म्याग्दीमा सातौँ पटक हिमपात
म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।
धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ ।
गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिनुभयो । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ ।
विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, सङ्घीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।
शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताए । करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ ।
रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन् ।
मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमीन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल