शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक्स्पोपछि प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा

बुधबार, १४ फागुन २०७६, २३ : १९
बुधबार, १४ फागुन २०७६

रुपन्देही । आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ ।  प्रदेश सरकारले आगामी आव २०८०/८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । 

सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी सम्मेलनको तयारी गरेको हो । प्रदेशमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने मुख्य उद्देश्यले सरकारले आगामी वैशाख ४ र ५ गते रुपन्देहीमा लगानी सम्मेलन गर्दैछ ।  

सम्मेलनमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायत क्षेत्रका झण्डै ३० वटा  परियोजना प्रस्तुत गर्ने तयारी भइरहेको प्रदेश योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतमले बताउनुभयो । “पहिलो सम्मेलन भएकाले परियोजना छनोटमै धेरै मिहिनेत गरेका छौँ”, उनले भने । सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाहरु छनोटका लागि प्रदेश योजना आयोगले अध्ययन गरिरहेको छ । 

सम्मेलनमा कपिलवस्तुको सेखुनिया ताल, दाङको जखेरा ताल, दाङको लमहीको सोलार पावर, पाल्पाको रानीमहल, धार्मिक व्यापार प्रवद्र्धनका लागि कालीगण्डकी नदीको शालिग्राम, बुटवलदेखि गुल्मीसम्म ‘जिओ टुरिजम रुट’  निर्माण, पाल्पा र रोल्पामा हिल स्टेशन, बुटवलमा बहुआयामिक भवन निर्माण, प्रशोधित दाउरा उद्योग, बायो मल कारखाना, रासायनिक मल कारखाना, हिमाल, पहाड र तराईको झल्को दिने गरी कोशेली घर निर्माण, उखु जुस उत्पादन गर्ने उद्योग, मोतिपुर औद्योगिक करिडोर निर्माणलगायत परियोजना प्रस्तुत गर्ने तयारी गरिएको सदस्य गौतमले जानकारी दिए ।

मुलुककै मध्यभागमा हिमाल, पहाड र तराई भूभागसहित अवस्थित यो प्रदेश लगानीका लागि सबैभन्दा उपयुक्त रहेको निष्कर्ष प्रदेश सरकारको छ । अन्तर्राष्ट्रिय पर्यटकीय तथा शान्ति केन्द्र लुम्बिनी, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष केन्द्र, देउखुरी र घोराही उपत्यकाका साथै रिडी, रेसुङ्गा, सुपा देउराली र स्वर्गद्वारी जस्ता प्रसिद्ध धार्मिक क्षेत्रका साथै निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुका कारण प्रदेश ५ लगानीका लागि उपयुक्त रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बताए ।

प्रदेश ५ अन्तर्गत भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाँकेमा सिक्टा सिँचाइ, बर्दियामा भेरी–बबई डाइभर्शन, बुटवल–नारायणघाट ६ लेन सडक लगायतका गौरवका आयोजनाहरु सञ्चालनमा छन् । त्यसबाहेक बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, अन्तरराष्ट्रिय प्रदर्शनीस्थल, भैरहवा–लुम्बिनी–तौलिहवा ४ लेन सडक निर्माणका काम धमाधम भइरहेका छन् । कालीगण्डकी–तिनाउ डाइभर्शनका साथै बुटवल–कोहलपुर ६ लेन सडक निर्माणको तयारीसमेत थालिएको छ । 

आवधिक योजनानुसार प्रदेशको लक्ष्य पूरा गर्नका लागि सरकारले लगानी सम्मेलन गर्न लागेको हो । पूर्वाधार, सडक र यहाँको सम्भावनाका हिसाबले सातवटा प्रदेशमध्ये प्रदेश ५ लगानीका लागि सुरक्षित रहेको सरकारको दाबी छ । नागरिक तथा निजी क्षेत्रको लगानी समेटेर प्रदेशको विकासका आयोजनामा लगानी गर्न प्रदेश लगानी कोषको अवधारणाअनुसार पूँजीलाई परिचालन गरेर प्रदेशको आर्थिक आय बढाउने, रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको योजना आयोगका उपाध्यक्ष गौतमले बताए ।

पर्यटन, कृषि र उद्योगलाई आर्थिक समृद्धिका प्रमुख आधार बनाएको प्रदेश ५ आर्थिक वृद्धिदरमा सबै प्रदेशभन्दा अगाडि छ । गत आवमा ७.३७ आर्थिक वृद्धिदर रहेको यस प्रदेशले चालू आवमा त्यसलाई अझै बढाएर आठ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । प्रदेश योजना आयोगले पाँच वर्षमा यस प्रदेशमा १२ खर्ब सात अर्ब लगानी गर्ने, औसत वृद्धिदर ९.५ बनाउने, प्रतिव्यक्ति आय ८०० डलरबाट बढाएर एक हजार ६०० डलर पु¥याउनेजस्ता महत्वाकाङ्क्षी योजना पूरा गर्न सम्मेलनले सहयोग गर्ने सरकारको विश्वास छ । लगानी सम्मेलन सफल बनाउन सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेशसभाका सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप