बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सिमित बार्सिलोना नापोलीसँग रोकियो, चेल्सी बायर्नसँग पराजित

बुधबार, १४ फागुन २०७६, ०८ : ५२
बुधबार, १४ फागुन २०७६

स्पेनिस पावर हाउस बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नापोलीसँग बराबरीमा रोकिएको छ । नापोलीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा नापोलीले सुरुवाती अग्रता लिएको थियो । ३० औँ मिनेटमा ड्रिज मर्टेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ड्रिजले करिव २० यार्ड टाढाबाट सोझै गोल गरेका थिए । पहिलो हाफमा पछि परेको बार्सिलोनाले ५७औं मिनेटमा बराबरी गोल फर्कायो ।

फ्रान्सेली स्ट्राईकर एन्टोइन ग्रीजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ग्रीजम्यानले नेल्सन सेमेडोको पासमा गोल गरेका थिए । खेलको अन्तिममा १० खेलाडीमा समेटिएपछि बार्सिलोना बराबरीमै रोकियो । ८९औं मिनेटमा आर्टुरो भिडाल लगातार दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । दोस्रो लेग मार्च १४ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

यसैगरी अर्को खेलमा इङ्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार खेपेको छ । चेल्सी घरेलु मैदानमै बायर्नसँग ३–० गोलले पराजित भएको हो । बायर्नको जितमा सर्जी जिनाव्रीले ५१औं र ५४औं मिनेटमा दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले ७६औं मिनेटमा एक गोल थपेका थिए ।

खेलको सुरुवातदेखिनै बायर्नको दबाब झेलेको चेल्सीले गोल फर्काउन सकेन । अन्तिममा चेल्सी १० खेलाडीमा समेटिएको थियो । ८३औं मिनेटमा मार्काेस अलन्सो रातो कार्ड पाउँदै बाहिरिएका थिए । रोबर्ट लेवान्डोस्कीलाई फल हानेपछि  अलन्सोलाई रातो कार्ड दिईएको हो । त्यसपछि चेल्सी थप निरिह बनेको थियो । दोस्रो लेग बायर्नको मैदानमा हुनेछ । अब चेल्सीलाई अगाडी बढ्न कम्तीमा ४–० गोलको जित आवश्यक पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप