शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सँधै चिल उड्ने डाँडामा प्याराग्लाइडिङ्ग उडेपछि...( फोटोफिचर )

बुधबार, १४ फागुन २०७६, २२ : २०
बुधबार, १४ फागुन २०७६

गुल्मी । जिल्लाको मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीनवटा प्याराग्लाइडिङ्ग सफल परीक्षण गरेको हो  । गुल्मी क्षेत्र नं २ का सांसद  तथा पूर्वमन्त्री गोकर्ण बिष्टले प्याराग्लाइडिङ्गको टोलीलाई स्वागत गरेका थिए । मदाने संरक्षित वन क्षेत्रको अत्यन्तै सुन्दर होलबाङ्ग  टापुमा प्याराग्लाइडिङ्ग सम्भाव्यता अध्ययनका लागि आर्थिक बर्ष ०७६/०७७ मा २ लाख रुपैयाँ बिनियोजन गरेर परीक्षण गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए  ।

गुल्मी प्याराग्लाईडिङ्गको हब बन्न सक्ने

समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाईमा रहेको बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराका प्रमुख भुवन गाहाको ठम्याई छ । गाहाले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाका कारण लामो र छोटो दुरीको प्याराग्लाइडिङ्गका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण हुने भएको बताए । लामो दुरीको लागि खर्च बढि लाग्ने भएकाले तत्कालै छोटो दुरीको प्याराग्लाइडिङ्ग गर्न सकिने गाहाले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण प्याराग्लाइडिङ्ग बिस्थापित हुने अवस्था भएकोले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङ्गको हबको रुपमा विकास गर्न सकिने उनको सुझाव थियो  ।

गिद्धजस्तै मान्छे उड्ने कस्तो अचम्म

बाँझकटेरी गाउँकी रुमा भुसाल प्याराग्लाइडिङ्ग आकाशमा उडेको देखेर धेरै बेर अचम्ममा परिन् ।  उनले आफु जन्मेदेखि पहिलोपटक  त्यसरी मान्छे आकाशमा उडेको देखेको बताइन् । भनिन्– ‘आकाशमा गिद्धजस्तै मान्छे उड्ने कस्तो अचम्म !  उडेको देख्दा डरले मेरो ज्यानै  सिरिङ्ग ग¥यो,’ उनले थपिन्,‘बाँचे संसार देखिन्छ भन्थे सहि रहेछ । मर्ने बेलासम्म अरु के–के देख्न पाइने हो  ।’ त्यस्तै प्याराग्लाइडिङ्ग हुने खबर पाएर कसुरे पुगेका ६५ वर्षका भोजबहादुर चन्द पनि दङ्ग परे । उनले बाँदर जान नसक्ने भीर हुँदै  मान्छे उड्दा आश्चर्य लागेको बताए । ‘मान्छे बाँच्न पर्छ अनेक देखिन्छ भन्थे यहि रहेछ,’ चन्दले भने, ‘यो डाँडो यस्तो रमाइलो होला भनेर हामीले सोचेकै  थिएनौं ।’

स्थानीयको यो उत्साहलाई निराशा पार्दैनौ  ः पूर्वमन्त्री बिष्ट

पूर्वमन्त्री तथा सांसद गोकर्ण बिष्टले विकटलाई सुगम बनाउन मदाने गाउँपालिकाले गरेको यो प्रयासलाई प्रदेश र संघिय सरकारले सघाउने प्रतिबद्धता जनाए ।  यो सम्भावना मर्न नदिने उनले बताए । भने, ‘स्थानीय आज यति खुशी  र उत्साहित देखिए, उहाँहरुको यो उत्साहलाई हामीले निराशा हुन दिनेछैनौ’  बिष्टले भने– ‘आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न म आफु तयार छु ।’

उनले अग्लुङ्गबाट कसुर ेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसँगै कालोपत्रेको काम अगाडी बढेकाले कसुरेको प्याराग्लाइडिङ्गलाई थप टेवा पुग्ने धारणा राखे । नेता बिष्टले गाउँ विकट भयो भनेर बिर्सदै  मधेश झरेकाहरु गाउँ फर्केर  पैसा तिरेर प्याराग्लाइडिङ्गको मज्जा दिन लालयित हुने दिन आउने बताए ।

मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले सडक निर्माणसँगै होलबाङ्गमा होमस्टे निर्माण गर्न गाउँपालिकाले  सुरु गरेको जानकारी दिए । उनले व्यावसायी रुपमा प्याराग्लाइडिङ्ग अगाडी बढाउने बिषयमा आफुहरु सक्रिय रुपमा लाग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप