बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराज्यमन्त्री साह विरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला हुने सम्भावना

मङ्गलबार, १३ फागुन २०७६, १४ : ०७
मङ्गलबार, १३ फागुन २०७६

जनकपुर । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह विरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई हुँदैछ । विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज  अन्तिम सुनुवाइ सुरु भएको हो । पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । धनुषा जिल्ला अदालतको फैसलापछि जेल सजाय भोगिरहेका पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती र अन्य परिवारका सदस्यसमेतको सम्पत्ति जफत हुनुपर्ने अख्तियारको माग दाबी छ ।

साहले पदमा रहँदा साढे ३१ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ । गैरकानुनी ढंगबाट आर्जन गरेको र सो सम्पति लुकाउन अन्य १३ प्रतिवादीले साथ दिएको दाबी अख्तियारको छ । 
विशेष अदालतमा सरकारी वकिलको बहस सकिएपछि साहको बचाउमा कानुन व्यवसायीले वकालत गरिरहेका छन् । साहको पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलले जवाफ दिनेछन् भने त्यसपछि विशेष अदालतले फैसला गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप