बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद बैठक अवरुद्ध नगर्ने काँग्रेससहित तीन दलको निर्णय

सोमबार, १२ फागुन २०७६, १५ : ५४
सोमबार, १२ फागुन २०७६

काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । 

सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो । 

काँग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको बताइन् । 

तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने बताइएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने देखेर तीनै दलले आफ्नो कुरा संसदमा राख्ने तय भएको भुषालले जानकारी दिइन् । 
काँग्रेसले गोकुल बाँस्कोटा प्रकरणको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ भने यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ । 

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत समझदारी भएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई काँग्रेसले जोडतोडले उठाउँदै आएको छ । यसविषयमा आइतबार छाया मन्त्रीपरिषद्मा छलफल भएअनुसार काँग्रेसले प्रतिपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको हो । 

बाँस्कोटा प्रकरणलाई लिएर काँग्रेसले तीन वटा माग तेर्स्याउँदै फागुन ८ गते बसेको संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो । 

बाँस्कोटाको मन्त्रीबाट बर्खास्ती, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र तटस्थ रुपमा बाँस्कोटामाथि छानबिन हुनुपर्ने काँग्रेसको बटमलाइन छ । 

बिहीबार नै बाँस्कोटाले पदबाट राजीनामा दिएसँगै काँग्रेसको पहिलो माग किनारा लागेको छ ।

काँग्रेसको दोस्रो र तेस्रो माग प्रधानमन्त्री केपी शर्मा ओलीको तजबिजमा केन्द्रित छ । प्रधानमन्त्री ओलीको सचिवालयलाई बुझ्दा उनी बाँस्कोटा प्रकरणमा संसदमा जवाफ दिने मुडमा रहेको पाइँदैन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अहिलेसम्म संसदमा प्रधानमन्त्री सम्बोधनको कार्यक्रम नबनेको रातोपाटीलाई जानकारी दिए ।

यस्तै बाँस्कोटामाथिको छानविनका विषयमा पनि प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकमा ‘निम्छरो’ प्रतिक्रिया जनाएका थिए ।

यद्यपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटा मुछिएको अडियो रेकर्डमाथि अनुसन्धान सुरु गरेको छ ।

आयोगले विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो ।  १–२ दिनमा प्रारम्भिक छानबिन टुंग्याई सेक्युरिटी प्रेस खरिद र बाँस्कोटाको रेकर्ड प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने अख्तियारको तयारी छ ।
अख्तियारको सूचना संकलन गर्ने संयन्त्रले सेक्युरिटी प्रेस खरिदका कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारमा आइतबार आएको सी–०२६९८७ नम्बरको उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बाँस्कोटा, तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानबिन गर्न गर्न माग गरिएको छ । 

उजुरीमा बाँस्कोटाले करिब तीन अर्बको चलखेल गरेको र त्यो विषय प्रधानमन्त्रीलाई थाहा भएपनि कुनै अग्रसरता नलिएको दाबी गरिएको छ । 

काँग्रेसले सेक्युरिटी प्रेस सप्लाई गरी घुस मिलाउने र सरकारी रकमबाट सामान खरिद गर्ने बाँस्कोटाको कुराकानीको रेकर्ड नै बाहिरिएकाले अख्तियारले भ्रष्टाचार गर्ने उद्योगको कसुरमा अनुसन्धान थाल्नुपर्नेमा आवाज उठाएको छ ।

काँग्रेस विपक्षी मोर्चा बलियो बनाएर यो प्रकरणमा फेस गर्न तयार देखिन्छ । 

बालुवाटार प्ररकणमा अख्तियारको भूमिकाबाट सशंकित बनेको काँग्रेसले अख्तियारको गतिविधि पनि नियालिरहेको छ ।

छलफलमा समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया, राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण थिए भने काँग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप