शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न शिक्षामन्त्रीको चेतावनी

सोमबार, १२ फागुन २०७६, १७ : ३५
सोमबार, १२ फागुन २०७६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिएका छन् ।  नीजि विद्यालय सञ्चालकहरुको संस्था (प्याब्सन)को १३ औं साधारणसभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग गरेको जनशक्ति उत्पादनतर्फ ध्यान दिन आग्रह गर्दै ‘ट्रन्जिट प्वाइन्ट’ का रुपमा विकास नगर्न चेतावनी दिए ।

देशलाई आवश्यक पर्ने शिक्षा सिक्ने जुनसुकै देशमा जानुपर्ने अवस्था भएपनि राष्ट्रले माग गरेको, देशका लागि सिक्ने र सिकाउने कुरामा जोड दिन आग्रह गरे । अर्काको देशको नक्कल गरेर अगाडी बढ्नुभन्दा गुणात्मक शिक्षाको नेपाली मोडल बनाउनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

मन्त्री पोखरेलले नीजि र सामुदायिक विद्यालयहरुलाई मर्ज गर्न सकिने प्रस्ताव पनि गरेका छन् । गुणस्तरीय शिक्षाका लागि नीजि र सामुदायिक विद्यालय मर्ज गर्न सकिने प्रस्ताव उनले गरे । देशभर रहेका ३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय रहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री पोखरेलले विद्यालय मर्ज गरेर अबको १० वर्षभित्र गुणात्मक शिक्षा दिने गरी सन्देश दिन आवश्यक रहेको बताए ।

मन्त्री पोखरेलले सबै विद्यालयहरुमा नक्साका विषयमा जानकारी दिँदा एकरुपता अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय सबै राजनीतिक दलहरु समेत यो विषयमा एकमत रहेको उल्लेख गर्दै उनले लिपुलेक, कालापनी र लिम्पियाधुरा सहितको नेपालको नक्साका विषयमा राम्ररी सन्देश प्रवाह गर्न आग्रह गरे ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले उच्चशिक्षा अध्ययनका लागि दिने छात्रवृतिमा विभेद गरेको बताएका छन् । उच्च शिक्षा अध्ययनका लागि प्राप्त हुने छात्रवृति पाउनका लागि कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने प्रावधान राखेर सरकारले विभेद गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप