शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले कमाउँछ सांसदको लेबीबाटै ६ करोड, काँग्रेसलाई छैन पैसाको चिन्ता

कुन दलले कति कमाउँछन् ? यस्तो छ लेबी आम्दानीको लेखाजोखा
बुधबार, १४ फागुन २०७६, १३ : ५२
बुधबार, १४ फागुन २०७६

नेपालका राजनीतिक दलहरू कुनै ठूला उद्योगजस्ता छन् । उनीहरुसँग चलअचल सम्पत्ति, पार्टी कार्यालयका लागि आफ्नै भवन, जिन्सी तथा नगद सम्पत्ति छ । 

राजनीतिक दलहरुले व्यक्ति तथा संस्थाबाट प्राप्त हुने दान चन्दाका साथै सरकारी नियुक्ति दिइएका पदाधिकारी, कर्मचारी, सांसदहरू तथा मन्त्रीहरुबाट मनग्गे आर्थिक सहयोग हासिल गर्ने गरेका छन् । यसका साथै आफ्ना क्रियाशील सदस्यहरुबाट पनि मासिक रूपमा लेबी उठाउने गर्छन् ।

सङ्घीयता कार्यान्वयनसँगै केन्द्र र प्रदेश दुई तहमा सांसदहरुको सङ्ख्या बढेसँगै राजनीतिक दलको लेबी रकमको आकारमा पनि वृद्धि भएको छ ।

अहिले सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ गरी केन्द्रमा ३ सय ३४ सांसद छन् । यी सांसदले तलब र भत्ता गरी एक लाख माथिको रकम पाउँछन् ।

अहिले सङ्घीय सांसदहरुले ५५ हजार २ सय ३० रुपैयाँ पारिश्रमिक, घरभाडा १८ हजार, सञ्चार खर्च ३ हजार, बिजुली धारा २ हजार, दैनिक भ्रमण भत्ता २५ सय, विशेष भत्ता १ हजार, अतिथि सत्कार १ हजार, दैनिक यातायात सुविधा १ हजार गरी १ लाख १० हजार रुपैयाँ बढी रकम बुझ्ने गरेका छन् ।

सो रकमबाट उनीहरूले आफ्नो पार्टीलाई तोकिएको रकम लेबीका रूपमा बुझाउने गरेका छन् ।  

यता प्रदेशसभातर्फ ३ सय ३० जना प्रत्यक्ष निवार्चित र समानुपातिक प्रणालीबाट २ सय २० जना गरी ५ सय ५० सांसद छन् ।

यसरी केन्द्र र प्रदेशमा गरी ८ सय ८१ सांसद छन् । यी सांसदहरूले राज्यकोषबाट मासिक रूपमा तलब भत्ता तथा अन्य सुविधाहरू पाउने गरेका छन् । त्यसमार्फत उनीहरूले आफ्ना राजनीतिक दललाई मासिक रूपमा लेबी तिर्ने गरेका छन् ।

यस्तो छ दलहरुको लेबी व्यवस्था 

नेपाली काँग्रेसले सङ्घीय सांसदका लागि १० हजार र प्रदेश सांसदका लागि ८ हजार रुपैयाँ लेबी तोकेको काँग्रेस सांसद डिला सङ्ग्रौलाले जानकारी दिइन् ।

सबैभन्दा ठूलो दल नेकपा सांसदले मासिक १२ हजार लेबी बुझाउने गरेका छन् भने प्रदेश सांसदका लागि पार्टीको प्रदेश संरचनाले लेबी तोकेको छ । नेकपाका मन्त्रीहरुले १५ हजार लेबी बुझाउँछन् ।

यता राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने सांसदको पूरै तलब लेबीका रूपमा लिने गरेको छ भने विवेकशील साझा दलले भने लेबी नलिने बताएको छ । सबैभन्दा चर्को लेबी भने समाजवादी पार्टी नेपालले लिने गरेको छ । उसले सङ्घीय सांसदबाट मासिक १८ हजार लेबी उठाउँछ । 

लेबीबाट नेकपाको आम्दानी झन्डै ६ करोड

नेकपाको हालै बसेको केन्द्रीय कमिटीको बैठकले सांसदहरुको मासिक लेबी शुल्क १२ हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै क्रियाशील सदस्यका लागि मासिक २५ रुपैयाँ लेबी शुल्क तोकेको छ । यसअघि पूर्वएमाले तर्फका सांसदले मासिक १३ हजार पूर्वमाओवादीका सांसदले १२ हजार लेबी बुझाउने गरेका थिए ।

नेकपा सांसद रेखा शर्माले केन्द्रीय कमिटीको बैठकले लेबी शुल्क १२ हजार तय गरेको जानकारी दिइन् ।

नेकपासँग सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभामा १ सय ७४ र राष्ट्रिय सभामा ३९ गरी कूल २ सय १३ सांसद छन् । यी सांसदहरुले पार्टीलाई मासिक बुझाउने लेबी २५ लाख ५६ हजार हुन्छ । वार्षिक रूपमा  ३ करोड ६ लाख ७२ हजार रुपैयाँ लेबी उठ्छ ।  

यीमध्ये २३ जना सांसद मन्त्रीमण्डलमा छन् । उनीहरुले मासिक १५ हजारका दरले लेबी बुझाउँछन् । २३ जनाले मन्त्री भएबापत थप ३ हजार बढी लेबी तिर्दा २३ जनाको ३ हजारका दरले मासिक ६९ हजार र वार्षिक ८ लाख २८ हजार हुन्छ । यो रकमसहित नेकपाले सङ्घीय सांसदबाट वार्षिक ३ करोड १५ लाख लेबीबाट आम्दानी गर्छ ।

नेकपाको प्रदेश सांसदहरुको लेबी पार्टीको प्रदेश कमिटीले तोक्ने गरेको छ । मानाँै नेकपाका २ सय ५८ प्रदेश सांसदको लेबी मासिक १० हजार राख्दा मासिक २५ लाख ८० हजार हुन्छ र वार्षिक रूपमा यो रकम ३ करोड, ९ लाख ६० हजार हुन्छ । यद्यपि प्रदेश सांसदको लेबी रकम पार्टीको प्रदेश कमिटीले तोक्ने गरेको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले रातोपाटीलाई जानकारी दिए ।

केन्द्र र प्रदेशका सांसदको वार्षिक लेबी रकम एक ठाउँमा जोड्दा ६ करोड २४ लाख ६० हजार हाराहारी हुन्छ । यसमा राजनीतिक नियुक्ति पाएकाहरुले बुझाउने लेबी तथा क्रियाशील पार्टी सदस्यहरुले बुझाउने लेबीलाई समावेश गरिएको छैन । यसरी हेर्दा राज्यकोषबाट तलबमा गएको रकमबाट सबैभन्दा धेरै लेबीबाट आर्थिक लाभ हासिल गर्ने पहिलो स्थानमा नेकपा छ ।

नेपाली काँग्रेस : वार्षिक लेबी १ करोडभन्दा माथि

संसदको प्रमुख प्रतिपक्ष तथा दोस्रो ठूलो दल नेपाली काँग्रेसले केन्द्रीय सांसदका लागि १० हजार र प्रदेश सांसदका लागि ८ हजार लेबी तोकेको छ ।

काँग्रेसको प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा ११ गरी केन्द्रीय संसदमा ७४ सदस्य छन् । यी सदस्यबाट काँग्रेसले मासिक ७ लाख ४० हजार लेबी उठाउँछ । वार्षिक रूपमा यो ८ लाख ८८ हजार हुन आउँछ । 

यस्तै नेपाली काँग्रेससँग १ सय १३ जना प्रदेश सांसद छन् । प्रदेश सांसदबाट मासिक ८ हजारका दरले ९ लाख ४ हजार लेबी उठाउँछ । प्रदेश सांसदबाट काँग्रेसले वार्षिक १ करोड ८ लाख ४८ हजार लेबी उठाउँछ ।

यो हिसाब अनुसार नेपाली काँग्रे्रेसको लेबी दुवै सदनबाट वार्षिक कूल १ करोड १७ लाख ३६ हजार हुन्छ । यसमा काँंग्रेसले आफ्ना क्रियाशील पार्टी सदस्यबाट आम्दानी गर्ने लेबी रकम समावेश गरिएको छैन ।

राष्ट्रिय जनता पार्टी : वार्षिक लेबी ४७ लाख हाराहारी

राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई प्रतिसंसाद १० हजार लेबी तोकेको छ । यस्तै प्रदेश सांसदको लेबी ५ हजार, प्रदेशका प्रमुख सचेतक ७ हजार, प्रदेश मन्त्रीको १० हजार, प्रदेश राज्यमन्त्रीको ७ हजार लेबी तोकिएको राजपाका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिए ।

प्रतिनिधि सभामा राजपाका सांसद १७ छन् भने राष्ट्रिय सभामा २ गरी १९ जना छन् । प्रति सांसद १० हजारका दरले दुई सदनबाट राजपाले प्रतिमहिना १ लाख ९० हजार लेबी पाउने गरेको छ । सङ्घीय संसदबाट राजपाले वार्षिक २२ लाख ८० हजार उठाउँछ ।

राजपाको प्रदेश सभामा २५ सांसद रहेका छन् जहाँबाट उसले मासिक १ लाख ४८ हजार र वार्षिक १७ लाख ७६ हजार लेबी उठाउने गरेको छ । सङ्घीय र प्रदेश सभाबाट गरेर राजपाले वार्षिक २४ लाख २८ हजार लेबी सङ्कलन गर्ने देखिन्छ ।

समाजवादी पार्टी नेपाल : वार्षिक लेबी ६७ लाख ६८ हजार

समाजवादी पार्टी नेपालले सबैभन्दा चर्को लेबी उठाउने गरेको छ । सो दलले सङ्घीय संसदका सदस्यहरूबाट मासिक १८ हजारका दरले लेबी लिने गरेको संसदीय दलका नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

समाजवादी पार्टीको प्रतिनिधि सभामा १७ र राष्ट्रिय सभामा १ गरी सङ्घीय संसदमा १८ जना सांसद छन् । सो दलको सङ्घीय संसदबाट मासिक ३ लाख २४ हजार, वार्षिक ३८ लाख ८८ हजार लेबी उठ्छ ।

यस्तै सो पार्टीका प्रदेश नम्बर २ को प्रदेश संसदका प्रमुख सचेतक शैलेन्द्र यादवका अनुसार प्रदेश सांसदहरूले कूल तलबको १५ प्रतिशत रकम पार्टीलाई लेबीका रूपमा बुझाउनुपर्छ । सामाजवादीको ३३ जना प्रदेश सांसद छन् ।

प्रदेश सांसदको तलब ५२ हजार ६ सय छ भने मन्त्री बनेकाहरूको ५७ हजार तलब छ । उनीहरूले पाउने तलबको १५ प्रतिशतले हिसाब गर्दा ८ हजार रुपियाँ हाराहारी लेबीका रूपमा पार्टीलाई बुझाउनुपर्छ ।

यसरी हेर्दा समाजवादीले प्रदेश सांसदबाट मासिक २ लाख ४० हजार आम्दानी गर्छ । दुवै सदनबाट सो दलले मासिक ५ लाख ६४ हजार तलब प्राप्त गर्छ । वार्षिक रूपमा ६७ लाख ६८ हजार रुपियाँ समाजवादी पार्टीले लेबीबाट आम्दानी गर्छ । 

नेपाल मजदुर किसान पार्टी : सांसदको सबै तलब पार्टीको खातामा

नेपाल मजदुर किसान पार्टीले भने केन्द्र तथा प्रदेश सांसदको सम्पूर्ण तलब पार्टीको खातामा दाखिला गर्नुपर्ने नियम बनाएको छ ।

सांसदले तलब बुझेपछि पार्टीको खातामा हालिदिने गरेका छन् । तर त्यसको बदलमा पार्टीले सांसदलाई अधिकृत स्तरको तलब दिने गरेको सो दलका एक मात्र केन्द्रीय सांसद प्रेम सुवालले रातोपाटीलाई जानकारी दिए ।

नेमकिपाका १ केन्द्रीय सांसद र २ प्रदेश सभा सांसद रहेका छन् ।

सो दलका सांसद सुवालले भने– ‘हामी अर्को वर्गका हैनौँ, हामी पनि नेपाली आम नेपाली जनताभन्दा फरक छैनौँ । हामीले पाउने जति रकम उनीहरूले दिनभरी दुःख गर्दा पनि पाएका छैनन् । दिनमा तीन चार करोड कमाउने सांसद पनि होलान् । हामी जनता बराबर छौँ ।’

नेमकिपाले मासिक झन्डै २ लाख हाराहारी सांसदको तलब लेबीका रूपमा लिने गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी : वार्षिक लेबी ७ लाख ८० हजार

राप्रपाका १ केन्द्रीय सांसद र ३ प्रदेश सांसद छन् । राप्रपाले केन्द्रीय सांसदलाई मासिक २० हजार र प्रदेश सांसदलाई १० देखि १५ हजार लेबी तोकेको छ । प्रदेश सांसदको क्षमताअनुसार सो लेबी तोकिएको राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले बताए ।

यो लेबीअनुसार राप्रपाले मासिक ६५ हजार आम्दानी गर्छ भने वार्षिक ७ लाख ८० हजार आम्दानी गर्छ ।

राष्ट्रिय जनमोर्चा : तलब पार्टीको खातामा, पार्टीको तलब ३६ हजार

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अर्को सानो दल राष्ट्रिय जनमोर्चाका १ केन्द्रीय सांसद र ४ प्रदेश सांसदले सम्पूर्ण तलब पार्टीको खातामा दाखिला गर्ने गरेका छन् । जनमोर्चाका तर्फबाट प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलका अनुसार सो दलले केन्द्रीय सांसदलाई ३६ हजार ५ सय र प्रदेश सांसदलाई ३५ हजार ५ सय तलब तोकेको छ ।

साझा पार्टी : पार्टीलाई लेबी बुझाउनुपर्दैन

प्रदेश सभामा ३ सिट पाएको साझा पार्टीले भने सांसदहरूबाट लेबी नलिने नीति लिएको छ । सो पार्टीका एक अध्यक्ष रवीन्द्र मिश्रले परम्परागत तौरतरिकामा चल्दै आएका राजनीतिक पार्टीले जस्तो आफ्नो पार्टीले लेबी नलिने बताए । सो पार्टीका संसदीय दलका नेता रमेश पौडेलले राज्यले काम गर्नलाई दिएको पैसा पार्टीलाई दिन उचित नहुने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।

राजनीतिक दलहरुले सांसद, मन्त्रीबाट कति रुपैयाँ लेबी उठाउने भनेर रकम तोकेका छन् । उनीहरुले यीबाहेक अन्य स्रोतबाट पनि आर्थिक लाभ हासिल गर्ने गरेका छन् । विरलै मात्र दलहरुले आय व्ययलाई पारदर्शी रूपमा सार्वजनिक गर्ने गरेका छन् । धेरैजसो दलको आर्थिक क्रियाकलाप अपारदर्शी हुने गरेको छ । 

यस्तो छ नेकपाको खर्च 

नेकपाले लेबीबाट उठाएको रकम बैठक सञ्चालन, कार्यालय भाडा, कर्मचारीलाई तलब, नेताहरुको हवाई टिकटका लागि खर्च हुने गरेको छ । नेकपा कार्यालयमा कार्यरत १५ कर्मचारीलाई तलब, कार्यालयको मासिक भाडा २ लाख ५० हजार रहेको छ । सवारी साधनमा इन्धन, पार्टीका विविध कार्यक्रमका लागि खर्च हुने नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनले नेकपाको हिसाबकिताब पारदर्शी रहेको बताए । उनले भने– ‘हाम्रो लेखा पारदर्शी छ, खर्च विवरण हेरेर रिपोर्ट तयार हुन्छ । लेखा प्रमुख, लेखा सहायकको व्यवस्था गरिएको छ । कसैको लेबी बुझाउन बाँकी रहेछ भने सदस्यता नवीकरण नहुने व्यवस्था छ भने महाधिवेशनमा सहभागी हुन नपाउनेसमेत व्यवस्था छ ।’

काँग्रेसको खातामा २ करोड, पैसाको चिन्ता छैन

नेपाली काँग्रेसको खातामा २ करोड रकम भएकाले पार्टीको कामका लागि समस्या नरहेको कार्यालय मुख्य सचिव कृष्णप्र्रसाद पौड्यालले बताए ।

नेपाली काँग्रेसको देशभर ४ लाख ७० हजार क्रियाशील सदस्य रहेको  र सांसदहरुको तर्फबाट समेत आएको लेबी रकमले पार्टीको नियमित कार्यक्रम सञ्चालन हुने पौडेलले रातोपाटीलाई जानकारी दिए । पार्टी कार्यालयमा रहेका १७ जना कर्मचारीलाई तलब, कार्यालयको बिजुली, पानी, टेलिफोन खर्च, पार्टी कार्यालयमा हरेक दिन दुई चारवटा बैठक बस्ने गरेकाले त्यसका लागि खाजा पानीको व्यस्वस्थामा पार्टीको आम्दानी खर्च हुने उनले बताए । साथै पार्टीले गर्ने सभा, आन्दोलनका कार्यक्रमका लागि पनि पार्टी कार्यालयले खर्च गर्ने गरेको छ ।

लेबीका अतिरिक्त पार्टीका शुभेच्छु, कार्यकर्ता, मतदाताबाट पनि आर्थिक सहयोग आउने र पार्टी आर्थिक रूपमा सबल रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप