शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण फैलिएका देशका नागरिकको नेपालमा बाक्लो आवतजावत, ठूलो विपत्तिको खतरा

थर्मोमिटर गनको भरोसा : विन्डो पिरियडका संक्रमित छिरे भने के होला ?
सोमबार, १२ फागुन २०७६, १५ : ०४
सोमबार, १२ फागुन २०७६

चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसको माहामारी गर्मी मौसम सुरु भएपछि रोकिने विश्वास गरिएको थियो । तर, त्यो विश्वासका विपरीत माहामारी दक्षिण कोरिया, इरान, इटाली लगायतका देशहरुमा समेत देखा परेपछि विश्वव्यापी रुपमै चिन्ता र आशंकाको माहोल सिर्जना भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विश्वव्यापी माहामारी बन्न नदिनको लागि यसको रोकथाम गर्ने सम्भावना ‘साँघुरो बन्दै गइरहेको’ चिन्ता जाहेर गरको छ । यहीबेला विश्वका विभिन्न मुलुकले संक्रमण फैलिएका तथा संक्रमणका सम्भावना भएका मुलुकका नागरिकलाई आफ्नो मुलुक छिर्नको लागि कडाइ गर्ने, बन्देज लगाउने तथा सीमा समेत सील गर्ने काम थालिसकेका छन् । तर, त्यसको ठीक विपरीत ‘नेपाल संक्रमणमुक्त देश’ को बखानमा सत्ताधीशहरु रमाइरहेको देश नेपालमा भने संक्रमण फैलिएका देशका नागरिक निर्वाध आउने क्रम बढेर गएको तथ्यांकले देखाएको छ ।

कोरोनाको विश्वव्यापी कहर

फागुन १२ गते बिहान ११ बजेसम्मको तथ्याङ्क हेर्ने हो भने विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ हजार ६ सय १९ जना पुगिसकेको छ । यसमा सबैभन्दा बढी कोरोना भाइरस उत्पत्ति भएको स्थान चीनको ऊहान प्रान्तका स्थानीयको मृत्यु भएको छ भने यसले अन्य देशमा पनि उत्तिकै त्रास फैलाएको छ । नेपालमा पनि एकजनालाई कोरोना भाइरस लागेको र निज उपचारपछि पूर्ण रुपमा निको भएको पुष्टि भएपनि हालसम्म अन्य कुनै व्यक्तिलाई यो भाइरसले संक्रमण गरेको कुरा प्रकाशमा आएको छैन ।

कोभिड २०१९ नाम दिइएको र अहिले माहामारीका रुपमा फैलाइरहेको नयाँ प्रजातिको कोरोना भाइरसलाई सार्स र इबोला जत्तिकै खतराको सूचीमा राखिएको छ । यसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै जाँदा विश्वका विभिन्न मुलुकहरुले संक्रमण फैलिन नदिनको लागि कडा कदमहरु चालेका छन् । संक्रमण देखिएका वा संक्रमणको सम्भावना भएका देशहरुबाट आउने नागरिकहरुको आवातजावातलाई नै नियन्त्रण समेत गर्न थालेका छन् । एकातिर विश्वव्यापी रुपमा यो स्थिति छ भने अर्कोतिर संक्रमणको उद्‍गम देश चीनसँगै सीमा जोडिएको हाम्रो देश नेपालमा भने यसको रोकथाम वा रोग आउन नदिनका लागि गरिएको प्रयास पर्याप्त छैन ।

थर्मोमिटर गनको भरोसा : विन्डो पिरियडका संक्रमित छिरे भने के होला ?

अहिले विमानबाट नेपाल आउनेलाई विमानस्थलमा थर्मोमिटर गनको सहायताले ज्वरो आएको छ कि छैन भनेर र्‍यापिड टेस्ट गरिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम भएको छैन । कुन देशबाट आएका नागरिक के गर्दैछन् भनेर सरकारले न निगरानीमा राखेको छ न त उनीहरुबारे थप बुझ्ने काम नै गरेको छ । बस्, ज्वरो नआएको पाइए उनीहरुलाई सहज ढङ्गले नेपाल प्रवेश गर्न दिइएको छ । उदेकलाग्दो कुरा चाहिँ के छ भने शरीरको तापक्रमकै आधारमा मात्रै कुनै पनि व्यक्तिलाई कोरोनाभाइरसले संक्रमण गरेको छ कि छैन भनेर थाहा पाउन सकिने अकाट्य उपाय हुँदै होइन । कदाचित त्यसरी यात्रा गर्ने मानिस कोरोनाले संक्रमित छ तर ऊ भाइरसको विन्डो पिरियड (संक्रमणका लक्षणहरु नदेखिने समयावधि)भित्र छ भने त्यो कुरा पत्ता लाग्नै सक्दैन ।

यता भ्रमण वर्ष चलिरहेकाले पर्यटनमन्त्री चाहिँ नेपाल कोरोनामुक्त देश भएको भन्दै नेपाल भ्रमण गर्न निम्तो दिइरहेका छन् । विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकलाई पनि न पर्याप्त चेकजाँच गरिएको छ न त उनीहरुमाथि निगरानी नै राखिएको छ । जसले गर्दा कोरोना भाइरसको त्रासलाई बढाएको छ र यसले गम्भीर स्वास्थ्य सङ्कट ल्याउन सक्ने खतरा पनि छ ।

कोरोना भाइरसका कारण नेपाल आउने पर्यटक वा अन्य प्रकृतिका कामका लागि आउनेहरुको सङ्ख्या त घटेको छ, यद्यपि कोरोनाबाट सङ्क्रमित देशहरुबाट आउने नागरिकलाई रोक्ने, आएकाहरु संक्रमित छन् कि छैनन् भनेर ढुक्क हुनको लागि अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने वा संक्रमणका सम्भावना भएका देशहरुबाट आउनकै लागि समेत अस्थायी रुपमा प्रतिबन्ध लगाउने ? यसतर्फ भने अझै सोचेको देखिँदैन ।

कोरोना भाइरसको बिगबिगी बढिरहेको समयमा आगामी एक वा दुई महिनाका लागि कोरोनाबाट सङ्क्रमित भएका निश्चित देशहरुका नागरिकलाई रोक्न सरकारले पहल गर्नुपर्थ्यो । तर नेपाल कोरोनामुक्त देश भएको भन्दै ढोका ह्वांगै खुल्ला राखिएको छ । त्यसको विपरीत यतिखेर गर्नुपर्ने चाहिँ विदेशी नागरिकको आवागमनलाई सकेसम्म कम गर्ने वा निरुत्साहित गर्नु नै हो । किनभने कोरोनाभाइरस संक्रमणको ‘विन्डोपिरियड’ मा रहेका मानिस नेपाल प्रवेश गरे र रोग फैलियो भने नेपालजस्तो कमजोर सेवा–सुविधा भएको देशले त्यसलाई रोक्न सक्ने अवस्था रहँदैन । अहिलेसम्म कोरोनाभाइरसको विन्डो पिरियड अर्थात् बाहिर रोगका लक्षण नदेखिने अवधि १४ दिनको मानिँदै आइएको छ । त्यसमाथि थप, नयाँ अध्ययनहरुले त त्यो अवधि त्यसभन्दा पनि बढी हुन सक्ने खतरनाक तथ्यतर्फ पनि संकेत गरिहेको छ ।  । त्यसकारण पनि अहिले कुनै रोग नदेखिएको वा कोरोनाको लक्षण नदेखिएको व्यक्तिमा पछि त्यसको लक्षण वा रोग नदेखिएला भनेर ढुक्क हुन सक्ने स्थिति नै छैन । 

रोकिएनन् चिनियाँ नागरिक

चीनबाटै आउने पर्यटकको सङ्ख्या बढी हो नेपालमा । तर कोरोना भाइरसको उद्गम थलो चीनबाट आउने नागरिकको प्रवेशलाई निर्वाध छोड्नु अहिलेको एउटा ठूलो कमजोरी हो । किनभने तत्काल रोग नदेखिएर केही दिनपछि रोग देखिने अवस्था आएमा र उनीहरु अन्य मानिसहरुको सम्पर्कमा गई रोग सारेमा त्यसपछिको अवस्था के हुन्छ भन्ने अनुमान अहिले गर्न सकिन्न ।

कोरोना भाइरसको उत्पत्ति भएको देश अर्थात् चीन नेपालमा अत्यधिक आउने विदेशीमध्ये एक देश हो ।

कोरोना भाइरसको उत्पत्ति हुँदा अर्थात् जनवरी महिनामा मात्रै १२ हजार १ सय ६९ चिनियाँ नागरिक नेपाल प्रवेश गरेका थिए । उनीहरुमाथि सरकारले कुनै निगरानी गरेको थिएन । जनवरी महिनामा आएका चिनियाँ नागरिकको ‘विन्डो पिरियड’ अर्थात् क्वारेन्टाइन अवधि त सकिएको छ तर फेब्रुअरी महिनामा पनि किन चिनियाँ नागरिकलाई प्रवेशमा बन्देज लगाउन सकिएको छैन भन्ने मूल प्रश्न हो ।

जनवरीको दोस्रो साताबाट व्यापकता लिएको कोरोना भाइरसको बिगबिगीपछि फेब्रुअरी महिनाको २३ तारिखसम्म पनि चीनबाट २ हजार ६ सय ९५ जना पर्यटक नेपाल प्रवेश गरिसकेका छन् । उनीहरु कहाँ र के गर्दैछन् भन्ने जानकारी सरकारसँग पनि छैन । तर उनीहरुलाई सामान्य थर्मोमिटर गनबाट चेकजाँच गर्दा ज्वरो नदेखिएमा प्रवेश अनुमति दिने गरिएको छ । यसले कुनै पनि समय गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्नेछ ।

अहिले त्रिभुवन विमानस्थलमा र्‍यापिड टेस्टको अवस्था हेर्ने हो सन्तोषजनक नै देखिन्छ । स्वास्थ्यकर्मीले आफ्ना काम त इमानदारीपूर्वक गरिरहेकै छन् । तर बढी सङ्क्रमित भएका देशहरुबाट आएका नागरिकलाई पनि निगरानीमा पठाउने अवस्था नरहँदा त्यसको जोखिम भने बढिरहेकै छ ।

 

यस्तो छ जनवरी र फेब्रुअरी महिनामा कोरोना सङ्क्रमण बढी भएका देशबाट आएका नागरिकको सङ्ख्या

कोरोनाबाट बच्न थाइल्यान्डबाट नेपालतिर !

अहिले विभिन्न देशमा कोरोना भाइरसको महामारी बढेपछि नेपालमा कोरोना भाइरसको सङ्क्रमण नभएको भन्दै ज्यान बचाउन र कोरोनाबाट बच्न थाइल्यान्ड, भियतनामलगायतका देशबाट आउने पर्यटकको सङ्ख्यामा अप्रत्याशित वृद्धि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क हेर्ने हो भने जनवरी महिनामा थाइल्यान्डबाट जम्मा ४ सय ४ जना पर्यटक नेपाल आएकामा फेब्रुअरी महिनाको २३ तारिखसम्म नेपाल आउने थाइल्यान्डका पर्यटकको सङ्ख्यामा झण्डै १ हजार २ सय प्रतिशतले वृद्धि भएको छ ।

जनवरी महिनामा विमानस्थलको बाटो हुँदै जम्मा ४ सय ४ जना थाई नागरिक नेपाल आएकामा फेब्रुअरी महिनाको चौथो हप्ता सुरु हुनेबेलासम्म नै ४ हजार ७ सय २३ जना पुगिसकेका छन् । फेब्रुअरी महिनाको अन्त्यसम्ममा नेपाल आउने थाई पर्यटकको सङ्ख्या करिब ६ हजारको हाराहारीमा पुग्ने देखिन्छ ।

जापानबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्यो

कोरोनाबाट बढी सङ्क्रमित भएको देश जापानबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा पनि फेब्रुअरी महिनामा वृद्धि भएको छ । जनवरी महिनामा जापानबाट १ हजार ८ सय ९९ जना नेपाल आएकामा फेब्रुअरी महिनाको २३ तारिखसम्म नेपाल आउने जापानी नागरिकको सङ्ख्या २ हजार १ सय ३३ जना पुगिसकेको छ । यो महिनाको अन्त्यसम्ममा नेपाल आउने जापानी पर्यटकको सङ्ख्या करिब २ हजार ५ सय पुग्ने अनुमान गरिएको छ ।

अहिले जापानमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय ४६ जना छन् भने १ जनाको मृत्यु भइसकेको छ । अति सघन कक्षमा राखेर उपचार गराइरहेका जापानी नागरिकको सङ्ख्या ७ जना छ ।

थाइल्यान्ड र जापान मात्रै होइन, म्यानमारबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा पनि फेब्रुअरी महिनामा अप्रत्यासित वृद्धि भएको देखिन्छ ।

अध्यागमन विभागका अनुसार फेब्रुअरी महिनाको २३ तारिखसम्म म्यानमारबाट विमान चढेर नेपाल आउने नागरिकको सङ्ख्या ४ हजार ३ सय ६८ जना पुगेको छ । यही अनुपातलाई हेर्ने हो भने फेब्रुअरीको अन्तिमसम्ममा म्यानमारबाट नेपाल आउने पर्यटकको सङ्ख्या करिब ५ हजार ५ सय पुग्ने अनुमान गरिएको छ ।

जब कि गत महिना अर्थात् जनवरी महिनाको कुल तथ्याङ्क हेर्ने हो भने म्यानमारबाट नेपाल आउने कुल नागरिकको सङ्ख्या जम्मा ५८ जना थियो ।

म्यानमारमा कोरोना भाइरसको सङ्क्रमण नदेखिए पनि चीनसँग प्रत्यक्ष व्यापार भएको देश र रहनसहन पनि धेरै मिल्ने भएको कारणले पनि हुनसक्छ, म्यानमारबाट नेपाल आउने नागरिकको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । यसको मुख्य कारण कोरोनाकै डरसमेत हुन सक्नेछ । त्यसैगरी गत महिना भियतनामबाट नेपाल आउने पर्यटकको सङ्ख्या २०९ जना मात्रै थियो । तर फेबु्रअरी महिनाको २३ तारिखसम्मको तथ्याङ्क हेर्ने हो भने त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने भियतनामी पर्यटकको सङ्ख्या बढेर ७ सय ३० जना पुगेको छ । २३ तारिखसम्मको सङ्ख्यालाई आधार मान्ने हो भने फेब्रुअरीको अन्तिमसम्ममा नेपाल आउने भियतनामी पर्यटकको सङ्ख्या ९ सयभन्दा बढी पुग्ने देखिन्छ ।

किनभने फेब्रुअरीमा अझै ६ दिन बाँकी रहेकाले आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुनसक्ने देखिन्छ । तथ्याङ्कअनुसार भियतनाममा हालसम्म १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यद्यपि १५ जना निको भई डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचार भइरहेको छ ।

थाइल्यान्डकै कुरा गर्ने हो भने ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने २१ जना उपचारपछि घर फर्किएका छन् । बाँकी १४ जनामध्ये १२ जनाको सामान्य अवस्थामा र २ जनाको क्रिटिकल केयरमा राखेर उपचार भइरहेको छ ।

दक्षिण कोरियाबाट पर्यटकको सङ्ख्यामा केही कमी आए पनि उनीहरु पनि नेपाल आइरहेकै छन् ।

पछिल्लो समय सङ्कटको अवस्थातर्फ अघि बढिरहेको दक्षिण कोरियामा सोमबार बिहान १० बजेसम्म ७ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । जब कि त्यसमध्ये १ सय ६१ जना तत्कालै भेटिएका बिरामी हुन् । कोरोनाबाट सङ्क्रमण भएका ७ सय ६३ जनामध्ये ७ जनाको मृत्यु भइसकेको छ भने ७ जनाको अति सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

त्यसैगरी हालसम्म ८ जनाको मृत्यु भइसकेको इरानबाट पनि पर्यटक आउने क्रम जारी नै छ ।

गत महिना १ सय २१ जना इरानी नेपाल आएकामा फेब्रुअरीको २३ तारिखसम्म ८० जनाले भ्रमण गरिसकेका छन् । इरानमा अहिले पनि ४३ जना मानिस कोरोना भाइरसबाट सङ्क्रमित रहेका छन् ।

नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्यामा कमी आएको भए पनि अन्य कतिपय देशबाट आउने पर्यटकको सङ्ख्यामा अप्रत्यासित वृद्धि हुनुले कतै नेपाल खतरामा त छैन भन्ने सङ्केत गरिरहेको छ ।

त्यसबाहेक यी देशहरुबाट आउने नेपाली नागरिकहरुको स्वास्थ्य र सुरक्षाका उपायबारे सरकार गैरजिम्मेवार देखिएको छ । कोरोना सङ्क्रमण बढी भएका देशहरुबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने वा निगरानी बढाउने काम गरिएको छैन । मात्रै थर्मोमिटर गनको भरमा कोरोनाको सङ्क्रमण छ कि छैन भनेर छुट्याउन सकिँदैन । कुनै बिरामी कोरोना भाइरस सङ्क्रमणको विन्डो पिरियडमा रहेछ र उसलाई क्वारेन्टाइनमा राखिएन भने एउटै बिरामीले पूरै नेपाललाई आक्रान्त पार्न पनि सक्छ ।

पर्यटक नेपाल आउनु ठूलो कुरा होइन तर नेपालले जसरी सुरक्षा सतर्कता अपनाउनुपर्ने थियो, त्यसो नगरेको भने प्रष्ट नै देखिन्छ ।

यदि नेपाल सरकारले समयमै कोरोनाको महामारीबाट बच्ने उपाय सोचेन र सुरक्षा सतर्कता अपनाएन भने ठूलो विपत्तिको कहर भोग्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप