शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थर्मल स्क्यानरले मात्र शत प्रतिशत कोरोना संक्रमितको पहिचान गर्न सक्दैन !

मङ्गलबार, १३ फागुन २०७६, ११ : ३०
मङ्गलबार, १३ फागुन २०७६

चीनको हुवे प्रान्तको ऊहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिदैँ गएको नोबेल कोरोनाभाइरसको संक्रमण विश्वका ३० राष्ट्रमा देखापरेको छ । यस भाइरसको संक्रमणबाट हालसम्म २ हजार ६ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर ७८ हजार भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण भएको जनाइएको छ ।

कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा विश्वभर फैलिरहँदा नेपालमा पनि सजगता अपनाउनु पर्ने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् । नेपालमा संक्रमित फेला नपरे पनि सतर्कता भने अपनाउनुपर्ने उनको भनाइ छ ।

चीन लगायत कोरोनाभाइरसको संक्रमण फैलिएका राष्ट्रबाट नेपालमा निर्वाध हवाई मार्ग र स्थलमार्ग हुँदै स्वदेशी तथा विदेशी नागरिक आइरहेका छन् । कोरोना प्रभावित राष्ट्रबाट आउने स्वदेशी तथा विदेशी नागरिकबाट सो भाइरस संक्रमणको जोखिम बढ्ने विज्ञहरुको भनाइ छ । त्यसैले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल स्क्यानर राखेर प्रारम्भिक परीक्षण गर्न थालिए पनि स्थल नाकाहरुमा भने यस प्रकारको सतर्कता अपनाइको पाइँदैन ।

थर्मल स्क्यानरले यात्रुहरुको शरीरको तापक्रम अटोमेटिक परीक्षण हुने डा. पुन बताउँछन् । तर संक्रमितको पहिचानका लागि यो भरपर्दो विधि नभएको उनको भनाइ छ । ‘थर्मल स्क्यानरले अटोमेटिक रुपमा मानिसको शरीरको तापक्रम घट–बढ भएको १०० प्रतिशत रिजल्ट दिन सक्दैन,’ उनले भने, ‘फ्रान्स, जर्मनमा जस्तो सो भाइरसको संक्रमण भयो भने ज्वरो नआउन पनि सक्छ ।’

चीनबाट ल्याइएका नेपाली नागरिकलाई निगरानीमा राखेजस्तै कोरोनाभाइरस देखापरेका मुलुक तथा सम्भावित जोखिमयुक्त क्षेत्रबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था रहे पनि यसबारे पहल भएको छैन । कोरोनाभाइरसको संक्रमण ३० मुलुकमा विस्तार भए पनि ती मुलुकहरुबाट आउने व्यक्तिलाई थर्मल स्क्यानरकै भरमा भित्र्याउँदा भोलिका दिनमा ठूलो विपत्ति आउनसक्ने चिकित्सकहरुको भनाइ छ । सकारकाले चीन, कोरिया र अन्य प्रभावित राष्ट्रबाट आउने नागरिकलाई विशेष निगरानीमा राख्नुपर्ने उनीहरुको भनाइ छ ।

त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकको सामान्य स्वास्थ्य परीक्षण गरिने र स्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिएका बिरामीलाई अस्पताल ल्याउने व्यवस्था गरिएको डा. पुन बताउँछन् ।

संक्रमित भएको आशंका लागेमा सिधै अस्पताल पु¥याउनका लागि विमानस्थलमै एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

चीन र भारतबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने नाकामा पर्याप्त  हेल्थ डेस्क समेत राखिएको छैन । चीन र भारतबाट नेपाल प्रवेश गर्ने नाकामा प्रभावकारी अनुगमनको आवश्यकता भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सम्भावित भवितव्यबाट बच्नका लागि चीन र भारतको सीमा नाकामा हेल्थडेस्क अनिवार्य गर्ने र उच्च प्रविधियुक्त स्क्यानिङ सामग्री र जनशक्ति परिचालन गर्न आवश्यक रहेको डा. पुनको भनाइ छ ।

त्रिभुवन विमानस्थलको हेल्थडेस्कमा समेत जनशक्ति बढाएर अझै प्रभावकारी बनाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पछिल्लो समय दक्षिण कोरियाबाट आएका नेपाली नागरिक पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल आउने गरेको डा. पुनले बताए । यसरी आउनेलाई कम्तीमा १४ दिन अस्पतालमै बस्न सुझाव दिने गरेको उनको भनाइ छ । सामान्य स्वास्थ्य अवस्था भएका र आफैँ सजग भएर बस्न तयार रहेकालाई भने घर पठाउने गरिएको उनले बताए ।

‘प्रभावित देश तथा क्षेत्रबाट आएर जाँच गर्न आउनेलाई १४ दिनसम्म अस्पतालमा बस्न भन्छौँ,’ उनले भने, ‘यहाँ बस्न नचाहे १४ दिनसम्म सजगता अपनाउन आग्रह गर्छौँ ।’

हङ्कङ् फ्लुलाई कोरोनाभाइरसको शंका गर्दा 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा केही दिनअघि रुघाखोकी, ज्वरोका बिरामीमा हङ्कङ् फ्लुको नामले चिनिने ‘एच थ्री  इन्फ्लुएन्जा भाइरस’ पाइएको थियो । मौसम परिवर्तनसँगै हाल नेपालमा फ्लुकोे संक्रमणका बिरामी बढेको डा. पुन बताउँछन् । ‘फ्लु लाग्दा रुघाखोकी ज्वरो आउने  लक्षण देखापर्छ,’ उनले भने, ‘कोरोनाभाइरस संक्रमण हुँदा पनि फ्लु लाग्दाजस्तै लक्षण देखापर्छ ।’

दुवै संक्रमणमा उस्तै उस्तै लक्षण हुने भएकाले रुघाखोकी, ज्वरो आएमा अस्पताल गएर स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप