बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस महाधिवेशन नीतिको चर्चा

मङ्गलबार, १३ फागुन २०७६, १२ : ३३
मङ्गलबार, १३ फागुन २०७६

काँग्रेस नेता नरहरि आचार्य निवासमा शनिबार काँग्रेसको चौधौँ महाविधेशनका बारेमा चर्चापरिचर्चा भयो । काँग्रेसका आगामी वर्ष फागुनमा हुने महाधिवेशनमा उठ्न सक्ने नीतिगत विषयमा विभिन्न नेताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । प्रस्तुत छ उनीहरुको विचार जस्ताको तस्तै : 
नरहरि आचार्य, नेता नेपाली काँग्रेस :
अर्को वर्षको फागुनमा अधिवेशन हुने निर्णय भइसकेको छ । हामीले १ वर्षमा आवश्यक तयारीसम्बन्धी सबै काम सकेर अधिवेशन सम्पन्न पनि गरिसक्नु पर्ने हुन्छ । १४औँ अधिवेशनको प्रसङ्ग सुरु भइसक्यो । महाधिवेशनमा उठ्नुपर्ने विधानसम्बन्धी विषय र अन्य विषय पनि नियमित रूपमा नै उठ्ने कुरा हुन् । त्यसलाई सामान्य छलफलबाट टुङ्ग्याउनुपर्छ । 

पार्टीमा नियमित उठ्ने कुरालाई पनि विशेष छलफल गर्ने, त्यसैमा केन्द्रित हुने कार्य आवश्यक  होइन । पार्टीमा नयाँ नेतृत्व चयनको विषय पनि सनातनै विषय हो । तर पनि यो सबैको चासोको विषय हो । यसमा नीति र कार्यक्रम जोडिएपछि स्वतः नयाँ बन्छ । यसले सबैमा चासो र प्रभाव पनि पार्छ ।

आजको परिस्थितिमा आकर्षक र सक्षम नेतृत्व चयन गर्नुपर्ने चुनौती हाम्रा अगाडि छ । कुनै पनि नेतृत्वलाई आकर्षक बनाउने मूल आधार भनेको नीति तथा कार्यक्रम नै हो । मान्छे मात्र आकर्षक र सक्षम भन्ने हुँदैन । नेतृत्वले अघि सारेको नीति र कार्यक्रम यसको आधार हुन्छ ।

हाम्रो पार्टीमा सधैँजसो नीति र कार्यक्रम सामूहिक रूपमा नै राख्ने नेतृत्वहरूको बीचमा निर्वाचन गर्ने चलन बनेको छ । नेताको अग्रसरतामा बनेको नीति र कार्यक्रम भयो भने त्यो अल्लि आकर्षण हुन्छ । हाम्रो प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएर समितिले पास गरेपछि मात्रै नीति र कार्यक्रम बन्छ ।

यतिखेर कम्युनिस्ट पार्टीको पूर्ण बहुमतको सरकार भएको हुँदा आम चुनावमा त्यसलाई राम्रो प्रतिद्वन्द्विता दिन रणनीतिक तयारी पनि गर्नुपर्ने छ । हाम्रो यो अधिवेशन कम्युनिस्ट पार्टीको सरकारको बीचमा नै हुन्छ । यो अधिवेशनको मूल दायित्व आगामी आमचुनाव जित्नु हो । आमचुनाव नजिती हाम्रो नीति लागू हुन सक्दैन । यो महाधिवेशनको जिम्मेवारी आमचुनाव जित्ने हो ।
यी सबै परिप्रेक्ष्यलाई हेरेर हाम्रो १४औँ महाधिवेशनको तयारी गर्नुपर्छ । महाधिवेशनलाई यसैको आलोकमा हेरौँ ।

कृष्णप्रसाद सिटौला, नेता नेपाली काँग्रेस 
पार्टीभित्र व्यापक बहसको आवश्यकता छ । महाधिवेशनमा नेताको मूल्याङ्कन गर्ने हो । त्यो मूल्याङ्कन गर्दा कार्यकर्ता जहिले पनि चुकेका छन् । 

देशको समग्र मूल्याङ्कन गर्ने हो भने धेरै ठूलो परिवर्तन भएका छन् । सङ्घीयता, गणतन्त्र ठूलो परिवर्तन हो । त्यसै अनुरूप संविधान पनि आयो । संविधान काँग्रेसको नेतृत्वमा सबैले मिलेर ल्याएको हो ।

नेपालको राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन आयो तर राजनीतिक वृत्तको मानसिकतामा कुनै परिवर्तन आएन । हिजो राजतन्त्र हुँदा र आज गणतन्त्र हुँदा मानसिकतामा परिवर्तन हुनुपर्ने हो त्यो देखिँदैन । 

हिजो सङ्घीय व्यवस्था थिएन, आज छ तर केन्द्रीय मानसिकता छ । संसदमा भएका सबै दलको मानसिकता केन्द्रीकृत छ । सङ्घीयता अधिकार तल दिने हो । सरकार पनि केन्द्रमा अधिकार राख्न खोज्छ, प्रतिपक्ष पनि केन्द्रमा अधिकार राख्न खोज्छ । हामी अधिवेशनको मुखमा पुग्दा बाध्यताले सङ्घीय संरचनामा पुगेका छौँ । 

गएको निर्वाचनमा हामीले वडाको टिकट पनि केन्द्रबाट दियौँ । योभन्दा दुर्भाग्य के हुन्छ ? हाम्रो हारको कारण यो पनि एउटा हो । महासमितिको बैठकबाट सङ्घीय संरचनाको विधान हामीले बनाएका छौँ । यसको परीक्षण अब हुँदैछ । यी सबैको व्यापक बहस देशले खोजेका छ । देशले खोजेको बहसमा काँग्रेसले नेतृत्व गर्न सकेन । देशको समग्र राजनीतिमा आमूल परिवर्तन गर्दै हिजोको मानसिकतामा पनि आमूल परिवर्तन ल्याउन काँग्रेसले नेतृत्व गर्न सक्नुपर्छ ।

हाम्रो पार्टीभित्र आमूल परिवर्तन अहिलेको आवश्यकता हो । यो बहस गर्न सक्ने हैसियतका कार्यकर्ता आउँछन् कि आउँदैनन् मेरो प्रश्न छ । काँग्रेसमाथि परिवर्तन आएपछि सत्तालाई तहलगाउन सकिन्छ, आमूल परिवर्तनको संविधान ल्याउने आफू काँग्रेस परिवर्तन नहुने अनि देश र जनतालाई यसको अनुभूति दिन कसरी सकिन्छ ? आजको अवस्थाको संसदले परिवर्तन अनुसारको जनतालाई केही पनि दिन सक्दैन ।

सरकारमा रहेका नेताहरू केपी ओली, झलनाथ खनाल, माधव नेपाल सबै केन्द्रीकृत मानसिकतामा हुनुहुन्छ । यसमा काँग्रेसले कम्युनिस्टसँग आशा गर्ने होइन काँग्रेस आफैले नेतृत्व गर्ने हो । शान्तिपूर्ण राजनीतिमा कम्युनिस्टलाई ल्याउने काम काँग्रेसले गरेको छ । ठूलो सङ्ख्यामा सत्तामा र संसदमा उनीहरू भए पनि ठीक बाटोमा हिँडाउने जिम्मा काँग्रेसको नै हुन्छ ।

कम्युनिस्टलाई लोकतन्त्रमा हिँडाउने जनमतले हो । जनतामा काँग्रेस पुग्न सकेको छैन । काँग्रेस आफै सङ्गठित भएर आफ्नो सङ्गठन परिचालन गर्न सकेको छैन । लोकतन्त्रको रक्षा सेना, प्रहरीबाट हुने होइन जनताबाट नै हो । देशको रक्षा गर्ने पनि जनताबाट नै हो । आज देशको तागत मर्दै गएको अवस्था हो ।

हामी महाधिवेशनमा पुग्दासम्म हाम्रो विवाद चर्कंदै जान्छन्, चर्किन दिनुपर्दछ । यसमा गुटबन्दी भयो भनेर निरास हुनुहुँदैन । हाम्रोमा पार्टी सदस्य बनाएर निर्वाचन गरेर ल्याउने पुरानो परम्परा हो । यसले गर्दा तलदेखि माथिसम्म समूह हुन्छ । जित्नेले सबैलाई साथमा लिएर हिँड्नु पर्छ ।
काँग्रेसलाई यो महाधिवेशन अवसर छ । सङ्घीय संरचनाको अधिवेशन हुँदैछ । पार्टीका तहहरू थपिएर आएका छन् । पार्टीका धेरै साथीहरूले बसेर काम गर्ने ठाउँ पाइँदैछ । 
१४औँ महाधिवेशनबाट बन्ने नेतृत्वले द्रुतगतिमा काम गर्न सक्नुपर्छ । १ वर्षमा महानिर्वाचनको सामना गर्नुपर्ने हुन्छ । हार्ने साथीहरूलाई समेट्ने काम बाँकी रहेको हुन्छ, मनोनयनको काम बाँकी हुन्छ, सङ्गठन परिचालनको काम बाँकी रहेको हुन्छ, यी सबै काम ६ महिनाभित्र सक्नुपर्ने हुन्छ । आम चुनावमा जाने भनेको जनतामा जाने  हो । जनतामा जाने तयारीका लागि गर्ने कामहरू धेरै हुन्छन् ती सबै पूरा गर्नुपर्ने हुन्छ ।

यसले समय लिने हुन्छ । त्यतिखेर आउने चुनौती केके हुन्छन् ? कस्तो रणनीति बनाउनुपर्ला ? हाम्रो सम्बन्ध अरू पार्टीहरूसँग कसरी विकसित होला ? अहिले कम्युनिस्ट पार्टीको सरकारको घेरामा काँग्रेस छ ।
विगतमा  हाम्रोतर्फबाट भएका गल्तीको समीक्षा गरेर त्रुटि नदोहोरिने गरेर नयाँ दृष्टिकोण, नयाँ नीति, कार्यक्रमसहित आउनु पर्दछ । त्यसका लागि यो महाधिवेशनबाट आमूल परिवर्तन हुनुपर्छ पार्टीभित्र । अहिलेको नयाँ स्थितिमा काँग्रेस पनि नयाँ बन्न सक्नुपर्छ ।

लीलामणि पौडेल, महासचिव, बार एसोसिएसन 
काँग्रेसले आफूलाई लोकतन्त्रको पर्याय ठानेको छ, सोही अनुरूप काम हुन जरुरी छ । राजालाई तहलगाउन बुद्धिजीवी, व्यवसायीहरू सबै जनता सडकमा निस्केर आजको अवस्था आएको हो । 

यतिखेर पनि काँग्रेसले आफ्ना संरचनाहरू चलाउन सकेको छैन । लामो समयदेखि नेविसङ्घ बन्द जस्तो अवस्थामा छ । पार्टीमा पहिला पद्धतिको विकास गर्न जरुरी भएको छ । अधिवेशन हुनुभन्दा अगाडि के सन्देश जनतालाई दिने हो त्यो काम गर्न जरुरी छ ।

काँग्रेसले दिन खोजेको विषय जनतालाई बुझाउन अधिवेशनभन्दा पहिला नै धेरै गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । यसका लागि नेविसङ्घ, महिला सङ्घ लगायत अन्य भातृ सङ्घहरूको अधिवेशन यसैबीचमा गरौँ । देश नै काँग्रेसमय बनाऔँ । काँग्रेसले आगामी दिनमा अघि बढाउने नीति कार्यक्रमहरू यी संस्थामार्फत जनताको घरघरसम्म पु¥याऔँ ।
हामीले यी काम गर्न सक्यौँ भने काँग्रेसको गतिलो उपस्थिति देखाउन सक्छौँ । काँग्रेस छ, केही गरिराखेको छ भन्ने आउँछ । 

अब काँग्रेसलाई हिजोको सावाँको व्याज खाने अवस्था छैन । काँग्रेसभित्रको गुट अन्त्य गरिनुपर्छ । काँग्रेसको प्रतिपक्षीय भूमिका सशक्त बनाउनु पर्छ । भ्रष्टाचारको विरोध गर्न सक्ने पार्टी बनाउनु पर्छ ।

दामोदर खड्का महासमिति सदस्य, काँग्रेस
महाधिवेशनमा नीतिगत कुराहरू नै उठ्नुपर्छ । यो छलफलले काँग्रेसलाई मार्ग देखाउने नै हुनेछ । केन्द्रीय समितिले नीति तथा कार्यक्रम अनुमोदन गरेर महाधिवेशनमा ल्याउने गरिन्छ । केन्द्रीय समितिमा आउने नीति कार्यक्रम तलबाट छलफल भएर आउने गरेको छैन । यसलाई अहिले सच्याउन जरुरी छ ।

विधानमा लेखिएको सबै काम समयमा नै हुनुपर्छ । नियमित बैठक, विभाग लगायत सबै काम समयमा हुनुपर्छ । क्रियाशील सदस्यता दिँदा प्रशिक्षण दिएर दिने गरौँ । जसले लिन्छन् उनीहरू हाम्रो सिद्धान्त, आदर्श बारे थाहा हुन्छ । १४औँ महाधिवेशनले मुलुकको अहिलेको समस्याको निदान दिन सक्ने बन्नुपर्छ ।

श्याम खड्का, महासमिति सदस्य काँग्रेस 
काँग्रेसको १४औँ महाधिवेशनको नीति कार्यक्रम देश सुहाउँदो बनाउनुप¥यो । हामी पुरानै अवस्थाबाट हिँडिराखेका छौँ । देश, जनता र पार्टीलाई हाम्रो माथिल्लो तहको नेतृत्वले बुझिराख्नु भएको छैन । उहाँहरूले बुझेको भए काँग्रेसको यो अवस्था हुने थिएन । 

हाम्रा महासमिति बैठकहरूलाई पनि राम्रो सन्देश दिन सक्ने बनाउन सकेका छैनौँ । यो महाधिवेशन त्यस्तो बन्नु हुँदैन । जनतालाई केन्द्र भागमा राखेर हाम्रो नीति बन्नुप¥यो । यतिखेर नेपाल कता गइरहेको छ, जनता के गरिराखेका छन् र हामी कता गइराखेका छौँ भन्ने विषय काँग्रेसले मनन गर्नुपर्ने हो । यसैको आधारमा हाम्रो नीति, कार्यक्रम र नेतृत्व बनाउनु पर्दछ ।

जनस्तरमा सङ्गठन भएन भने काँग्रेसको प्रभुत्व रहँदैन । त्यसपछि पार्टी, जनता र नेता कोही पनि रहँदैनन् । सबै तहका नेताले पार्टी बुझौँ, जनता बुझौँ, देश बुझौँ र नीति बनाऔँ । प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ । स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । सङ्गठन बलियो हुँदा हामी बलियो हुन्छौँ भन्ने सबैले बुझ्ने हुनुप¥यो ।

जीवन डङ्गोल, प्रदेश सांसद, बाग्मती
हामी १४औँ महाधिवेशनमा आइपुगेका छौँ । महाधिवेशनहरूबाट नयाँ कुरा लिएर आजको अवस्थामा आइपुगेका छौँ । अहिलेको महाधिवेशन देशको अवस्थाले झनै महत्त्वपूर्ण बनेको छ । यसलाई प्रभावकारी बनाउने चुनौती हामी सबैसँग छ ।

अधिवेशनलाई दुई भागमा विभाजन गरौँ भन्ने कुरा राख्छु । एउट नीति कार्यक्रम, रणनीति, कार्यपत्र, अल्पकालीन, दीर्घकालीन र आपत्कालीन दस्तावेजहरूका बारेमा सबै छलफल, बहस गरेर बनाऔँ । दोस्रो नेतृत्व छान्ने काम गरौँ । नेताहरूको नेतृत्वको बारेमा बहस गरौँ । यसैका आधारमा नेतृत्वको छनोट गरौँ । यसलाई एकै पटक नभएर दुई दुई वर्ष समयको अन्तरालमा गरौँ ।

श्रीविनोद भट्टराई, काँग्रेस नेता, काठमाडौँ 
काँग्रेसको आफ्नै गौरवशाली इतिहास छ । पछिल्लो समय काँग्रेस चुकेको पनि छ । हामी सबै सिद्धान्त, आदर्शले पछि लागेका हौँ । पार्टीको यो दुरुह अवस्थामा हामीले कहाँकहाँ गल्ती ग¥यौँ त्यो कुरा यो १४औँ महाधिवेशनले निक्र्यौल गर्नुपर्दछ ।

काँग्रेस संविधान अनुरूप अघि बढ्नुप¥यो । जनताले प्रतिपक्षको नजर कहाँ छ भनेर हेरिरहेको छ । काँग्रेसलाई सही बाटोमा ल्याउने सही नेतृत्व १४औँ महाधिवेशनले जन्माउनुपर्छ । पार्टी कसैको बन्दी हुनुहुँदैन । पार्टीलाई सशक्त रूपमा अघि बढाउनुपर्छ ।

मुरारी आचार्य, काँग्रेस नेता, भक्तपुर
काँग्रेसले रेकर्ड सिस्टम अझै अघि बढाउन सकेको छैन । हामीले गिरिजाबाबुसँग पनि यस विषयमा कुरा गरेका थियौँ । त्यतिखेर यो कामलाई अघि बढाउन सकेनौँ । यो १४औँ महाधिवेशनलाई यस तर्फ पनि अघि बढाउनु पर्ने हुन्छ ।
पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्छ । यो नहुने हो भने अनुशासनहीन जत्था बन्दछ । अहिले  पार्टी देखिएको अस्तव्यस्तको व्यवस्थापन पनि यसैबाट गर्न सकिन्छ । दण्ड र पुरस्कार दुवै मानिसलाई प्रोत्साहित बनाउने कुरा हुन् । अब हामीले पार्टीलाई नयाँ किसिमबाट सञ्चालन गर्नुपर्ने हुन्छ ।
काँग्रेस सदस्यताको आधार पनि यस महाधिवेशनबाट बनाउनुपर्छ । नेता नीति र कार्यक्रमको बनाउने बाटो पनि यहीँबाट प्रारम्भ हुन्छ ।

रामचन्द्र घिमिरे, सदस्य, नेपाली काँग्रेस काठमाडौँ 
१४औँ महाधिवेशनमा उठाउनुपर्ने नीति कार्यक्रमको विषयमा यो छलफल अत्यन्तै सान्दर्भिक छ । हाम्रो इतिहासको लागि यो १४औँ महाधिवेशन हो । तर संविधान सभाबाट संविधान बनिसकेपछि मुलुक नयाँ किसिमबाट हिँडेको छ । नयाँ यात्रा हाम्रा लागि यो पहिलो महाधिवेशन बन्दै छ । 

१४औँ महाधिवेशन विशेष हुनुपर्छ । विशेष हुन यसले लिने नीति, कार्यक्रम र कतिपय सन्दर्भमा सिद्धान्तको पनि थप व्याख्या जरुरी भएको छ । हाम्रो पार्टी स्थापना हुँदा हामीले लिएको नीति, कार्यक्रम, सिद्धान्त प्रजा, जनताको तहमा सीमित थियो भने आज नागरिकको तहमा आइपुगेको छ । यसको थप व्याख्या पनि नेपाली काँग्रेसले नै गर्नुपर्ने छ ।

अब हाम्रो नीति अध्यक्षका प्रतिस्पर्धीहरूबाट आउन जरुरी छ । प्रतिस्पर्धीको जिम्मेवारीका साथै हामी भोट हाल्न पुग्नेको जिम्मेवारी पनि यो बनेको छ । यतिखेर जनताको काँग्रेसप्रतिको टिप्पणी आकर्षण शून्य, समाप्त अवस्थामा छ भन्छन् । अहिले यो देखिएको सनातनी, आकर्षण नभएको, अरू कसैले आएर नधकलेको भएर बसिराखेको छ भन्ने छ । माओवादी बीचमा उम्रेको थियो त्यो आफै समाप्त भयो । एमाले सिद्धिने चरणबाट गएको छ भन्छन् ।
२००७ सालबाट हिँडेको नयाँ बाटो दिशाहीन हुने हो कि भन्ने अवस्था यसले देखाउँछ । त्यसैले नेतृत्वको चाहना राख्ने व्यक्तिहरूको नीति कार्यक्रम स्पष्ट चाहियो । नेकपा अहिलेको घटनाक्रमले काँग्रेसभन्दा निक्कै काम नलाग्ने भइसक्यो । हल्ला गर्न सडक र मिडियाबाट गर्न सक्छौँ, नेकपाको कुरा जनताको घरघरमा भोट माग्दा पु¥याए उनीहरू समाप्त हुन्छन् ।
हाम्रो पार्टीमा कुनै नेताले आफ्नो नीति, कार्यक्रम लिएर सभापति हुने परम्परा छैन । हाम्रोमा ठूलो नेताले जान्नु भएको छ भन्ने रोग छ । यतिखेर काँग्रेस मात्र होइन मुलुक पनि सङ्कटमा परेको देखिएको छ । यसलाई उतार्न सक्ने काँग्रेस सभापतिहरूको नीति कार्यक्रम आजको आवश्यकता भएको छ ।

एकेन्द्र पन्त काँग्रेस नेता, दैलेख  
नेताले काँग्रेसको १४औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नीतिगत बहस अर्थपूर्ण विषय बन्ने छ । हिजोका अधिवेशन कर्मकाण्डी भए भन्छौँ । अब हामीलाई त्यो छुट छैन । हाम्रा अधिवेशनहरू नीतिभन्दा नेतालाई बढी प्राथमिकता दिएर भए । यसले केही पार पाएन यसरी जानु हुन्न ।

नेतृत्वप्रति आलोचना थुप्रै भएका छन् । त्यसकोे कारण नेतृत्व सबल थिएन, सक्षम थिएन । नरहरि दाइले गणराज्य अभियान चलाउँदा म विस्थापित भएको मानिस यसमा विचारका रूपले आबद्ध भए । उहाँले पार्टी सभापतिमा लड्दा पनि विचार र कार्यक्रम ल्याउनुभएको थियो ।

वैचारिक रूपमा हाम्रा दृष्टिकोण हामीले नै भन्न सक्ने हुनुपर्छ । नीति, कार्यक्रम, दृष्टिकोणको छलफल भइरहेको छैन । महाधिवेशनमा आउनेले पनि यसमा छलफल हुन सकिरहेको हुँदैन । यसले पार्टीलाई बलियो बनाउँदैन । दूरदर्शी नेतृत्व नीति र कार्यक्रमले आउँदा हुन्छ । त्यस्तो नेतृत्व छान्नु पर्छ ।

१४औँ महाधिवेशन र आउने आम चुनावलाई सँगसँगै लैजानु पर्छ । महाधिवेशन राम्रोसँग गर्न सकिएन भने र यही अवस्थामा हाम्रो पराजय फेरि हुन्छ । यसलाई सँगसँगै लिएर जान सकियो भने महाधिवेशन र आमचुनाव दुवैलाई शक्ति प्राप्त हुन्छ । 

हामीले रणनीति दीर्घकालीन रूपमा बनाउने होइन । यतिखेर भ्रष्टाचार व्यापक भएको छ । हामीले गाउँगाउँमा पु¥याउने सुशासन, विधिको शासनलाई फरक ढङ्गले व्याख्या गर्नुपर्छ । यो अधिवेशन एकताको अधिवेशन, काँग्रेस जागरणको अधिवेशन र लोकतन्त्रको अधिवेशन बनाउनुपर्छ ।

अस्मिता श्रेष्ठ, विद्यार्थी नेता, नेपाल ल क्याम्पस
महाधिवेशन भन्नेवित्तिकै म तीन किसिमबाट बुझ्छु । नेविसङ्घको महाधिवेशन बन्द सेसन हुँदाहुँदै पनि हँुदैन । त्यहाँ लिस्ट टाँसिन्छ । त्यस्तो नहोस्, महाधिवेशन राम्रोसँग समयमा नै शान्तिपूर्ण रूपले होस् । शुभकामना ।

महाधिवेशनले ल्याउने नीति भनेको म भोलि कहाँ पुग्छु भन्ने देखाउने हो । नीति भनेको सजिलो कुरा होइन । अर्को नेतृत्वको कुरा हो । मानिस पतन हुनुको कारण हुन्छ । त्यो कारण अहिले हामी सुशासन भनेर बुझ्न सक्छौँ । सुशासनमा जवाफदेहिता हुन्छ, पारदर्शिता हुन्छ, त्यसमा संविधानवादलाई बुझ्न सक्ने क्षमता हुन्छ । अहिलेको नेतृत्व बीपीले भन्नुभएको थियो– राजनीति र शैक्षिक क्षेत्र भनेको बाहुबल देखाउने ठाउँ होइनन्, विचारको प्रतिस्पर्धा गर्ने ठाउँ हुन् ।

नेतृत्व भनेको शासन गर्नका लागि मात्र होइन । शासन कसरी गर्छ र कसरी त्यो टिकिरहन्छ भन्ने नेतृत्वले देखाउँछ । महाधिवेशनबाट त्यस्तो नेतृत्व आओस् भन्ने चाहन्छु । नीति नेता राम्रो भए अवस्य आउँछ ।

कार्यक्रममा शारदा शर्मा, देवेन्द्र केसी, भरत शर्मा (स्याङ्जा), रामप्रसाद न्यौपाने, टोपेन्द्र रानामगर, श्याममणि आचार्य, अनिष श्रेष्ठ, श्यामकृष्ण सङ्गत लगायतले विचार राख्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप