हुन् । आफ्नो देशमा कोरोनाको थप महामारी फैलिन नदिन इरान, टर्की, पाकिस्तान लगायतका देशहरुले चिनियाँ नागरिकको आगमन नै बन्द गराएका छन् ।

यता, रुसले समेत चिनियाँ नागरिकको आगमनमा रोक लगाएको छ । चिनियाँहरु मात्र होइन रुसले चीनहुँदै आउने अन्य मुलुकका पर्यटकहरुलाई समेत कडाई गरेको छ । जुनसुकै मुलुकबाट आएको भएतापनि रुस छिर्ने जोकोहीले कम्तिमा १५ दिन क्वारेनटाइनमा बस्नु पर्ने व्यवस्था रुसले गरेको छ ।

त्यस्तै, अमेरिका, जापान, क्यानडा इण्डोनेशिया, थाइल्याण्डले समेत आफ्नो देशमा प्रवेश गर्ने जोकोहिलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

संसारभर कोरोनाको विगविगी बढेसँगै यी देशहरुले आफ्नो पर्यटन व्यवसायलाई समेत ध्यान नदिई विदेशी पर्यटकहरुको आगमनमा कडाई गरिरहेको छ । अझ चिनियाँ नागरिकहरुका लागि त सबै जसो देशरुले प्रवेशमा रोक लगाएको अवस्था हो ।

कोरोनाभाइरसको महामारीबीच नेपालको भ्रमण वर्ष

कोरोनाभाइसरले विश्व आक्रान्त रहेको बेला नेपालमा भने, भ्रमण वर्ष चलिरहेको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षको शुरुवातमा नै चीनमा कोरोना देखिएसँगै नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ अघि बढेको सरकारलाई कोरोनाले नराम्रोसँग झड्का दिएको छ । विश्वभर कोरोनाको महामारी फैलिएसँगै सरकारले लिएको भ्रमण वर्षको लक्ष्य त के लक्ष्यको आधाआधी पर्यटक पनि यस वर्ष नेपाल भित्रिने हो कि होइन भन्ने अन्योलता थपिएको छ ।

कोरोनाका कारण चिनियाँ पर्यटक मात्र होइन अन्य मुलुकहरुबाट समेत पर्यटक रोकिएका छन् । स्भाविक रुपले यस वर्ष पर्यटन घट्ने निश्चित छ । यद्यपी सरकारले भने पर्यटन प्रबद्र्धनको प्रचार–प्रसार भने जारी राखेको छ ।

विश्वले विदेशीहरुको चहलपहल रोकिरहेको बेला नेपालमा भने निस्फिक्री नेपाल भ्रमणको आह्वान

कोरोनाले विश्व सताइरहेको बेला यतिखेर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले विदेशीहरुको आउजाउमा विशेष निगरानी गर्नु पर्ने हो । कोरोनाको सावधानिका लागि हामीले हाम्रा बोडर तथा पोर्टहरुमा कडाई गर्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । एयरपोर्टमा सामान्य चेकजाँच बाहेक अरु संवेदनशिलता अपनाइएको छैन । विदेशीहरुले आफ्नो देशमा कोरोना छिर्न नदिन सावधानि अपनाउँदै बोडर तथा पोर्टहरुमा कडाइ गरेका छन् । यतिसम्मकी देशमा विदेशीहरुको आगमनलाई समेत रोक्ने नीति लिइएको छ । तर नेपाल भने निस्फिक्री विदेशीहरु भित्रिरहेका छन् । अझ सरकार आफै ‘नेपाल कोरोना फ्रि जोन’ भनेर प्रचार प्रसार गरिरहेको छ ।

यस्तो समयमा आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै विदेशीहरुको चहलपहल घटाउनु पर्नेमा सरकार उल्टै चहलपहल बढाउने तर्फ लाहित देखिन्छ । विदेशीहरुले आफ्नो देशमा भित्रिने कोरोना प्रभावित क्षेत्रका जोकोहीलाई प्रवेशमा कडा गर्दै अनिवार्य क्वारेन्टानको व्यवस्था गरिरहेको बेला नेपालले भने सामान्य चेकजाँच बाहेक सुरक्षा संवेदनशीलता अपनाएको छैन । यसले देशमा नसोचेको दूर्घटना निम्त्याउन सक्ने देखिन्छ ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक(सिईओ) धनन्जय रेग्मी कोरोनाको संवेदनशीलतालाई नेपाल सरकारले ध्यानमा राखेको तर पर्यटन आगमनमा भने कुनै अवरोध नगरेको स्वीकार छन् । पर्यटन क्षेत्रमा कुनै देश भूगोललाई भिन्न नमानिने हुँदा विश्वलाई एक मानेर जानुपर्ने उनको तर्क छ ।

‘डब्लुएचओका अनुसार अहिलेसम्म नेपाल कोरोनामुक्त देश हो । यहाँ कोरोनाको कुनै खतरा छैन । फेरि अन्य मुलुकहरु र चीनसमेत पूर्णरुपमा कोरोनासंक्रमति देश होइन । अन्य मुलुकहरुमा नगन्य मात्रामा मात्र कोरोनाको संक्रमण देखिएको हो । यस्तो अवस्थामा स्वस्थ व्यक्ति किन घुमफिर गर्न नपाउने ?’

सिईओ रेग्मीले भने, ‘यस्तो अवस्थामा त बरु एक असल छिमेकिको नाताले सहानुभूती दर्शाउन सक्नुपर्छ । सीमा बन्द गरेर आगमन बन्द गरेर भन्दा पनि हृदय खुल्ला गरेर सहयोग गर्नुपर्छ ।’

‘जहाँसम्म सुरक्षा संवेदनशीलताको विषय छ त्यो हामी अपनाइरहेकै छौँ । विमानस्थलमा २४सै घण्टा खट्ने गरी चार जना चिकित्सकहरु खटाइएको छ । चीनबाट ल्याएका विद्यार्थीहरुलाई क्वारेनटाइनमा राखिएको छ । र अर्को तर्फ चीनसमेत आफैले सतर्कता अपनाएको छ । आफुबाट कोरोना अन्य देशमा नफैलियोस् भनेर आफ्ना नागरिकहरुलाई बाहिर अन्य देश विदेश घुमफिर नगर्न आग्रह गरेको छ । जानेहरुको पनि सुक्ष्म रुपमा चेकजाँच गराएर मात्र पठाएको छ । यस्तो अवस्थामा हामी डराउने पर्ने केहि छैन,’ उनले दाबी गरे ।

रेग्मीका अनुसार यो बेलाको नेपाल भ्रमण वर्ष समय सान्दर्भिक नभएपनि कठिन परिस्थितिका बाबजुद वातावरण विस्तारै सहज हुँदै जाने छ । पहिले पनि नेपालले पर्यटन क्षेत्रमा इबोला, स्वाईफ्लु जस्ताको फेस गरी सकेकाले अहिलेको कोरोनाबाट त्यति धेरै विचलित भइहाल्नु नपर्ने र विश्वबाट कोरोनाको प्रकोप विस्तारै कम हुँदै जानेमा आफूहरु ढुक्क रहेको बताए । कारोनाले विश्व आक्रान्त हुँदा नेपालको भ्रमण वर्ष नै केहि समय स्थगन गर्ने की भन्ने सवालमा सिइओ रेग्मीले भ्रमण वर्ष शुरु भएको दुई महिनामा नै आत्तिहाल्न नपर्ने बताए ।

यता, टेकिङ्ग एजेन्सीस् एशोसियसन अफ नेपाल(टान)का अध्यक्ष खुम सुवेदी विश्वमा बढ्दै गएको कोरोनाको प्रकोप र नेपालको भ्रमण वर्षले तात्विक उपलब्धी हात नलाग्ने बताउँछन् । यस्तो अवस्थामा नेपालको पर्यटन वर्ष नै प्रभावित हुने र जोखिम समेत बढ्ने उनको तर्क छ । ‘अहिले सम्म त नेपालमा कोरोनाभाइरस संक्रमति भेटिएको छैन । एक जनामा देखिएकोमा त्यो पनि उपचार पश्चात सकुशल घर फर्किसकेका छन् । तर पछिल्लो समय विश्व बजारमा कोरोनाको प्रकोप बढ्दै गएको छ । यस्तो अवस्थामा नेपालको पर्यटन क्षेत्र प्रभावित त भएको छँदैछ यसले जोखिम समेत बढाएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘यस्तो जटिल अवस्थामा के गर्ने के नगर्ने भनेर संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको संयोजकत्वमा पर्यटन व्यवसायीहरु निमिति छलफलमा जुटिरहेको छ । यतिखेर नेपाल पर्ख र हेरको अवस्थामा छ । केहि समय पछि कोरोना आफै नियन्त्रीत हुने र पर्यटन बजार खुल्ला हुने अपेक्षा छ ।’

पछि कोरोना नियन्त्रणमा आउला नआउला, पर्यटन बढ्ला नबढ्ला त्यो आफ्नो ठाउँमा छ । तर अहिलेको नेपालको प्रमुख सरोकारको विषय सुरक्षा संवेदनशीलताको हो । यसरी असुरक्षित तरिकाले भ्रमण वर्षको सफलता र पर्यटकको संख्यात्मक वृद्धि मात्र खोजिरहने हो भने देशमा पर्यटकसँगै प्रकोप पनि नभित्रिएला भन्न सकिदैन । यदि त्यसो भएको खण्डमा नेपालले ठूलो दुर्घटना व्यहोर्नुपर्ने निश्चित । कामना गरौँ त्यसो नहोला । यदि त्यस्तो भयावहको अवस्था आए जिम्मेवार को ?’ त्यसैले यतिखेर भ्रमण वर्षको डम्फु बजाउनुभन्दा सरकार देशको सुरक्षा र संवेदनशीलतामा सजग हुनु नै बुद्धिमानी हुने उनको भनाइ छ ।

हालसम्म कोरोना प्रभावित देशहरु :

१. चीनः २५ सय ९२ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित

२. जापानः ४ जनाको मृत्यु, ७ सय बढी संक्रमित

३. दक्षिण कोरियाः ६ जनाको मृत्यु, ६ सय बढी संक्रमित

४. इरानः ६ जनाको मृत्यु, २८ जना बढी संक्रमित

५. इटालीः ३ जनाको मृत्यु, १ सय ५० जना बढी संक्रमित

६. हंकङ्गः २ जनाको मृत्यु, ७४ जना बढी संक्रमित

७. ताइवानः १ जनाको मृत्यु, २८ जना बढी संक्रमित

८. फ्रान्सः १ जनाको मृत्यु, १२ बढी संक्रमित

९. फिलिपिन्सः १ जनाको मृत्यु, ३ जना बढी संक्रमित

१०. सिंगापुरः ८९ जना बढी संक्रमित

११. थाइल्याण्डः ३५ जना बढी संक्रमित

१२. ताइवानः २६ जना बढी संक्रमित

१३. अष्ट्रेलियाः २५ जना बढी संक्रमित

१४. मलेसियाः २२ जना बढी संक्रमित

१५. अमेरिकाः १७ जना बढी संक्रमित

१६. जर्मनीः १६ जना बढी

१७. भेतनामः १६ जना बढी संक्रमित

१८. ब्रिटेनः ९ जना बढी संक्रमित

१९. क्यानडाः ९ जना बढी संक्रमित

२०. रुसः ३ जना संक्रमित

२१. फिलिपिन्सः ३ जना संक्रमित

२२. इण्डियाः ३ जना संक्रमित

२३. कुवेतः ३ जना संक्रमित

२४. इजरायलः २ जना संक्रमित

२५. श्रीलंकाः १ जना संक्रमित

२६. बेल्जियम, कम्बोडिया, इजिप्ट फिल्डल्याण्डः १÷१÷१ जना संक्रमित

२७. नेपाल १ जना संक्रमित(उपचार पछि फर्किसकेको)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप