शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशु अधिकार सम्बन्धी कानूनबारे जनचेतना जगाउन पशु अधिकारकर्मी संस्थाहरु एकजुट

शुक्रबार, १६ फागुन २०७६, १९ : ५६
शुक्रबार, १६ फागुन २०७६

पशु अधिकार सम्बन्धी जनचेतनाको कमी भएको भन्दै पशुअधिकारकर्मीहरु एक जुट भएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा पशुमाथि क्रुर यातना तथा हत्या हुने गरेको भन्दै त्यसलाई रोक्न पशु अधिकार सम्बन्धी कानूनबारे जनचेतना बढाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौंको नक्सालमा १० वटा पशुअधिकार सम्बन्धी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सहभागी भएको कार्यक्रममा उनीहरुले पशु अधिकार हनन् भएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

पशु अधिकारका लागि नेपालको कानून प्रगतिशील रहेपनि त्यसको उचीत प्रचार प्रसार नहुँदा पशुमाथि क्रुर आक्रमण भइरहेको प्रति ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् । 

नेपालमा पशुकल्याण कानून र सर्वोच्चका फैसलाहरु विषयक अन्र्तक्रिया कार्यक्रममा अधिवक्ता द्वय पदम बहादुर श्रेष्ठ र निर्मल शर्माले पशु अधिकारका लागि ब्यवस्था गरिएको कानूनको बारेमा प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि रहेका पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं पशु अधिकारकर्मी डा. गोविन्द टण्डनले पर्यटक आर्कषण गर्ने नाममा पशुपंक्षि जुधाउने र मार्ने खेल बन्द गर्न जोड दिए । 

उनले नुवाकोटमा हुने गोरु जुधाई कार्यक्रम र ढोरपाटन आरक्षमा पैसा तिरेर पशुपंक्षी मार्ने काम रोक्नुपर्ने बताए । मान्छेलाई एकछिनको रमाइलोका लागि पशु मार्ने काम रोक्न र साकाहारी बन्ने कुरालाई अघि बढाउन जोड दिए ।


कार्यक्रममा सहभागी विभिन्न पशुअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुले पशु अधिकारको बारेमा जनचेतना जगाउने दायित्व सरकारको भएपनि अब आ–आफ्नो तबरबाट प्रचार प्रसारमा लाग्न जोड दिए । 

पशुअधिकार हनन्का घटनामा राजनीतिक क्षेत्रका मान्छेहरु नै संलग्न भएको प्रति उनीहरुले चिन्ता समेत ब्यक्त गरे । 

पछिल्लो समय खोटाङ्को दिक्तेल नगरपालिकाका मेयर दीपनारायण रिजाल तथा तीनकुनेमा बस्ने दिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओली  समेत कुकुर मार्ने अभियानमा सामेल हुनु दुःखको कुरा भएको बताए । 

कार्यक्रममा नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ्ले पशुअधिकारका लागि कानूनी व्यवस्था भएपनि कार्यान्वयनमा समस्या परेको बताए । उनले अहिले पनि कैयौं दिन लगाएर तराईबाट पशुलाई नाक र पुच्छरमा बाँधेर अमानवीय तरिकाले काठमाडौं ल्याउने गरेको बताए । 

उनले पशुमाथिको बर्बर यातना मानवताको लज्जाको विषय भएको बताउँदै मुलुकी अपराध संहितामा रहेको पशु अधिकार कार्यान्वयनमा जोड दिए । 

उनले सो ऐनमा पशुलाई अमानवीय ढंगले हत्या गरेरमा ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था रहेको बारे आम मानिसका साथै प्रहरी प्रशासनलाई पनि जानकारी नहुँदा समस्या रहेको बताए ।

कार्यक्रममा पशु अधिकार रक्षाका लागि विद्यमान कानून बारे जनचेतना जगाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप