बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : सरकारी जग्गामा बसेर लुम्बिनी भारतमा भएको प्रचार

कोरोनाका लागि १४ दिन क्वारेन्टाइन अपर्याप्त
मङ्गलबार, १३ फागुन २०७६, ०७ : १४
मङ्गलबार, १३ फागुन २०७६

आज फाुगन १३ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने र प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको निर्णयले प्राथमिकता पाएको छ । त्यस्तै, कोरोनाभाइरसको त्रास, प्रधानमन्त्री केपी ओलीको जन्मदिन मनाएकोबारे आलोचना लगायतका समाचारहरु प्रकाशित छन् ।

गौतम बुद्धबारे अनुसन्धान गर्ने भन्दै लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्थाले लुम्बिनी भारतमा पर्ने भ्रामक प्रचार गरेको भेटिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो । लुम्बिनीबारे गलत प्रचार गरेको भेटिएपछि इन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । गृहले पर्यटन मन्त्रालयलाई पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भ्रामक प्रचार गर्ने जापानी इन्स्टिच्युटमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘हाम्रो स्वाधीनता र अखण्डतामै आँच आउने गरी केही सामग्री प्रकाशन गरेको कुरा आएपछि हामीले स्पष्टीकरण सोधेका छौँ,’ उनले भने, ‘जवाफ आएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’ इन्स्टिच्युटलाई लुम्बिनी विकास कोषले १० वर्षका लागि सरकारी जग्गा लिजमा दिएको थियो । लिज सम्झौता १ अप्रिल २०१५ मा भएको हो । इन्स्टिच्युटले सोही जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गरेको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युटलगायत संस्थाका पदाधिकारीहरू निःशुल्क भिसामा नेपालमा छन् । पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नै उनीहरूलाई भिसा शुल्क छुट दिने विवादास्पद निर्णय गरेको हो ।

सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाइएको पाइएको कान्तिपुर दैनिकमा समाचार छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारी स्वरुप गठन गरेको अध्ययन समितिको प्रतिवदेन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिना प्रतिस्पर्धा (जीटूजीमार्फत) उनले परियोजना अघि बढाएका थिए । अध्ययन समितिले नेपालले राख्ने भनेको स्लट व्यावसायिक प्रयोजनका लागि अनुपयुक्त हुने भन्दै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनसँग अर्को स्लट माग गर्न सुझाव दिएको थियो । बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग स्याटेलाइट खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्योटलाइट निर्माणका लागि अन्तर्राष्ट्रियरुपमा आशयपत्र माग गरेको थियो । जसमा २२ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । यति धेरै प्रस्ताव पर्दा पनि सरकारले सोझै जीटूजी प्रक्रियामार्फत स्याटेलाइट निर्माणको जिम्मा दिँदा लागत महँगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेको नागरिक दैनिकमा समाचार छ । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका छैनन्। पार्टीभित्र ओली हावी भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालकै सहभागितामा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गौतमको घरमा छुट्टै बैठक गरेका थिए। बैठकले पार्टीभित्र ओलीको ज्यादती रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध एकजुट हुने निर्णय गरेको थियो। उनीहरुले सरकार परिवर्तनको समेत रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेका थिए। यसबाट ओली दबाबमा मात्रै परेनन्, त्यसपछिका सचिवालय बैठकमा उनी मौन बस्न बाध्य भए। ‘त्यसयता बसेका सचिवालय बैठकमा ओली सधैं अल्पमतमा परेका छन्’, पार्टी निकट स्रोतले भन्यो, ‘सभामुख चयन प्रकरणलाई लामो समय अलमल्याउने प्रयास गरेका ओली सचिवालयभित्र भोटिङ हुने र आफू अल्पमतमा पर्ने अवस्था देखेपछि अग्नि सापकोटालाई स्विकार्न राजी भएका थिए।’ गौतमको घरमा भएको बैठकमा ओलीले पूर्वसहमति कार्यान्वयनमा आनाकानी गरे सरकार फेर्न समेत दबाब दिने सहमति भएको थियो। सो सहमतिपछि ओलीलाई सचिवालय सदस्यहरुले सामूहिक नेतृत्वमा चल्न सुझाव दिँदै आएका छन्। सभामुख नियुक्तिको विषयमा दबाब झेल्न नसकेपछि ओलीले असहज महुसुस गरेका थिए। पुस २३ पछिकै एक बैठकमा गौतमलाई राष्ट्रियसभामा सांसद बन्न आग्रह गरिएको थियो। तर गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने प्रावधान राखेमात्रै राष्ट्रियसभामा जाने बताएका थिए। तर ओलीले संविधान संशोधन नगर्ने जनाउ दिएका थिए। संविधान संशोधन नहुने भएपछि माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गौतमले भाग लिएनन्।

सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय थियो। एक वर्षमै पहेंलो धातुको मूल्य २३ हजार १ सय रुपैयाँ अर्थात् ४०।३८ प्रतिशत बढेको छ। भाउ बढ्ने क्रम तीव्र छ। फागुन लागेपछि तोलामा ४ हजार ६ सय महँगियो। कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ। सामान्यतया सुनको भाउ यसरी बढ्दैन। अहिले छिमेकी मुलुक चीनबाट सुरु भएको घातक भाइरस ‘कोरोना’ संक्रमणका कारण सुनको मूल्य चुलिएको हो। संक्रमण नियन्त्रण हुन नसकेपछि सुनको भाउ अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विवाह र सामाजिक पर्वको मौसममै सुनको भाउ यसरी चुलिँदा नेपाली ग्राहक मर्कामा परेका छन्। ‘हिउँदमा सुनको भाउ बढेपछि अत्यावश्यकबाहेक धेरैले त किन्दैनन्,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘किन्नैपर्नेलाई बढी पैसा खर्चनुपरेको छ।’ अहिले सुनको व्यापार करिब ७० प्रतिशत घटेको व्यवसायीले बताएका छन्। नेपालमा काँचो सुनमा लगानी गर्ने कानुन छैन। अधिकांश विकसित मुलुकमा सुनमा लगानी गरेर नाफा कमाउन पाइन्छ। ती मुलुकमा लगानीकर्ताले सुन किन्न थालेका छन्। विश्वमा ५० प्रतिशत सुनमात्रै गहनामा प्रयोग हुन्छ। कोरोना संक्रमणका कारण चीनसँगै सिंगो विश्व अर्थतन्त्र शिथिल हुँदै छ। कैयन् ठूला उद्योग बन्द भएका छन्। संसारकै सबैभन्दा ठूलो वस्तु निर्यातक मुलुक चीन सुनसान भएको छ।

वुहानमा देखापरेको कोरोनाभाइरसबारे नेपालमा चालिएका सुरक्षाका कदम न्यूनतम पनि अपर्याप्त छन् । चीनमा दैनिक एक सय जनाको हाराहारीमा मानिसको ज्यान लिइरहेको कोरोनाभाइरस नेपाल छि-यो भने यसबाट उत्पन्न परिणाम निकै भयाभय हुने डा. दिलजान मन्सुरले कान्तिपुर दैनिकमा लेखेका छन् । कोरोनाभाइरस प्रतिरोधका लागि पूर्वतयारी आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठन र चीन आफैले परीक्षणबाट बताए बमोजिम यो भाइरसको उत्पत्ति दुई दिनदेखि १४ दिनभित्रमा हुने भनेको थियो । चीनले पनि सोही बमोजिम एक महिनाजति हे-यो तर वुहानमा एक व्यक्तिमा २७ दिनपछि पनि संक्रमण देखिएपछि भने कोरोना देखापर्ने अवधिलाई लम्बाइयो । जापानमा डाइमन्ड क्रुजबाट लगिएका व्यक्तिको अवस्था १४ दिनको क्वारेन्टाइनमा नेगेटिभ देखिएको थियो तर ३० दिनपछि पुनः भाइरस देखाप-यो । अतः विशेषज्ञले भाइरस देखापर्ने समय बढाएका छन् । कोरानाको अवधि व्यक्तिको रोग प्रतिरोधी क्षमताअनुसार फरकफरक हुन्छ । यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा राखिएको थर्मल स्क्यानर बिग्रिएको तीन साता बितिसक्दा पनि मर्मत गरिएको छैन । हाल चीन र कोरियाबाट आउने यात्रुलाई एउटा स्क्यानर र ‘इन्फ्रारेड थर्मोमिटर’ बाट ज्वरो नाप्न थालिएको छ । भएको स्क्यानरले समेत तापक्रममा उतारचढाव देखाउने गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको नयाँ पत्रिका दैनिकमा समाचार छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन ।  हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ । साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ । तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो । सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको ५ दिनपछि साँचो हराएको पत्ता लागेको हो । साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ । चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ । ‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने । १ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप