शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी फर्महरु नविकरण नहुँदा सयौं व्यवसायी मर्कामा

बुधबार, १४ फागुन २०७६, १२ : ०७
बुधबार, १४ फागुन २०७६

रौतहट । घरेलु तथा साना उद्योग कार्यालय गौरमा दर्ता रहेको प्राईभेट फर्महरु नविकरण नहुँदा रौतहटका सयौं व्यवसायी कठिनाईमा परेका छन् । नविकरण म्याद गुज्रिएका कम्पनीहरुको नविकरणमा समस्या देखिएको हो ।

जरिवाना तिरेर नविकरण गर्न इच्छुक व्यवसायीहरुले त्यस्तो सुविधा नपाएका कारण कम्पनी नै खारेज हुने चिन्ता प्रकट गरेका छन् ।

विभिन्न कारणले निर्धारित समयमा नविकरण गराउन नसकेका सयौ व्यावसायिक फर्मको नविकरणमा नीतिगत समस्या देखिएको हो ।

जरिवाना तिर्छु भन्दा पनि व्यावसायिक फर्म नविकरण हुन नसकेको कटहरिया–५ का शिवचन्द्र साहले गुनासो गरे । घरेलु तथा साना उद्योग कार्यालय गौरका प्रमुख जयचन्द्र झाले  नविकरण म्याद गुज्रेको समयदेखि ३५ दिन छुट, तीन महिनासम्म दोब्बर दस्तुर, एक वर्षसम्म तेब्बर दस्तुर लिएर नविकरण गर्ने कानुनी व्यवस्था रहेको बताए ।

अन्तिम म्यादपछि जरिवाना तिरेर फर्म बन्द गराउन सकिने तर नविकरणको व्यवस्था हाल नरहेको उनको भनाइ छ । गत अषाढ मसान्तमा विभागले नविकरण छुटेका फर्मलाई नविकरण गर्न दिएको एक महिनाको अवधिमा झण्डै १५ सय प्राईभेट फर्म नविकरण भएका थिए ।

हाल सो व्यवस्था बन्द रहेकाले अर्को आदेश नआएसम्म नविकरण गर्न नसकिने घरेलु कार्यालय प्रमुख झाले बताए ।

उता प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय जनकपुरका उद्योग प्रवद्र्धन महाशाखाका प्रमुख सुनिल कर्णले व्यवसायीको समस्या स्वीकार गरेका छन् ।

म्याद गुज्रेका फर्मका नविकरणका लागि प्रदेश क्याबिनेटबाट नियम बनाई पारित गराउने काम भईरहेकाले समस्या छिट्टै समाधान हुने कर्णले आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप